काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गरेका छन् । आइएमईको २५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंकले सहजीकरण गर्न तयार रहेको बताए ।
द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेको बेला समेत जोखिम मोलेर आइएमई स्थापना भएको स्मरण गर्दै गभर्नर पौडेलले देशलाई अहिले पनि जोखिम लिन सक्ने धेरै उद्यमीहरूको खाँचो रहेको उल्लेख गरे । आइएमईका संस्थापक अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमईको सफलतामा तीन वटा आधारहरू रहेको प्रस्ट्याए ।
अध्यक्ष ढकालले आइएमईको सुरुवातमा नाफा मात्रै कमाउने कुरामा ध्यान नदिएर आम मानिसले खोजेको सेवा, सरकारले राखेको प्राथमिकता र व्यवसायको रूपमा अघि बढाउन सकिने तीन वटा मूल सिद्धान्तमा केन्द्रित बनेर सफलता हासिल गर्न सम्भव भएको बताए । आइएमईले रेमिट्यान्सबाट बैंकिङ, बीमा, पर्यटन, सूचना प्रविधि, जलविद्युत् लगायतका क्षेत्रमा लगानी विस्तारमार्फत् हजारौँ गुणस्तरीय रोजगारी सृजना गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको पनि संस्थापक अध्यक्ष ढकालले उल्लेख गरे ।
यस्तै, आइएमईका सहसंस्थापक तथा अध्यक्ष हेम राज ढकालले उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आइएमईले आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष ढकालले युवाहरूले सूचना प्रविधि क्षेत्रमा नेपालमै बसेर विदेशमा सेवा निर्यातबाट कमाएको रकम सहजै भित्र्याउन डिजिटल रेमिट्यान्स पूर्वाधार विस्तारमा प्रोत्साहन गर्न राष्ट्र बैंकको सहयोगको अपेक्षा गरेको पनि बताए ।
त्यस्तै, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए । प्रविधिमा भएको विकासलाई आत्मसात् गर्दै थप विविधिकृत सेवाहरूको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे ।