उदयपुर : उदयपुरमा प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-६ लालपत्ताबाट मंगलबार २०७ एम्पुल प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१० बोक्से बस्ने अन्दाजी ३३ वर्षीय डेनिल बस्नेत रहेको प्रहरीले जनाएको छ । कदमाहाबाट गाईघाटतर्फ आउँदै गरेको सार्वजनिक सवारी साधन विङ्गर चेकजाँच गर्ने क्रममा बस्नेतको झोलाभित्र लुकाई छिपाई राखिएको फेनार्गन ६९ एम्पुल, डाइजेपाम ६९ एम्पुल र बुप्रिनोर्फिन ६९ एम्पुल गरी जम्मा २०७ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका बस्नेतलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।