काठमाडौं : केही समयअघिदेखि नेपाली बजारमा प्रवेश गरेको राइड हेलिङ एप ‘याङ्गो’ले आफ्नो प्लेटफर्म मार्फत् चालकहरूले दैनिक ४ हजार रुपैयाँसम्म कमाउन सक्ने जनाएको छ ।
नेपालमा सञ्चालित दर्जन बढी राइड शेयरिङ एपमध्ये ठूलो हिस्सा २ विदेशी कम्पनी पठाओ र इन्ड्राइभले ओगटेको समयमा अर्को विदेशी कम्पनी याङ्गोमा जोडिएका चालकहरूले दैनिक ४ हजार रुपैयाँसम्म कमाउने अफर ल्याएको छ ।
उपाय, दोस्ती, ई ड्राइभ नेपाल, नेपाल फ्लिट, किम एडभेन्चरलगायत नेपाली कम्पनीसँग मिलेर याङ्गोले एक महिनाअघि काठमाडौंमा परीक्षण राइड सेवा सुरु गरेको थियो ।
दोस्ती राइडमा रहेर फूलटाइम बाइक चालक संजिप राईले याङ्गो एप मार्फत दैनिक २ हजार ५०० देखि ३ हजार रुपैयाँ कमाइ रहेको बताएका छन् । ‘याङ्गो मेरो लागि अन्य कुनै पनि प्लेटफर्म भन्दा राम्रो भएको छ । मैले अन्य सबै राइड–सेयरिङ एपहरू प्रयोग गर्न छोडेको छु । यदि यस्तै सुविधा रह्यो भने भने म लामो समयसम्म याङ्गोसँग रहनेछु’, उनले भने, ‘बढ्दो दैनिक बोनसले मलाई सबैभन्दा बढी आकर्षित गरेको छ ।’
यस्तै अर्का चालक किरण राईले पनि याङ्गोको बोनस प्रणालीबाट सन्तुष्ट छन् । उनी भन्छन्, ‘प्रति दिन २ हजार ५०० भन्दा बढी कमाइ हुने गरेको छ ।’
बाइक चालक तेज कुमार लामा याङ्गोमार्फत आय आर्जन गर्ने तरिका सिकाउँदै भन्छन्, ‘आफू अनुकुल समय मिलाएर दैनिक १६ वटा ट्रिप पूरा गरेपछि बाइक पार्किङमा राखे हुन्छ । यसबाट औसत रुपमा दैनिक ३ देखि ४ हजार रुपैयाँसम्म कमाइ हुन्छ ।’
याङ्गोको परीक्षण सेवा सुरु भएतायता पार्ट–टाइम चालकको रूपमा काम गरिरहेका अनिल केसीले यसले उनलाई खाना र इन्धनको खर्च सहज रूपमा पूरा गर्न मद्दत गरेको बताउँछन् । ‘यात्रुहरूबाट मैले पाउने पैसाले मेरो खर्च आरामसँग पूरा गर्छ, म पार्ट–टाइम आधारमा गाडी चलाउँछु र दैनिक लगभग १, हजार ५०० कमाउँछु । सामान्यतया म प्रति दिन ६–८ वटा अर्डरहरू पूरा गर्छु ।’
राइड–हेलिङ सेवामा यात्रु वा चालकको सुरक्षा नै पहिलो प्राथमिकता भएको कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले २० भन्दा बढी सेफ्टी फिचरसमेत ल्याएको छ ।
याङ्गो समूह एक अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो, जसले विश्वव्यापी रूपमा प्राप्त प्रविधिहरूलाई स्थानीय समुदायहरू अनुरूप दैनिक सेवाहरूमा रूपान्तरण गर्दछ । याङ्गो समूहले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व, दक्षिण एशियासहित ३० बढी देशमा गतिशीलता, डेलिभरी, फूडटेक, मनोरञ्जनलगायत डिजिटल सेवाहरू प्रदान गरिरहेको छ ।
याङ्गो राइडले स्थानीय ट्याक्सी व्यवसायीका लागि पारदर्शिता, दक्षता र मूल्य बढाउन डिजिटल लेखा प्रणाली, फ्लिट व्यवस्थापनलगायत कार्यहरू गरिहेको छ ।