काठमाडौं : नेपाल राष्ट्र बैंकले आईएमई पे र खल्तीबीचको मर्जरका लागि आधिकारिक स्वीकृति दिएको छ । नेपालको डिजिटल भुक्तानी क्षेत्रमा दुई प्रमुख डिजिटल वालेट प्लेटफर्महरूको यो पहिलो मर्जर हो । सो एकीकरणपछि नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को मुख्य कार्यालय काठमाडौंको पानीपोखरीमा रहने जनाइएको छ ।
गाभिएपछि खल्ती एपमार्फत् सेवा दिने सो संस्थाको सबैभन्दा धेरै चुक्ता पुँजी र ५० लाखभन्दा बढी प्रयोगकर्ता हुनेछन् ।
यस मर्जरले विशेषगरी ग्रामीण क्षेत्रमा डिजिटल भुक्तानी पहुँच विस्तार गरी राष्ट्र बैंकको वित्तीय समावेशीकरणको उद्देश्यलाई सहयोग गर्ने विश्वास गरिएको छ । खल्ती एपले भविष्यमा संसारभरबाट रेमिट्यान्स प्राप्ति, बैंक खाता खोल्ने सुविधा, भिसा कार्ड जारी गर्ने र ऋण सुविधा जस्ता नयाँ फिचरहरू समेत ल्याउने योजना बनाएको छ ।