
काठमाडौं : आउँदो शनिबारबाट सुरु हुन लागेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएरै आमनेसामने हुने भएका छन् । दुवै नेताले अध्यक्षदेखि सदस्यसम्मै आफ्नो प्यानल बनाएर प्रतिस्पर्धाको तयारी गरेपछि एमाले वृत्तमा तीव्र ध्रुवीकरण चलिरहेको छ ।
देशभरका महाधिवेशन प्रतिनिधिको हिसाब गरिसकेका ओली पक्षका नेता आफ्नो समूहको सहज जित हुनेमा ढुक्क देखिन्छन् । तर पार्टीमा नेतृत्व परिवर्तनको आवाज बोकेर हिडेको पोखरेल पक्षले आफ्नो प्रचारलाई सोमबारबाट आक्रामक बनाएको छ । यसले आफ्नो पक्षमा माहोल बन्ने सो समूहको विश्वास छ ।
मंसिरको २७–२९ सम्म चल्ने महाधिवेशनको व्यवस्थापकीय तयारी करिब पूरा हुने चरणमा पुगेको विभिन्न विषयगत तयारी समितिले बताएका छन् । यससँगै नेतृत्वको छनोटको मुख्य विषय बनाइको महाधिवेशनका लागि देशभरबाट २३ सय महाधिवेशन प्रतिनिधि छनोट भएर आइसकेका छन् ।
त्यस्तै, आयोजक कमिटी, पर्यवेक्षकसमेत गरी २६ सय हाराहारीको उपस्थितिमा एमालेले महाधिवेशन सम्पन्न हुने एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितले बताए । ओली पक्षमा खेलेर लागेका नेता पण्डितले अहिले नेतृत्व परिवर्तनको आवाज उठाउन आवश्यक नरहेको दाबी गरेका छन् । एमालेमा केपी ओलीको विकल्प खोज्नेबेला नभएको भन्दै उनले मध्यान्हसँग भने, ‘यो देशमा एउटा निडर व्यक्ति केपी ओली नै हुन भन्ने प्रस्ट छ । त्यसकारण एमाले नेतृत्वमा अहिलेको आवश्यकता केपी ओली नै हो ।’
वर्तमान नेतृत्वको विकल्पसहित पार्टी रूपान्तरणको अभियान थालेको ईश्वर समूहले सोमबार पत्रकारहरूसँग छुट्टै अन्तरसंवाद गरेको छ । सो कार्यक्रममा वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराईलगायत नेता सहभागी थिए ।
दुवै पक्षका नेताहरूले आफ्ना नेताको फोटो राखेर पोस्टर व्यापक बनाएका छन् । सोमबार नै पोखरेलसहितको टोलीले आगामी महाधिवेशनमा समावेश गर्न पार्टी सुधारको ४० पेजको प्रस्ताव महासचिव शंकर पोखरेलमार्फत दर्ज गरायो । उक्त प्रस्तावका विषयमा अध्यक्ष ओली पक्षले खासै चासो दिएका छैनन् । महाधिवेशनका लागि फरक दस्ताबेज दर्ज गराएका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिँदै जाने अवस्था देखापरेकाले वर्तमान नेतृत्वको विकल्पसहित पार्टी रूपान्तरणको अभियान थालेको बताए । नेता पाण्डेले मध्यान्हसँग भने, ‘लोकतान्त्रिक इतिहास बोकेको एमाले पार्टी व्यक्तिवादी भएर केही व्यक्तिको निर्णयबाट चल्ने स्थिति बनेको छ । जसले गर्दा नेकपा एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइसोलेसनमा जाने अवस्था देखापर्दै छ ।’
एमालेमा नयाँ पुस्ताले चुनाव नहुने, प्रतिस्पर्धा गर्न नपाइने र माथिबाटै लिस्ट पेस हुने अवस्था आउन लागेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् । देशभरका २३ सय बढी प्रतिनिधिलाई यसपटक मत बदलेर नेतृत्व परिवर्तनका पक्षमा उभिन आह्वान नै गरे । माथिबाट लिस्ट पेस गर्ने पार्टीको सिस्टम बदल्न सक्नुपर्छ, पाण्डेले भने, ‘त्यसका लागि आमप्रतिनिधिहरूले पुरानो नेतृत्व बदलेर नयाँ नेतृत्व निर्माणका लागि तयार हुनुपर्छ ।’
नेतृत्व परिवर्तन गर्न पार्टीमा एउटा व्यक्ति दुईपटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था कानुनमै राख्नुपर्ने उनले बताए । ‘यो एउटा राजनीतिक प्रश्न हो । यसको समाधान कानुनी र संवैधानिक पनि गर्न जरुरी छ । त्यो भनेको एउटा व्यक्ति दुईपटकभन्दा बढी अध्यक्ष हुन नपाउने भन्ने व्यवस्था कानुनमा ल्याउनुपर्छ,’ उनले भने ।
उपाध्यक्ष पाण्डेले यसो भन्दै गर्दा एमालेमा वर्तमान अध्यक्ष केपी ओलीका पक्षमा बहुमत प्रतिनिधि आएको नेताहरूले दाबी गरेका छन् । केन्द्रीय कमिटीकै अधिकांश नेताहरू ओलीका पक्षमा खुलेर लागेका छन् ।
ईश्वर समूहले आफ्नो पक्षको आवाजलाई बलियो बनाउने मिडियामार्फत आफ्ना एजेन्डालाई महाधिवेशन प्रतिनिधिसमक्ष पु¥याउने कामलाई तीव्रता दिएको छ । यता ओली समूहका नेताहरू भने आफ्नै समूहले जित्नेमा ढुक्क छन् । प्रेस चौतारी नेपालले ओलीका पक्षमा माहोल बनाउन दैनिकजसो नेताहरूलाई पत्रकार सम्मेलन राखेर नेतालाई सक्रिय बनाएका छन् । एमाले पार्टी कार्यालयमा दैनिकजसो ओली समूहका नेताहरूको बाक्लो उपस्थिति रहँदा ईश्वर पक्षले बानेश्वरस्थित सम्पर्क कार्यालयमा नेता कार्यकर्ताको भिड छ । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन छ । सो समूहलाई बलियो बनाउन स्थायी कमिटी सदस्य कर्ण थापाले सबैभन्दा बढी मिहिनेत गरेका छन् । नेताहरूलाई प्रतिस्पर्धा गराउने तहमा पुर्याउन अधिक मिहिनेत गरेको उनले बताए ।
पार्टी अध्यक्ष ओली समूहका नेताहरूले यो महाधिवेशन नेतृत्व चयनको महाधिवेशन हुने बताएका छन् । तर इतर समूहका नेताहरूले भने नीतिगत बहस गर्दै नेतृत्व छनोट हुनुपर्ने पक्षमा छन् । दुवै समूहले आफ्नो बलियो टिम बनाउन लिस्ट बनाएर गृहकार्यमा जुटेका छन् । ओलीले गुन्डुमै बसेर लिस्ट बनाइरहँदा पोखरेल समूह ओली समूहमा नअटाएका नेता आफ्नो पक्षमा आउने आँकलनमा बसेका छन् । नेता व्यवस्थापनमा ओलीलाई चुनौती देखिएकाले सो समूहमा पद नपाएका नेताहरूलाई आफ्नो पक्षमा ल्याएर ओलीकै विरुद्ध भिडाउने रणनीति पोखरेल र उनीनिकटका नेताहरूको छ ।