साउदी अरब : पारिवारिक समाज नेपाल, साउदी अरबले आफ्नो आठौं वार्षिकोत्सव तथा हरितालिका तिज विशेष कार्यक्रम भव्यताका साथ मनाएको छ ।
रियादस्थित अल यास्मिन रेस्टुरामा भएको कार्यक्रममा समाजका अध्यक्ष जितेन्द्र थपलियाको सभापतित्व तथा साउदीका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन कमल महतोले गरेका थिए ।
समाजकी वरिष्ठ उपाध्यक्ष प्रजिता कुमारी मुडबरीले स्वागत मन्तव्य राख्दै सबैलाई तिजको शुभकामना दिइन् ।
यसैगरी, महेश घिमिरेले संस्थाको विस्तृत जानकारी र गतिविधिहरू प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष टोकानाथ न्यौपानेले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
प्रमुख अतिथि राजदूत ढकालले मन्तव्य राख्दै साउदी अरबमा पनि नेपाली चाडपर्व र संस्कृतिलाई जगेर्ना गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताए ।
सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइएको यस कार्यक्रममा कमल एण्ड फ्यामिली, मुस्कान शर्मा, अरुण बेल्बासे, राखी बर्मा, किन्जल यादव, नागेश तामाङ, रन्जु लिम्बु, कल्पना पोखरेललगायतका स्थानीय कलाकारहरूले आकर्षक नृत्य र गीत प्रस्तुत गरेका थिए ।
ज्वाला थपलिया, राखी बर्मा र कल्पना पोखरेलले पनि तिज स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम सफल बनाउन टेली मनि, सिटी एक्प्रेस, हिमालय टुर्स एण्ड ट्राभल्स, अल माराई कम्पनी र फ्रेन्डी पेले प्रायोजन गरेका थिए । अल माराई कम्पनीले सहभागीहरूलाई जुस र सफ्ट ड्रिङ्क्स उपलब्ध गराएको थियो ।
कार्यक्रमका सभापति जितेन्द्र थपलियाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।