–घनेन्द्र ओझा
पुरुषोत्तम बजगाईंद्वारा लिखित उपन्यास हो, ‘नीलो प्रेम ।’ काभ्रेमा जन्मिएर उच्च शिक्षाका क्रममा ‘सपनाको देश’ अमेरिका पुगेका बजगाईं सूचना प्रविधिका विद्यार्थी हुन् । तीक्ष्ण र मेधावी बजगाईं तर्कशील र अध्ययनशील पनि छन् ।
नयाँ विषयबारे जान्ने उत्सुकता र जिज्ञासा अत्यन्त छ उनमा । जिज्ञासा नै ज्ञानको विस्तृतिको आधार हो, जुन पुरुषोत्तममा छ ।
नयाँ र नौला कामबारे चासो राख्ने र गर्न रुचाउने स्वभाव पनि अर्को लोभलाग्दो पक्ष हो उनको । यही स्वभावले उनलाई पछिल्लो समय साहित्यमा तानेको जस्तो लाग्छ । हुनत उनमा सानैदेखि साहित्य र संगीतप्रति रुचि रहेको उनीबाटै थाहा भएको हो । संगीतमा विशेषगरी गायनमा उनको रुचि देखिन्छ भने साहित्य लेखन विद्यालय जीवनदेखि नै रहेको पाइन्छ । बीचमा औपचारिक अध्ययनका क्रममा समयावभावले हुन सक्छ, उनमा साहित्य लेखन सुस्ताएको पाइन्छ । यद्यपि, पछिल्लो समय उनमा रहेको साहित्यिक हुटहुटी जागृत भएको छ ।
यही जागृत हुटहुटीले ‘नीलो प्रेम’ जस्तो सुन्दर औपन्यासिक कृति हामी पाठकले उनीबाट पाएका छौँ ।
छिरौँ ‘नीलो प्रेम’भित्र ।
‘नीलो’ शब्दका अनेक अर्थ छन्÷हुन्छन् । नीलो भन्नु गहिरो, फराकिलो, विशाल, अनन्त आदि पनि हो । नीलोले नकारात्मक र अश्लील अर्थ पनि उत्पन्न गर्न सक्छ । तर, यस उपन्यासले दिएको अर्थ नकारात्मक नभएर पूर्णतया सकारात्मक छ । ‘नीलो’सँग जोडिएर आएको ‘प्रेम’ले पक्कै पनि सकारात्मक अर्थ उत्पन्न गराएको छ ।
यो उपन्यास साँगाको पुलिस स्कुल वरिपरिबाट सुरु हुन्छ । २ किशोर–किशोरीको झरीमा रुझिरहेको अवस्थाको भेटले अनेक मोड लिँदै गहिरो प्रेमसम्म पुर्याउँछ । विभिन्न सुन्दर र पर्यटकीय स्थलहरूको भ्रमण गराउँछ पात्रसँगै पाठकलाई पनि । कहिले नगरकोटमा चढाउँछ, कहिले भक्तपुरे जुजु धौ खुवाउँदै पोखरातिर बहकाउँछ भने कहिले बिक्षिप्त मनोदशामा चितवनको उखर्माउलो गर्मीमा भौँतारिने अवस्था उत्पन्न गराउँछ पात्रलाई ।
किशोरवयका केटा–केटीमा हुने स्वाभाविक आकर्षण, हँसीमजाक, रिस, इष्र्या, घुक्र्याइ आदि सबैजसो चरित्र उपन्यासका पात्रहरूमार्फत अभिव्यक्त गर्न बजगाईं सफल छन् ।
२ युवा–युवतीको प्रेमकथा जस्तो भए पनि ‘नीलो प्रेम’मा हामी बाँचिरहेको समाज सिंगै आएको छ । सामाजिक चालचलनका विषय र सन्दर्भ, ग्रामीण समाजका यथार्थ, आवश्यकता, अभाव, दुःखलाई पनि सान्दर्भिक बनाएर प्रस्तुत गर्न सफल छन् उपन्यासकार ।
समाजमा रहेको आर्थिक रवाफ र ढोंगी मानसिकताका कारण कतिपय पवित्र प्रेममा लागेका ठेस पनि उजागर भएका छन्– आकाश र वर्षामार्फत ।
किशोर वा युवा वयमा गरिने प्रणय कामना वा हल्का प्रणय कर्म पनि उपन्यासमा देखिन्छ तर अत्यन्त स्वाभाविक रूपमा । अश्लील र उत्तेजक हुन दिएका छैनन् बजगाईंले आफ्ना पात्रलाई । वर्तमानमा अश्लीलता बढी बिकिरहेको यथार्थमा बजगाईं भने अश्लीलता बेच्ने पक्षमा देखिँदैनन्, यो उनको सुन्दर सचेतना हो ।
‘नीलो प्रेम’ पुरुषोत्तम बजगाईंको पहिलो कृति हो । पहिलो कृतिबाटै बजगाईंले साहित्यमा गज्जबको ‘डेब्यु’ गरेका छन् । प्रकाशन भएको २ महिना नबित्दै दोस्रो संस्करण छापिने अवस्था आउनु यसको सबल प्रमाण हो ।
वास्तवमै ‘नीलो प्रेम’ साँच्चै पठनीय छ । किशोर वा युवा वयका पात्रलाई लिएर बुनिएका कथामा हरेक उमेर समूहका पाठकले आफ्नै विगत, आफ्नै अनुहार र आफ्नै भोगाइ अनुभव गर्न सक्छन्, जुन लेखकको गज्जबको लेखकीय खुबी हो । यो उपन्यास पढ्दै गर्दा हरेक पाठक ‘नोस्टाल्जिक’ बन्छ । उसले आफ्नो किशोरावस्था, युवावस्था झलझली सम्झिन्छ ।
प्रायः हरेक पु्रुष वा महिलाका विगतहरू, उमेर र यौवनहरू एकैनासका मनोद्वेग, सोच र आवश्यकताले गुज्रिएका हुन्छन् हाम्रो जस्तो परिवेशमा । त्यही अवस्थालाई टिपेर आकाश र वर्षा २ पात्रलाई केन्द्रमा राखेर निकै सुन्दर र सशक्त उपन्यास लेखेका छन् पुरुषोत्तमले ।
‘नीलो प्रेम’ नेपाली आख्यान साहित्यको पछिल्लो महत्त्वपूर्ण प्राप्ति बनेको छ । पहिलो कृतिबाटै सशक्त छाप छाड्न सफल पुरुषोत्तम बजगाईंबाट अझ उत्कृष्ट र सशक्त कृतिको अपेक्षा गर्न सकिन्छ ।
इन्डिगो इन्कले प्रकाशन गरेको ‘नीलो प्रेम’को मूल्य ७९९ रुपैयाँ छ ।
अँ, साँच्ची नि पुरुषोत्तमजी ! आकाशले वर्षालाई भेटे कि भेटेनन् ? अथवा तपाईंको भेट आकाश दाइसँग भइसक्यो कि भएको छैन ? थाहा दिनुहोस् ल ! हामी पाठकलाई यस्तो व्यग्रता र छटपटीमा कहिलेसम्म राख्ने ?