–डा. दिबाकर वशिष्ठ
भूमिका
कैलाश मानसरोवर धार्मिक यात्रा बसमा गर्दा करिब १० देखि ११ दिन लाग्दो रहेछ । यस यात्राको लागत यात्रा गराउने कम्पनी र सो कम्पनीले दिने सुविधाअनुसार फरक–फरक देखियो । यदि ट्राभल्स कम्पनीमार्फत बसद्वारा भ्रमण गर्दा कम्पनी र सोले प्रदान गर्ने सुविधाको आधारमा न्यूनतम प्रतिव्यक्ति रु. १ लाख १९ हजार देखि १ लाख ६० हजारसम्म देखियो भने न्यूनतम करिब ६० हजार नेपाली रुपैयाँको चाइनिज मुद्रा येन सहटी गरी जानुपर्दो रहेछ । यसरी हेर्दा हालको मूल्यमा बस र पैदल मात्रा मात्र गर्दाको प्रति व्यक्ति लागत न्यूनतम ट्राभल्स कम्पनीलाई बुझाउने र पकेट खर्चसहित रु. २ लाखमा यो यात्रा सम्भव देखियो ।
यो धार्मिक यात्रा समुद्री सतहबाट १४०० मी. उचाइमा रहेको काठमाडौंदेखि कैलाश परिक्रमा गर्दाको उच्चतम उचाइमा रहेको डोल्मापास जुन समुद्र सतहबाट ५६३० मी. उचाइमा रहेकोसम्म पर्दो रहेछ । उक्त डोल्मापास भन्ने उच्चतम उचाइको ठाउँमा अक्सिजनको मात्र निकै कम भई मानिसको मृत्युसम्मको जोखिम रहेको हुँदा करिब अधिकतम ५ मी. भन्दा बढी बस्न हुँदैन भन्ने भनाई रहेको पाइन्छ ।
यात्रा रुट
यस ठाउँमा ट्राभल्स कम्पनीमार्फत बसद्वारा जाँदा पहिलो दिन काठमाडौं पशुपतिबाट टिमुरे १६५ कि.मी., समय करिब६ देखि ७ घण्टा, दोस्रो दिन टिमुरे (बोर्डर नजिक) बाट तिब्बतको केरुङसम्म २४ कि.मी. समय करिब ३ घण्टा, तेस्रो दिन केरुङदेखि सांगासम्म १६९ कि.मी करिब ४ घण्टा लाग्ने रहेछ । यसैगरी, चौथो दिन सागादेखि मानसरोवरसम्म ४६६ कि.मी करिब ८ घण्टा लाग्ने, पाँचौँ दिन मानसरोवरदेखि दार्चेनसम्म ४० कि.मी. करिब १ घण्टा लाग्ने रहेछ ।
छैटौँ दिन दार्चेनदेखि यमद्वार हुँदै देरापुकसम्म पैदल यात्रा १२ कि.मी करिब ६ घण्टा लाग्ने रहेछ । सातौँ दिन देरापुकदेखि जुथुलपुकसम्म २२ कि.मी. करिब ८ देखि १० घण्टाको पैदल यात्रा हुने रहेछ । आठौँ दिन जुथुलपुगदेखि दार्चेन हुँदै सागासम्म ४७९ कि.मी करिब ८ घण्टाको बस यात्रा हुने रहेछ । नवौँ दिन सागादेखि केरुङसम्म १६० कि.मी समय करिब ४ घण्टा लाग्ने रहेछ । दशौँ दिन केरूङदेखि काठमाडौंसम्म १८९ कि.मी करिब ७ घण्टाको यात्रा पूरा गर्न सकिने रहेछ ।
कैलाश परिक्रमाको प्रमुख नाका अथवा विन्दु दार्चेन सहर (४५६० मी.) कैलाश पर्वत, जसलाई शिव जीको वासस्थान रहेको किंवदन्ती छ । पाँचौँ दिन उक्त स्थानबाट कैलाश परिक्रमा गर्ने क्रममा करिब ५ कि.मी बस यात्राद्वारा यमद्वार भन्ने ठाउँमा पुगियो र उक्त यमद्वार मन्दिरमा पितृको फोटो अर्पण र दर्शन गर्दै करिब १२ कि.मी.को पैदल यात्राद्वारा डेरापुर भन्ने ठाउँमा पुगी उक्त दिनको यात्रा होटेलमा विश्राम गरियो । जहाँ समुद्र सतहबाट ५२१० मी. उचाइ रहेछ । उक्त ठाउँमा अक्सिजनको निकै कमी हुँदो रहेछ । आसपासका नदीहरूमा पानी हिउँको रूपमा जमेको देख्ने अवसर पाइयो भने नजिकबाट कैलाश पर्वत शिव भगवानको प्रत्यक्ष दर्शन गर्ने मौका मिल्यो । उक्त ठाउँमा यात्रासँगै गएका कतिपय व्यक्तिहरूलाई अक्सिजन दिनुपर्ने अवस्था समेत आयो । केही मानिसहरूको भनाइअनुसार विगतमा उक्त ठाउँमा अक्सिजनको कमी भई मानिसको मृत्युसमेत हुने गरेको जानकारी पाइयो । उक्त कुरा मानिसको दीर्घरोग अथवा स्वास्थ्य अवस्थामा समेत भरपर्दो रहेछ । तसर्थ, सम्बन्धित कम्पनीले यात्रुहरूमा अक्सिजनको कमी नहोस् भनेर सांगादेखि नै दिनको १ चक्ति हाई अल्टिच्युडको औषधिसमेत दिने परिपाटी रहेको पाइयो ।
डेरापुकबाट पुनः परिक्रमा सुरु गरी डोल्पास हुँदै दार्चेनसम्मको यात्रा गर्दा बिचमा बाससहित समावेश गर्दा २२ कि.मी.पैदल हिडर पार गर्न करिब १८ घण्टा लाग्ने रहेछ । यसरी सातौँ दिनको बास सबैको पुनः दार्चेन सहरमा हुँदो रहेछ ।
यसरी परिक्रमा गर्नेहरूको संख्या उच्च जोखिमको कारण सम्पूर्ण यात्रुहरूमध्ये करिब १० प्रतिशतले मात्र सफलतापूर्वक सहभागिता जनाउने गरेको देखियो भने अन्य पूर्ण यात्रा नसक्नेहरू डेरापुकबाट नै सक्ने पुनः १३ कि.मि पैदल र नसक्नेहरू ५०० येन भुक्तानी गरी एम्बुलेन्समा फर्कने चलन रहेको पाइयो । यसरी फर्कने क्रममा दार्चेनबाट ८ औँ दिन सांगामा बास र ९औँ दिन केरूङमा बास बस्दै १०औँ दिन करिब बेलुकाको ८ बजे तिर काठमाडौं फर्कन सफल भइयो ।
यो अविस्मरणीय यात्राको क्रममा हामीलाई भ्रमणको व्यवस्थापन गर्ने कम्पनी नमस्ते होलिडेज टुर्स एन्ड ट्रेक प्रा.ली. र उसका कर्मचारीले खाना, बस्न र यात्रु हेरचाहमा पु¥याएको सहयोग उत्कृष्ट र अविस्मरणीय रहन गयो । तसर्थ, यस्ता जोखिमयुक्त यात्रा गर्नु अगाडि यात्रा गराउने कम्पनीको छनोटमा विशेष ध्यान पु¥याउनु पर्ने अनुभव रह्यो । कैलाश पर्वत र मानसरोवर ताललाई परिक्रमा गर्दा भगवान शिवको कृपा प्राप्त हुने, पाप क्षमा हुने र मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ ।
मानसरोवर तालको महत्व
भगवान् विष्णुको बास स्थान रहेको पवित्र जलसहित विश्वको सबै भन्दा उच्च स्थान करिब ४५९० मी. र ३२० वर्ग कि.मी. फैलिएको ताल नै मानसरोवर हो । यो ताल भगवान् ब्रह्माको ध्यानबाट उत्पत्ति भएको मानिन्छ । यो कैलाश पर्वतबाट ४० कि.मी दक्षिण दिशामा रहेको छ । पौराणिक कथनअनुसार अमृत सरह मिठास भएको यस पवित्र जलको उत्पत्ति जगतको सृष्टिकर्ता स्वयं ब्रह्माजीले राजश्री भागिरथको तपस्याबाट खुसी भई महादेवले जटाबाट गंगा र मानसरोवर सृष्टि गर्नु भएको पाइन्छ । यस मानसरोवरको सृष्टिसँगै विश्व जगतको सृष्टि र निर्माणको सुरु भएको यहीँबाट भएको किवंदन्ति छ ।
मानसरोवर शब्द मानस तथा सरोवरबाट बनेको जसको अर्थ मनको सरोवर भन्ने बुझिन्छ । किंवदन्तीअनुसार गर्मीयाममा सरोवरबाट हिउँ पग्लेर जल बन्ने अवस्थामा डमरूको ध्वनि सुनिन्छ भन्ने भनाई छ । यस तालमा बिहान ३ बजेदेखि ५ बजेसम्मको प्रातकालिन समयको स्नान प्रभावकारी हुन्छ भन्ने कुरा धार्मिक ग्रन्थहरूले समेत उल्लेख गरेको पाइन्छ । कैलाश पर्वत भगवान् शिव शंकर र मानसरोवर माता पार्वतीको प्रतीकको रूपमा उल्लेख गरेको पाइन्छ । देवि, देवताहरू, सप्त ऋषिहरू मानसरोवरका अलौकिक प्रकाश भएर ब्रह्म मूर्तमा आउने गर्दछन् । मध्यरातको समयमा माता पार्वती तारा (प्रकाश)को भेषमा स्वयम् मानसरोवर तालमा प्रकट भएको अलौकिक दृश्य आज पनि हजारौँ यात्रीहरूले अवलोकन गर्ने गरेका छन् ।
मानसरोवर तालमा ३३ सागरको अवशेष रहेको भनाई छ । अलौकिक शक्ति र गुण रहेको यस सरोवरमा अदृश्य कल्पवृक्ष रहेको छ, जसमा आरोग्यताको लागि सम्पूर्ण गुण रहेको शास्त्रहरूमा पनि उल्लेख भएको पाइन्छ । एकाग्र रूपमा यहाँ योग÷ध्यान गर्दा अज्ञात हलचल भएको महसुस गर्न सकिन्छ । मानसरोवर तालमा एक पटक डुबुल्की मार्दा सात जन्मको पाप नास हुन्छ र जल सेवन गर्नाले शिवदत्त प्राप्त गर्दछ भन्ने किंवदन्ती रही आएको छ । यो तालसँगै रहेको अर्को राक्षस (रावण) ताल, जसमा लंकाका राजा (शिवको महान् भक्त) रावणले घोर तपस्या गरी भगवान् शिवबाट अमरत्व प्राप्त गरेका थिए । यहाँ कुनै पनि मानव, जीवजन्तु र देवगणहरू राक्षस तालमा प्रवेश गरे पुनः पापको सागरमा डुब्ने छ भन्ने मान्यता रहिआएको पाइन्छ । यही अशुद्ध सरोवर हुँदै बग्ने भएकोले आजसम्म पनि कर्णाली नदीको पूजा गरेको पाइँदैन भन्ने भनाई रहेको देखिन्छ । तसर्थ, यस क्षेत्रमा अवस्थित कैलाशमान सरोवर ताललाई धार्मिक र अध्यात्मिकरूपमा संसारकै मुख्य तीर्थस्थल मानिन्छ ।
कैलाश पर्वतको महत्व
धार्मिक ग्रन्थहरूमा उल्लेख गरेअनुसार देवका पनि देव आराध्य महादेव र माता पार्वतीको बासस्थान नै कैलाश पर्वत हो । विष्णु र मत्स्य पुराणमा व्याख्या भएअनुसार यस पर्वतका ४ मुखहरू स्पटिक, रूबि, नलिम र स्वर्ण श्रृंगारको प्रतीकको रूपमा अनैकौं रत्नहरूले सुस्वभित मुद्रामा रहेको छ । हेम श्रृंग, बैधुत, ककुन्दमान, बरूणा, श्रिंगवान र हिरण्यश्रृंग जस्ता ६ वटा दिव्य पर्वतहरूको बिचमा अवस्थित रहेको यस पवित्र पर्वतलाई कमलको फुलको प्रतीकको रूपमा मानिन्छ । समुन्द्र सतहबाट २१ हजार ७७८ फिटको उचाइ र ५२ कि.मी. परिधिमा फैलिएको यस कैलाश पर्वत आकाश र धर्तीबिचको सम्बन्धको बिन्दु रहेको मान्यता छ । कैलाश सरोवर क्षेत्र विश्व आध्यात्मिक जगतको केन्द्र, जहाँबाट ओमकार ध्वनि प्रादुर्भाव भई विश्व आध्यात्मिक जगतलाई निर्देशित गर्ने कुरा शास्त्रहरूमा उल्लेख छ ।
मत्स्य पुराणअनुसार यस पवित्र क्षेत्रमा यक्ष सेनापति मणिभद्र, मणिधर र धनका मालिक कुवेरको नगरी समेत रहेको वर्णन पाइन्छ । कैलाशबाट निस्किएको भागिरथ गंगा कैलाश पर्वतको चरण स्पर्श गरी धर्तीमा जल प्रवाह गर्दै मानव सृष्टि र सभ्यताको सुरुवात गर्दछ । कैलाश पर्वत ऋंखलाबाट निस्कने ४ नदी प्रवाह सिन्धु, सतलज, ब्रम्हपुत्र, र कर्णाली नदीले विश्व जगतलाई ४ भागमा विभाजित गरेको देखिन्छ । हिन्दु धर्मअनुसार कैलाश पर्वतलाई एक पूरा परिक्रमा गर्दा जीवनको एक चक्र बराबरी, १२ पटक परिक्रमा गर्दा पछिल्लो जन्मसहितको पाप नास हुने र १०८ पटक परिक्रमा गर्दा मानव जीवनबाट नै मोक्ष प्राप्त भई भगवानमा लिन हुनेछ भन्ने पौराणिक मान्यता रहिआएको पाइन्छ । पौराणिक कथाअनुसार देवगण, ऋषीगण, राक्षस गण, रावण भष्मासुर, अन्धकासुर आदिले यही कैलाश मानसरोवरमा तपस्या गरी बररान प्राप्त गरेका थिए भन्ने भनाइ रहेको छ । बौद्ध धर्मावलम्बीहरू खाँगरीपुन्छे र जैन एवं शिख धर्मावलम्बीहरूको पनि तपोभुमि रहँदै आएको छ ।
प्राकृतिक दृश्य
एकतर्फी ८६४ कि.मी सवारी साधनको प्रयोग र करिब ५२ कि.मि पैदल यात्राबाट कैलाश मानसरोवरको परिक्रमा गर्न सकिन्छ । काठमाडौंदेखिनै मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्दै कैलाश मानसरोवर जान सकिन्छ । टोखा शिवपुरी हुँदै जाँदा हरियाली जंगल, झरनाको आनन्द लिँदै स्याप्रुवेशी पुगिने रहेछ । स्याप्रुवेशि देखि टिमुरे हुँदै चिन प्रवेश गर्दाको आतिथ्यताको आनन्द लिँदै हिमाल र धुपी सल्लाले घेरिएको सुन्दर सहर केरूङ पुगिन्छ । केरूङदेखि सांगासम्म विभिन्न मठ, मन्दिर र सुन्दर झर्ना एवं वन्य जन्तुको दृश्य अवलोकन गर्दै ब्रम्हपुत्र नदीको किनारमा रहेको सुन्दर सहर सांगा पुगिन्छ ।
सागादेखि मानसरोवर तालसम्मको यात्रा अझै मनमोहक छ । समथर भू–भाग, नाङ्गा पहाड, फराकिला सडक, हिमाली याक, चौरी गाई र भेडाको बथान, जंगली घोडा लगायतको दृश्यावलोकन गर्दै मानसरोवर ताल पुगिन्छ । मानसरोवर तालमा रूद्राभिषेक, हवन, होम, पितृतर्पण आदि धार्मिक अनुष्ठान समेतमा सहभागी हुने मौका मिल्यो । दार्चेन सहरबाट करिब ५० कि.मी पश्चिम बसमा १ घण्टामा पुगिने तिर्थपुरी यात्रा आफ्नै खर्चमा जाने मौका मिल्यो । यो ठाउँमा शिव भगवानले भष्माशुरलाई भष्म पार्नु भएको किंवदन्ती छ । त्यस ठाउँमा आजसम्म पनि शिवको वाण प्रहारले गर्दा जमिनबाट तातो उम्लेको पानी निरन्तर बगेको देख्न सकिन्छ ।
बाटोको अवस्था
बाटोको अवस्थाको कुरा गर्दा, चीन स्वशासित तिब्बतको केरूङदेखि कैलाश मानसरोवारको जनिक दार्चेन सहरसम्मको बाटो लोभ लाग्दो, मनमोहक र सहज छ । नेपालतर्फ भने केरुङको बोर्डरदेखि धुन्चेसम्मको रोडको अवस्था हेर्दा, निकै दुःख लाग्छ । साँघुरो र कच्ची रोड, जसको पुनः निर्माणमा देखिएको ढिलाइको कारण दैनिक हजारौँ यात्रीले कहाली लाग्दो, कष्टपूर्ण र जोखिमपूर्ण यात्रा गरेको पाइएको हुँदा यसतर्फ सम्बन्धित निकायको ध्यान बेलैमा जानुपर्ने देखिन्छ ।