काठमाडौं : एनसेलले ग्राहकलाई सधैँ सम्पर्कमा रहन मात्र होइन, अब १ करोड रुपैयाँ जित्ने अवसरसमेत प्रदान गर्ने योजना ल्याएको छ । आइतबारदेखि लागू भएको ‘सधैँ अन करोडपति’ योजनाअन्तर्गत एनसेल सेवाको प्रयोग गर्ने ग्राहकले बम्पर नगद पुरस्कार जित्न सक्ने जनाइएको छ ।
१२ हप्तासम्म चल्ने यो योजनाअन्तर्गत प्रत्येक हप्ता १० जना भाग्यशालीले जनही १ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । साथै, सहभागी हुने सबै ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवा बोनस पाउने भएकाले योजना ‘सबैका लागि केही न केही’ सिद्धान्तमा आधारित रहेको कम्पनीले जनाएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभका अनुसार एक दशकपछि ल्याइएको यो सबैभन्दा ठूलो उपभोक्ता योजना हो । योजनामा सहभागी हुन ग्राहकले न्यूनतम ९९ रुपैयाँ वा सोभन्दा माथिको एनसेल सेवा (जस्तै, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस, रोमिङ वा कम्बो प्याक) खरिद गर्नुपर्नेछ । प्रत्येक ९९ रुपैयाँ बराबरको सेवामा ग्राहकले एउटा टिकट पाउनेछन् । सेवा रकम बढे टिकट संख्या पनि बढ्नेछ – जस्तै चार सय ९९ रुपैयाँ बराबरको प्याकमा पाँचवटा टिकट प्राप्त हुनेछन् ।
रिन्यूअल वा रोमिङ सेवा खरिद गरेमा ग्राहकले दोब्बर टिकट पाउने एनसेलले जनाएको छ । सप्ताहको टिकट संख्या हेर्न ग्राहकले (९९९९) डायल गर्न सक्नेछन् वा ९९९९ मा ‘१’ वा ‘२’ टाइप गरी एसएमएस गरेर जानकारी लिन सकिने जनाइएको छ । यस योजनामा नेपालमा प्यान नम्बर र बैंक खाता भएका सबै प्रिपेड, पोस्टपेड तथा वायर–फ्री ग्राहक सहभागी हुन सक्नेछन् । पोस्टपेड ग्राहकले नयाँ सिम खरिद वा मासिक सक्रियतामार्फत् योजना प्रवेश गर्न सक्नेछन् ।
हर आइतबार साँझ ६ः३० बजे एनसेलको युट्युब च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत् विजेताहरूको घोषणा गरिनेछ । विजेतालाई नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले सिधै सम्पर्क गर्ने जनाइएको छ ।