२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौंमा पानी वितरण गर्न निर्देशन

shivam cement
मध्यान्ह
२०८१ साउन ५ गते १५:५१
मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौंमा पानी वितरण गर्न निर्देशन

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन् । आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । 

उनले काठमाडौंवासीका लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरे । उनले भने, “मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो, काठमाडौंमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु ।”

मन्त्री यादवले हाल काठमाडौंमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए । उनले बागमती नदीको पानी र भूमिगत पानीलाई प्रशोधन गरी वितरणको व्यवस्था मिलाउन आग्रह गरे ।

मन्त्री यादवले काठमाडौंमा आधुनिक पानी प्रशोधन केन्द्रहरूको स्थापना, पुराना पाइपलाइनको मर्मत तथा पुनःनिर्माण, डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्ने योजना पनि सुनाए । उनले भने, “पानी वितरणलाई प्रभावकारी बनाउन र जनतालाई सन्तुष्ट पार्न हामीले डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्नेछौँ ।”

मन्त्री यादवले काठमाडौंमा मात्र नभइ देशका अन्य स्थान, विशेष गरी तराई-मधेसमा देखिएको पानीको समस्याप्रति पनि चिन्ता व्यक्त गरे । उनले मधेसमा चापाकल (ह्याण्ड पम्प) सुक्दा निम्तिएको समस्यालाई समाधान गर्न पनि काम गरिरहेको जानकारी दिए । उनले भने, “कुनै जमानामा तराई–मधेस क्षेत्रमा ८० फिट खन्दा पानी आउँथ्यो, तर अहिले चार सय फिट खन्दा पनि पानी आइरहेको छैन, समस्या विकराल छ, यसलाई समाधान गर्न हामीले काम गरिरहेका छौंँ ।”

मन्त्री यादवले मेलम्ची सुरुङ आउटलेटसँगै मेलम्ची खानेपानी प्रशोधन केन्द्र, बागमतीबाट प्रशोधन केन्द्रमा आउने पानीको प्रणाली, पानी प्रशोधन ल्याब, सुपरभिजन कन्ट्रोल एन्ड डेटा एक्युजीसन सेन्टरलगायतको निरीक्षण गरेका थिए । निरीक्षण कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्य लगायतको सहभागिता थियो ।

ADV

सम्बन्धित खबर

Advertise