२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

अयन परिवर्तन र कर्कट संक्रान्ति

shivam cement
२०८२ साउन १ गते ०६:००
अयन परिवर्तन र कर्कट संक्रान्ति

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’ 

श्रावणदेखि सूर्य दक्षिणायन र माघदेखि उत्तरायण हुन्छन् । दक्षिणायन हुँदा दिन छोटो, रात लामो र उत्तरायण हुँदा दिन लामो, तर रात छोटा हुने गर्छ । ग्रह गति ज्योतिष शास्त्रअनुसार सूर्य १२ राशिमा परिभ्रमण गर्छन् । नयाँ वर्ष वैशाखदेखि मेष हुँदै चैत्रमा मीनमा प्रवेश गर्दै एक वर्ष व्यतीत गर्छन् । चन्द्रमा अनुसार तिथिहरू हुन्छन् भने अघि भगवान शिवबाट आशीर्वाद पाएअनुसार सम्पूर्ण चाड पर्वहरू चन्द्रमाका तिथिअनुसार हुने, विशेष अयन परिवर्तन र संक्रान्ति, मास भने सूर्यमानअनुसार हुने गरेको छ । 

बारहरू ग्रह मण्डलअनुसार आइतदेखि शनिसम्म छन् भने नक्षत्र २७ चन्द्रमाका पत्नीहरू हुन् र योग, करण, बार, तिथि नक्षत्रको समष्टि नै पञ्चाङ्ग भएको हो । हरेक संक्रान्तिमा पञ्चाङ्ग श्रवण गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । यो श्रवण गर्दा गंगास्नानको फल मिल्नेछ । हरेक समय हामीलाई गंगा स्नान सहज छैन र पञ्चाङ्ग श्रवण भनेको जङ्गम तीर्थ हो, जल महत्ताले तीर्थ हुन्छ र स्थल महत्ताले धाम हुन्छ ।

शास्त्रको कथन छ ः तिथिर्बारश्च नक्षत्रं योग करणमेव च पञ्चागस्य फलं श्रुत्वा गङ्गा स्नान फलं लभेत् । श्रीशाके १९४७ श्रीसम्वत् २०८२ सिद्धार्थिनामसम्वत्सरे श्रावणकृष्ण सप्तम्यां तिथौ रेवती नक्षत्रे अतिगण्डयोगे भद्राकरणे गुरवासरे प्रातः ५ः५० वादने श्रीसूर्यो मिथुनात्कर्कटराशिं प्रविष्टस्तदा उत्तरायण गृष्मत्र्वाषाढा गता दक्षिणायन वर्षर्तुश्रावणमासाः प्राप्ताः । कर्कटे सूर्यः मीने चन्द्रः मिथुने गुरुः इति । श्रावण १ गते वृहस्पतिवार बिहानै कर्कटमा सूर्य संक्रमण भई वर्षा ऋतु आरम्भ र अयन परिवर्तन भई दक्षिणायन सुरु हुने भएको छ ।

उत्तरायण (माघदेखि आषाढसम्म)लाई देवताको दिन र दक्षिणायन (श्रावणदेखि पौषसम्म)लाई देवताको रात भनिन्छ । रात र दिनको उत्तिकै महत्व हुनाले उत्तरायणमा नयाँ घर सर्ने, बिहे, व्रतबन्ध आदि शुमकर्म बढी हुने गर्छ भने दक्षिणायन समयमा अधिकांश मुख्य चाडपर्व चतुर्मास व्रत, महादसैँ, नाग पञ्चमी, कृष्ण जन्माष्टमी, रक्षा बन्धन, तिहार आदि पर्दछन् । पितृहरूका लागि विशेष उपासना गर्ने पितृ पक्ष यसैबेला पर्छन् भने मानिसको इहलीला समाप्त हुने बेलाचाहीँ तुलनात्मकरूपमा उत्तरायणलाई बढी शुभ मानिएको छ । समय सबैभन्दा बलवान् छ । महिना महिनामा आउने संक्रान्ति (सङ्क्रमण) र कोठामा परिवर्तन हुने क्यालेन्डरका पानाहरूले आफूmले गरेका जीवन उपयोगी र समाज उपयोगी कामको गणना गर्न संकेत गर्छन् । ६÷६महिनामा हुने अयन परिवर्तनले अद्र्धवार्षिक समीक्षा र आत्मालोचना गर्न प्रेरित गर्छ । तृष्णा बढाउने, रोग वृद्धि गर्ने तर काल चक्रभन्दा माथि छु भन्ने अहम् भावनालाई त्यागेर आगामी दिन बढी सुखद र आनन्दमय बनाउन सामाजिक सेवा र परहितकारी काममा प्रेरित हुने संकेत हो संक्रान्ति भनौँ अयन परिवर्तन ! जीवन सन्तुलित र सौम्य सक्रिय र साहसिलो बनाउन आत्मबलको प्रेरणा दिन्छ, अयन परिवर्तनले !

