काठमाडौं : पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल”मा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय अनुदान आफूहरूले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था नरहेको र वैदेशिक ऋण पनि सोही हिसाबले कार्यान्वयन हुने अवस्था नरहेको बताए । उनले राजस्वको लक्ष्यलाई पूरा गर्न कमी कठिन रहेको बताउँदै त्यसमा सरकारले मिहिनेत गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले बजेटमा उल्लेख गरिएको आम्दानीको स्रोत जुटाउन गाह्रो हुनेमा दुई मत नरहेको स्पष्ट पारे ।
उनले आगामी बजेटले सामाजिक सुरक्षा भत्तामा समसामयिक रूपमा सुधार गरेर केही बचत गर्ने कोसिस गरेको बताए ।