२०८३ कार्तिक १५ गते आइतवार / Nov 01 , 2026 , Sunday
२०८३ कार्तिक १५ गते आइतवार

आत्मनिर्भर लघुवित्त चौथो पटक सम्मानित

Nada
२०८२ मंसिर १ गते २१:३०
Shares
आत्मनिर्भर लघुवित्त चौथो पटक सम्मानित

दाङ : आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड लगातार चौथो पटक सम्मानित भएको छ । राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, तुलसीपुरले विशेष समारोहका बीच संस्थालाई सम्मान गरेको हो । 

कार्यक्रम आन्तरिक राजस्व कार्यालयका प्रमुख श्रीधर टण्डनको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला स्तरमा सबैभन्दा बढी आयकर बुझाउने संस्थाको रूपमा आत्मनिर्भर लघुवित्तलाई सम्मान गरिएको थियो । संस्थाले चालु वर्ष ३ करोड ७६ लाख ६५ हजार ८ सय १८ रुपैयाँ ५६ पैसा कर दाखिला गरेको थियो । 

प्रमुख कार्यकारी अधिकृत (सीईओ) सोगतबीर चौधरीले संस्थाको मातृसंस्था ‘ग्रामीण महिला उत्थान केन्द्र’ले २०५१ सालदेखि महिला सामाजिक, सांस्कृतिक तथा आर्थिक सशक्तिकरणका लागि समुदायस्तरमा विविध कार्यक्रम चलाउँदै आएको स्मरण गरे । महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म पूर्ण सशक्तिकरण सम्भव नहुने भएकाले २०६० सालमा १७ सय रुपैयाँ बराबरको लगानीबाट महिलालाई उद्यमी बनाउने अभियान सुरु गरिएको बताउँदै, उनले आज संस्था लुम्बिनी प्रदेशमा ‘घ’ वर्गको बैंकका रूपमा विस्तार भइ ५५–६० हजार महिलासँग सहकार्य गर्नु गर्वको विषय रहेको उल्लेख गरे । 

संस्था दाङ, बाँके र बर्दिया जिल्लामा २२ वटा शाखा तथा उपशाखामार्फत साना व्यवसायी तथा उद्यमी महिलालाई बिना धितो, समूह जमानी तथा धितोका आधारमा कर्जा प्रदान गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरिरहेको छ । साथै सामाजिक उत्तरदायित्व कोषमार्फत अतिबिपन्न तथा सिमान्तकृत समुदायका लागि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत सहयोग गरिरहेको जानकारी दिइएको छ । 

संस्थाले कर्जा सुरक्षा तथा ग्राहक संरक्षणका लागि कर्जा बीमा, महिलालाई सुत्केरी सुविधा, विभिन्न तालिम कार्यक्रम, राष्ट्रियस्तरका सम्मेलनमा सहभागिता तथा आकस्मिक अवस्थाका लागि आवश्यक सहायता प्रदान गर्दै आएको छ। संस्थामा आवद्ध महिलाहरूले स्वरोजगारका अवसर सिर्जना गर्दै परिवारको आर्थिक स्थिति सुधार्नुका साथै आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन सकिरहेको पनि कार्यक्रममार्फत जानकारी गराइएको छ । 

आत्मनिर्भर र सशक्त समाज निर्माण गर्ने लक्ष्यसहित स्थापना भएको संस्थाले उद्यमी महिलाहरूले उत्पादन गरेका वस्तुको बजारसमेत विस्तार गर्न सहयोग गर्दै आएको छ । लगातार चौथो वर्ष सम्मानित हुँदा संस्था अझ पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित सेवा प्रवाहमा जुट्ने प्रेरणा मिलेको सीईओ चौधरीले बताउँदै आन्तरिक राजस्व कार्यालयलाई धन्यवाद व्यक्त गरे । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, सशस्त्र प्रहरीका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालय, इलाका प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा दाङ उद्योग वाणिज्य संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर