२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

shivam cement
मध्यान्ह
२०८२ असार ५ गते १९:०९
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

काठमाडौं : एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन् । राहुलले बिहीबार ५–अन्डर ६७ को स्कोर गरे ।

राहुलले यो सिजनको दोस्रो उपाधि जिते । यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए ।

समग्रमा १९–अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए । उनले बिहीबार ८–अन्डर ६४ को स्कोर गरे । प्रोतर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे । एमेच्योर सद्भाव आचार्य समग्रमा १८–अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए । उनले बिहीबार ५–अन्डर ६७ को स्कोर बनाए । उनी एमेच्योरतर्फ दोस्रो भए ।

साबिक विजेता सुवास तामाङ समग्रमा १५–अन्डर २ सय ७३ सहित चौथो भए । उनले बिहीबार इभन–पार ७२ स्कोर गरे । प्रो तर्फ उनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे । भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४–अन्डर २ सय ७४ सहित पाँचौं स्थानमा रहे । उनले बिहीबार ६–अन्डर ६६ को उत्कृष्ट स्कोर गरे । एमेच्योरतर्फ उनी तेस्रो भए ।

धरानका प्रो निरज तामाङले बिहीबार १–ओभर ७३ स्कोर गरे । समग्रमा १०–अन्डर २ सय ७८ सहित छैटौं भए । प्रो तर्फ तेस्रो भएका उनले १ लाख २५ हजार नगद हात पारे । उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन् । उनले यो सिजन तीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए ।

दिनेश प्रजापति समग्रमा ९–अन्डर २ सय ७९ को स्कोरमा सातौं भए । उनले बिहीबार २–अन्डर ७० स्कोर गरे । प्रो तर्फ चौथो हुँदै नगद १ लाख ५ हजार प्राप्त गरे । शुक्र बहादुर राई समग्रमा ८–अन्डर २ सय ८० सहित आठौं भए । बिहीबार ५–अन्डर ६७ स्कोर गरे । प्रो तर्फ पाँचौं भएका उनले नगद ९२ हजार हात पारे ।

समग्रमा ३–अन्डर २ सय ८५ को स्कोरमा प्रो सञ्जय लामा र एमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्तरुपमा नवौं स्थान बाँडे । सञ्जयले इभन–पार ७२ र वाङ्चेनले २–अन्डर ७० मा बिहीबारको खेल सकाए । प्रो तर्फ छैटौं भएका सञ्जयले ८४ हजार प्राप्त गरे । यस्तै रवि खड्का, धन बहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट दशमा रहे ।

तेस्रो दिनका लिडर राहुलले बिहीबार फ्रन्ट नाईनमा बोगी रहित ५–अन्डर ३१ स्कोर गरे । उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । ११औं र १२औं होलमा पनि एक–एक सट बचाउँदा २३–अन्डरमा स्कोर पुर्याइसकेका थिए । तर ४–पारको १४औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन इभन–पार ३६ मा सकाए ।

भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे । चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए । यसपछि ११औं, १२औं, १५औं र १७औं होलमा एक–एक सट बचाए । १४ औं होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे ।

सद्भावले फ्रन्ट नाइनमा इभन–पार ३६ खेले । तेस्रो होलमा डबल बोगी खेपे । छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले । यसपछि १२औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं, १४औं र १५औं होलको बर्डीले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए ।

बिजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक रवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।

एनपिजिएद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको थियो । जहाँ ३७ प्रो र १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागीता जनाएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise