रौतहट : रौतहटको गरुडा नगरपालिकास्थित जिगडिया चोकमा रहेको शिक्षण संस्था ‘महद उमे हबिबा लिल बनात’ हाल चन्दा, जकात र सदका जस्ता धार्मिक सहयोग रकमको व्यवस्थापनबारे उठेका गम्भीर प्रश्नले चर्चामा आएको छ ।
संस्थाका सञ्चालक मौलाना इजराइल मजाहीरी र उनका परिवारले विभिन्न क्षेत्रबाट संकलित रकमलाई सार्वजनिक हितको सट्टा निजी प्रयोजनमा प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ । विशेषगरी, धार्मिक शिक्षाको नाममा उठाइएको रकमबाट मदरसा सञ्चालनभन्दा बाहिर गइ व्यक्तिगत घरजग्गा खरिद तथा भवन निर्माण गरिएको आरोप लगाइएको छ ।
स्थानीय मुस्लिम अगुवाहरूले इस्लामिक शिक्षाको प्रवद्र्धनका लागि सदा सहयोग गरिँदै आएको भएपनि यसपटक उक्त रकम पारदर्शी ढंगले प्रयोग नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूका अनुसार,‘धार्मिक आस्थामाथि विश्वास गरी दिइने चन्दा र सहयोग सार्वजनिक हितमा खर्च हुनु जरूरी छ । तर, हाल देखिएको अवस्था त्यसको विपरित देखिन्छ ।’
एक स्थानीय अगुवाले भने,‘हामीले दिएको चन्दा सार्वजनिक सेवा र शिक्षा प्रवद्र्धनका लागि हो, कुनै व्यक्तिको निजी घर बनाउनको लागि होइन । अब हामी सचेत हुने छौं र यदि यस्ता गतिविधि तुरुन्त रोकिएन भने, चन्दा, जकात दिने कार्य रोकिनेछ ।’
संस्थाले भने सबै आरोप अस्वीकार गरिएको छ । संस्थाका एक प्रतिनिधिले भने, ‘हामीमाथि लागेको आरोप निराधार छ, सबै कार्यहरू समुदायकै हितमा गरिएको हो ।’
स्थानीयले भने विषय संवेदनशील भएकाले अब छिटो भन्दा छिटो निष्पक्ष छानबिनको माग गरेका छन् । समुदायले सम्बद्ध सरकारी निकाय, मुस्लिम धार्मिक परिषद र नागरिक समाजसँग पारदर्शिता कायम गर्न, सत्यतथ्य बाहिर ल्याउन र दोषी पाइएमा कारबाहीको माग समेत गरिएको छ ।