२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

बालशिक्षामा स्थानीय सामग्रीको प्रयोग

shivam cement
निस्ता कार्की
२०८२ असार ५ गते २१:३२
बालशिक्षामा स्थानीय सामग्रीको प्रयोग

कालीकोट : कालीकोटका प्रारम्भिक बालविकास केन्द्रहरूमा अध्यापन गराउने शिक्षकहरूले स्थानीय स्रोत–सामग्री प्रयोग गरी सिकाइलाई सहज, आकर्षक र सान्दर्भिक बनाउने अभियान सुरू गरेका छन् ।

‘घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले’ भन्ने नारालाई आत्मसात गर्दै शिक्षकहरूले बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पु¥याउने शैक्षिक अभ्यासमा जोड दिएका हुन् । 

नरहरीनाथ गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिकाका इसिडीदेखि कक्षा ३ सम्मका शिक्षकहरू स्थानीय स्रोत प्रयोग गरी बालमैत्री वातावरणमा सिकाइ क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।

पञ्चदेवल मावि, मेहलमुडीकी शिक्षक भावना शाहीले  शिक्षकको पद्धतिमै परिवर्तन आए बालबालिकाको सिकाइमा गहिरो प्रभाव पर्न सक्ने बताइन् ।

उनले भनिन् ‘शिक्षकको पढाउने विधिले बालबालिकाको पढाइमा परिवर्तन आउन सक्छ । शिक्षक निपूर्ण नभइ बालबालिकाको प्रारम्भिक बालविकासमा सहयोग सहयोग पुग्दैन । शिक्षक शैक्षिक सामग्री निर्माणदेखि  प्रयोग गर्ने विषयमा सृजनशिल हुन जरुरी छ ।’

यसैबीच प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग किर्डाक नेपाल कालीकोटको सहजीकरणमा जिल्लाको नरहरीनाथ गाउँपालिकाका र सान्नी त्रिवेणी गाउँपालिकाका बालविकास केन्द्रमा अध्यापन गराउने २० वटा विद्यालयका शिक्षकहरुलाई स्थानीय सामग्री निर्माण तथा प्रयोग सम्बन्धी तालिम दिइएको सशक्त बालिका परियोजना संयोजक बलिराज शाहीले बताए ।

कार्यक्रममा बालमैत्री सिकाइको प्रवर्द्धनमा विशेष जोड दिइएको छ । 

‘खेल्दै सिक्ने, रमाउँदै सिक्ने’ अवधारणामा आधारित यो पहलले बालबालिकाको मानसिक, शारीरिक र संवेगात्मक विकासमा टेवा पु¥याउने विश्वास गरिएको छ । परियोजनाले हालसम्म १० विद्यालयमा ४० नमूना कक्षा कोठा निर्माणमा समेत सहयोग पुर्‍याएको छ ।

जनप्रिय आधारभूत विद्यालय, नरहरीनाथ–८ का शिक्षक लक्ष्मण भण्डारीले भने, ‘महँगा सिकाइ सामग्री नै मात्र प्रभावकारी सिकाइका लागि जरुरी हुन्छ भन्ने सोच हटाउन अब हामी सक्षम भएका छौँ ।’ उनले कम मूल्यमा पाइने वा स्थानीयस्तरमा सहजै उपलब्ध सामग्री प्रयोग गर्न सकिने बताए ।

कार्यक्रममा सहभागी शिक्षकहरूले आफ्ना विद्यालयमा सिकाइ सामग्रीको विकास र प्रयोगमार्फत शिक्षण–सिकाइलाई व्यवहारिक र बालमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । 

शिक्षा समन्वय इकाई कालीकोटका प्रमुख प्रकाशचन्द्र धितालले प्रारम्भिक बालविकास पाठ्यक्रम २०७७ को आधारमा शिक्षण सामग्री विकास गरिएको बताए । उनले भने, ‘स्थानीय आवश्यकता र नवीनतम शैक्षिक अवधारणालाई समेटेर बनाइएका सामग्रीले सिकाइलाई सहज बनाउनेछ । यस्ता प्रयास गर्ने शिक्षकहरूलाई भविष्यमा पुरस्कार दिइनेछ ।’

परियोजनाका मूल्यांकन अधिकृत प्रेम चौलागाईंका अनुसार, स्थानीय सामग्रीको प्रभावकारी प्रयोग र कार्यान्वयनमा बालशिक्षकको योगदान अतुलनीय रहेको छ । ‘यो गतिशील दस्तावेज हो,’उनले भने, ‘यसलाई समयसापेक्ष परिमार्जन गर्दै अझ प्रभावकारी बनाउन शिक्षक, प्रयोगकर्ता र सरोकारवालाको निरन्तर भूमिका आवश्यक छ ।’

ADV

सम्बन्धित खबर

Advertise