२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपाली कम्युनिष्ट पार्टीमा नेता व्यवस्थापनको तनाव

Nada
जीवन शर्मा
२०८२ मंसिर ९ गते ०६:२५
Shares
नेपाली कम्युनिष्ट पार्टीमा नेता व्यवस्थापनको तनाव

काठमाडौं : करिब दर्जन दलबीच एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित हुनेको संख्या अझै बढ्दो छ । आगामी मंसिर ११ गते राजेन्द्र श्रेष्ठ नेतृत्वको जनता समाजवादी पार्टी नेकपामा समाहित हुँदै छ । श्रेष्ठले केही समयअघि  उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाएर जसपा गठन गरेका थिए । 

ncell

यसअघि प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, सुवासराज काफ्ले नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी), चिरन पुन नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी), प्रेमबहादुर सिंह नेतृत्वको नेकपा (समाजवादी)सहितका दल मिलेर  कात्तिक १९ गते नेपाली कम्युनिष्ट पार्टी घोषणा गरिसकेका छन् ।

त्यसपश्चात् कात्तिक २६ मा डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र प्रमोदनारायण यादव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टी श्रमजीवी पार्टी पनि नेकपामा समाहित भयो । रावल र यादवसहितको पार्टी एवं समूह नेकपामा मिलेपछि एकीकृत हुने दलको संख्या १२ पुगेको छ । अझै राजेन्द्र श्रेष्ठ नेतृत्वका जसपासमेत मिलेपछि नेपालकै इतिहासमा सबैभन्दा बढी दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी हुनेछ । यसको जस तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्षलाई जानेछ । तर पार्टी एकतासँगै पुनः विभाजनको त्रास पनि उत्तिकै देखिएको छ । पार्टीमा नेता व्यवस्थापनको तनावले नेतृत्वमाथि दबाब बढेको देखिन्छ ।

कात्तिक १९ मा काठमाडौंको भृकुटीमण्डपमा भएको ‘एकता महाधिवेशन’ले पार्टी संयोजकमा पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरेको छ । पार्टी एकताअघि दाहाल माओवादीका संयोजक र नेपाल एकीकृत समाजवादीका अध्यक्ष थिए । यी दुई नेतापछि वरीयतामा झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र भीम रावललाई राखिएको छ । त्यसभन्दा पछिका पनि थुप्रै सिनियर नेताहरूले आफ्नो जिम्मेवारी पाएका छैनन् । एकता प्रक्रियामा सहभागी नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका कतिपय नेता वरीयताकै विवादमा फसेका छन्  । तर पार्टीले त्यसलाई आन्तरिक रूपमै मिलाउने प्रयास गरिरहेको छ । कम्युनिष्टबीचको एकताले मुलुकमा ठुलो सन्देश दिएको भन्दै मिल्न नपाउँदै पार्टीमा विवादले गर्दा फेरि नकारात्मक सन्देश जाने कतिपय नेताहरूको बुझाइ छ ।  

पार्टीको निर्णयअनुसार नेता व्यवस्थापन गरेर जाने कुरामा अहिले ठुलो समस्या नभएको नेपाली कम्युनिष्ट पार्टीका नेता देवप्रसाद गरुङले बताए । नेता व्यवस्थापनको विषयमा पार्टीले निर्णय गरेर गइसकेको र आगामी महाधिवेशनबाट सबैले आ–आफ्नो कामअनुसारको जिम्मेवारी प्राप्त गर्ने उनको भनाइ छ । 

पार्टीले निर्णय गरेअनुसार आगामी ६ महिनामा पार्टीको महाधिवेशन हुने गरुङको दाबी छ । ‘कम्युनिष्ट पार्टीमा सही विचार र सही कामको कुरा हो । वरीयता भन्ने कुरा समन्तवादी र पुँजीवादीहरूले ल्याएको कुरा भएकाले त्यसमा धेरै अल्मलिनुहुँदैन ।’ कम्युनिष्ट पार्टीमा सही विचार र सही कामलाई प्राथमिकता दिइने उनले बताए । यद्यपि नेपालका कम्युनिष्ट पार्टीको अहिलेसम्मका इतिहास हेर्दा वरीयता व्यवस्थापनकै कुरा नमिल्दा फुटको शृंखला चलिरहेको देखिन्छ । विगतका फुट र तिक्तताबाटै सिकेर पुनर्मिलनको लहर चलेको नेता गरुङको भनाइ छ ।   

आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने तय भएको यो पार्टीमा करिब १ हजार केन्द्रीय सदस्य रहनेछन् । एकतापछि माओवादीले ‘माओवाद’, चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’ र समाजवादीले चुनाव चिह्न ‘कलम’ छाडेका छन् । नवगठित पार्टीको चुनाव चिह्न सुभाषराज काफ्लेले निर्वाचन आयोगमा दर्ता गरिसकेको जनसमाजवादी पार्टीको ‘पाँच कुनेतारा’ लिइएको छ ।

पार्टीको नाम र चुनाव चिह्न छाडेपछि माओवादी र नेकपा एसका असन्तुष्ट पक्षका नेताहरू पार्टी समायोजनमा नगई पार्टी पुनर्गठन र नयाँ दल बनाउने अभियानमा लागेका छन् । समायोजनमा गएका वामदेव गौतम, झलनाथ खनाल र भीम रावललगायत नेता वरीयता क्रमका सन्दर्भमा सन्तुष्ट छैनन् । खनाल र गौतमले पार्टीमा जिम्मेवारी खोजे पनि उनीहरूले पाएका छैनन् ।  तर रावललाई भने सुदूरपश्चिमको कमान्डको जिम्मेवारी प्रदान गरिएको छ । मंसिर १२ मा हुने सुप प्रदेशस्तरीय पार्टी एकता घोषणा सभाको नेतृत्व रावलले गर्नेछन् । नेकपा एसबाट आएका नेताहरूलाई माथिल्लो जिम्मेवारी दिँदा माओवादी पृष्ठभूमिका नेताहरू पनि खुसी छैनन् । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी एकतापछि पाँचौं वरीयतामा पुगेका छन् । पार्टी एकताका नाममा बुढा नेताहरूलाई जम्मा पारेर जिम्मेवारी दिँदा सांगठनिक गतिविधिमा प्रभावकारिता नहुने नेताहरूले बताएका छन् । पार्टी एकतामा गएका नेताहरू डा. वेदुराम भुसाल, महेन्द्रराय यादव, प्रेमबहादुर सिंह, राजु कार्की, चिरन पुन, कर्णजित बुढाथोकीलगायतका नेतासमेत प्राप्त जिम्मेवारीप्रति पूर्ण सन्तुष्ट छैनन् । आफ्नो पार्टीको नेतृत्व तहमा रहेका उनीहरू पार्टी समायोजनपछि वरीयता क्रममा निकै तल छन् । तर पार्टीको महाधिवेशनपछि सबै नेता जिम्मेवारी र कामको बाँडफाँटको समस्या समाधान हुने नेपाली कम्युनिष्ट पार्टी महाधिवेशन आयोजक समितिका एक सदस्य जगन्नाथ खतिवडाले बताए ।

ताजा खबर

सम्बन्धित खबर