हाम्रो मुख्य बाली धान, मकै, कोदो, भटमास आदि रोपण बेला अर्थात् वर्षायाम खेतबारीको काम यसै समयावधिमा हुने गर्छ । कृषिको आधार ६ वटा ऋतुमध्ये वर्षा ऋतुको आरम्भ कर्कट सङ्क्रान्तिबाटै सुरु हुन्छ । यस्तो बेला खेती किसानी गर्नेहरू झन् बढी स्वस्थ हुनुपर्ने र कीरा–फट्याङ्ग्रा आदिको प्रकोपबाट बच्न स्वास्थ्य मजबुत राख्न यस दिन विशेष कार्य गर्ने चलन छ । हिलो, मैलो, वर्षाको कारण घाउ खटिरा आदि चिलाउने छाला जनित रोग नलाग्न कर्कट सङ्क्रान्तिको साँझमा लुतो फाल्ने चलन छ । लुतो फालेपछि जडीबुटीको रूपमा रहेको कुकुर डाइनोको पात जलाएर घाउ खटिरामा मलम लगाउने चलन छ । 

साँझपख कण्डारक नामक पिशाचको पूजा गरी लुतो फाल्नाले छाला जनित रोग नहुने विश्वास छ । अर्को धसिङ्गरेको बोट बाल्ने, पड्काउने, सल्लाको काठको मुठालाई ७/७ वटा पार्ने ती मुठालाई निशाचार पिशाचलाई चढाई ४ वटा सल्लाको दाउरालाई आफ्नो घरको मूल धुरी नाघ्ने गरी चार दिशामा फाल्ने अनौठो संस्कृति अहिले पनि गाउँतिर पाइन्छ । मासको फुलौरा खोरीमा राखी फलफूलसमेत चढाउने, आँगन, चोक गोवरले लिप्ने, सफा पहिरनसाथ दर्शनढुंगा मा कण्डारक देवता स्थापना गर्ने, दीप, कलश, गणेश सहित पूजा, उपासना गर्ने विधान छ । पिठोले रेखी हाली, कर्ममात्र, पूजा सामान, नैवेद्य भेटीसहित आँगनमा बसेर पृथ्वीको पूजा समेत त्यहीँ गरिन्छ । अन्त्यमा धूप, दीप, दक्षिणा, समापन आदि कार्यसमेत पूजाका विधानले गर्ने गरिन्छ । 

अन्त्यमा नाङ्लो ठटाएर अपशकुनहरूलाई खेद्ने कार्य पनि हुन्छ यस दिन । अहिलेजस्तो मेडिकल साइन्सले विजय नगरेको बेला पनि हाम्रा पुर्खा सुरक्षित रहे यसैगरी र अरू पनि आयुर्वेदका अनगिन्ती प्रक्रिया र पद्धतिहरूलाई आत्मसात् गरेर । गोगका विधि र प्राकृतिक चिकित्सा त हाम्रो पुर्खाको धरोहर नै हो । खानपान आहार शुद्ध गरेर दीर्घजीवी भए, उनीहरूले अमरत्वका अष्ट चिरञ्जीवीको पूजा र प्रार्थना पनि गरे, बत्ती निभाएनन्, बाले, केक काटेनन् बरु फलफूल सजाए, देव पितृहरूको भरपुर आशीर्वाद लिए, नागको पूजन गरे, भूमिलाई माता माने, पूजा गरे, प्रदूषण गरेनन्, जलवायुको संकट तिनले निम्त्याएनन् ।

नाग पञ्चमी श्रावणमै पर्छ र नागको पूजा गर्दा नाग शिर ज्ञान हुनु जरुरी छ भाद्र, आश्विन, कार्तिकमा नागको शिर पूर्वतिर हुन्छ । मार्ग, पौष, माघमा दक्षिणतिर, फाल्गुण, चैत्र, वैशाखमा पश्चिमतिर र ज्येष्ठ, आषाढ, श्रावणमा नागको शिर उत्तर दिशामा हुने हुँदा शिर मिलाएर पूजा गर्नु जरुरी छ । नागको प्रार्थना मन्त्र यस्तो छः आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि । एह्येहि मनसे देवी ! नागमातर्नमोऽस्तुते ।।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise