काठमाडौंः यमनको राजधानी सानामा आइतबार भएको इजरायली हवाई आक्रमणमा मृतकको सङ्ख्या छ पुगेको र ८६ जना घाइते भएको हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।
घाइतेमध्ये सात बालबालिका र तीन महिला छन् भने २१ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले हुथी अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।
हुथीका अनुसार आक्रमणले इन्धन र पावर स्टेशनहरू, राष्ट्रपति दरबार परिसर र अन्य नागरिक सुविधाहरूलाई लक्षित गरेको थियो । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण भएको पुष्टि गरेका छन् । सेनाले आक्रमणमा राष्ट्रपति दरबार, असर र हिजाज पावर प्लान्टहरू र इन्धन भण्डारण सुविधाहरूलाई समावेश गरिएको बताएका छन् ।
इजरायली राज्यको स्वामित्वमा रहेको कान टिभीले १४ वटा लडाकू विमानले आक्रमणमा भाग लिएको र करिब ४० वटा बम प्रहार गरिएको रिपोर्ट गरेको छ ।
हुथी समूहले आक्रमणलाई ‘क्रूर आक्रामकण’ भन्दै इजरायल र संयुक्त राज्य अमेरिका दुवैलाई ‘जघन्य अपराध’ को आरोप लगाएको छ र प्रतिशोधमा आक्रमण गर्ने चेतावनी दिएको छ ।
यसअघि हुथीहरूले तेल अभिवमा हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए । ती क्षेप्यास्त्रले घरहरूमा क्षति पुर्याए पनि कसैको मृत्यु भएन ।
हुथीहरूले उत्तरी यमनको धेरै भाग नियन्त्रण गर्दै सन् २०२३ नोभेम्बरदेखि गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलमाथि बारम्बार आक्रमण गर्दै आएका छन् । इजरायलले पनि हुथीको कब्जामा रहेका क्षेत्रमा हवाई आक्रमण गरेर जवाफ दिएको छ ।