–खिमराज गिरी
बद्रीनाथ मन्दिर भारतको उत्तराखण्ड राज्यको चामोली जिल्लामा अवस्थित हिन्दुहरूको एक ऐतिहासिक पवित्र मन्दिरको रूपमा परिचित छ । जुन भगवान् विष्णुको एक अवतारको रूपमा चिनिन्छ । उक्त मन्दिर भारतको हिमालय क्षेत्रको गढवाल पर्वत श्रृंखला अलका नदीको किनारमामा करिब ३ हजार १३३ मिटरको उचाइमा अवस्थित छ । हिन्दुहरूको लागि अति महत्वपूर्ण मानिने ४ धाममध्ये बद्रीनाथ धाम पनि एक हो ।
उक्त मन्दिरको प्रतिकस्वरूप काठमाडौंको नागार्जुन नगरपालिका ७, रामकोटस्थित दहचोकमा पनि वाचन शिरोमणी स्व. नारायण पोखरेलको सम्झनामा उनका पुत्र पण्डित दिनबन्धु पोखरेल र स्थानीयको सक्रियतामा ‘नारायण पोखरेल प्रतिष्ठानको रूपमा बद्रीनारायण मन्दिर’ स्थापना गरिएको छ । स्थानीयका अनुसार उक्त मन्दिर स्थापनाको लागि सोही स्थानमा बसोबास गर्ने नेपाल दशनामी समाज अन्तर्गत पर्ने गिरी समुदायले करिब २२ रोपनी जग्गा उक्त प्रतिष्ठानको नाममा ९९ वर्षको लागि लिजमा दिएका छन् । यसैअनुरूप गत २ वर्षदेखि उक्त मन्दिर निर्माणको लागि विभिन्न व्यक्तिहरूले पहल गरेका थिए । जसअनुसार करोडौं रुपैयाँ धार्मिक आस्था राख्ने व्यक्तिहरूबाट दानस्वरूप उठाइएको थियो भने सरकारी तवरबाट पनि केही सहयोग भएको पाइन्छ ।
यसै सन्दर्भमा गत वैशाख महिनाको १९ गतेदेखि २७ गतेसम्म नारायण पोखरेल प्रतिष्ठान बद्रीनारायण प्राण प्रतिष्ठा मूल समारोह समितिको आयोजनामा सोही स्थानमा नेपालकै नमुना बद्रीनारायण धामको ऐतिहासिक बद्रीनारायण प्राण प्रतिष्ठा धार्मिक कार्यक्रम सञ्चालन गरियो । उक्त धार्मिक कार्यक्रमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए भने प्रमुख कथा वाचक पण्डित दीनबन्धु पोखरेल थिए । ‘सनातनी गौरव, नेपाली शान, दर्शन गरौँ, बद्रीनारायण धाम’ भन्ने स्लोगन रहेको उक्त कार्यक्रम भव्य रूपमा सञ्चालन गरी समापन गरियो ।
यस्तो अमूल्य कार्यको लागि जग्गा उपलब्ध गराएर सहयोग गर्नुहुने सोही स्थानका सम्पूर्ण गिरी परिवार तथा अन्य समाजसेवीहरूको दान कर्मलाई धेरै दर्शनार्थीहरूले स्वागत गरेका थिए । वास्तवमा नेपालीहरूको मनमनमा अझै पनि धार्मिक आस्था रहिरहेको छ । नेपालका हरेक देवीदेवताका मठ तथा मन्दिरहरूमा एकादशी तथा विभिन्न समयमा कयौँ नेपाली तथा विदेशीहरूको पनि घुइँचो देख्न पाइन्छ । भनिन्छ नि, जुन व्यक्तिको मनभित्र धार्मिक आस्था रहन्छ उसको मन पवित्र भई उसको सोच्ने शक्ति पनि सदैव सकारात्मक रूपमा अगाडि बढिरहेको हुन्छ ।
वास्तवमा नेपालको सन्दर्भमा विभिन्न किसिमका देवीदेवताको मन्दिरहरूमध्ये बद्रीनारायण धाम पनि एक महत्वपूर्ण धार्मिकस्थलको रूपमा परिचित भएको छ र दर्शनार्थीको पनि निकै भीड देखिने उक्त मन्दिर निर्माण गर्नको लागि सहयोग गर्नुहुने रामकोटवासी तथा चापाको सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रामकाजी गिरी तथा सदस्य सुदर्शन गिरीलगायत सम्पूर्ण गिरी परिवारको पनि महत्वपूर्ण योगदान रहेको छ । हुन त, नेपाली पत्रकारिता क्षेत्रमा युट्युबमा प्रसारण गरिने विविध समाचारको सत्यतामाथि नै समय समयमा प्रश्न चिन्ह खडा नभएका होइनन् किनकि उक्त समयमा एक युट्युब च्यानलबाट नुन छरिएको जग्गा दान दिइएको र बाँदर लड्ने भीरको प्रयोग गरिएको भनेर नकारात्मक टिप्पणीसहित आफ्नो भिउज बढाउने उद्देश्यले यस्ता समाचारहरू दिइएको थियो र उक्त समाचारको खण्डन गर्दै सोही युट्युब सञ्चालकलाई माफी पनि माग्न लगाइएको कुरा समाजसेवी स्थानीय सुदर्शन गिरीले जानकारी दिए ।
यसरी भगवान् बद्रीनारायण हिन्दु धर्ममा विष्णुको अवतार मानिन्छन् र सदैव मनभरी धार्मिक आस्था बोकेर बद्रीनाथ दर्शन गर्न भारतको उत्तराखण्डमा कयौँ नेपालीहरू धाउने गर्दछन् । तर, अब त्यो झन्झटबाट नेपालीहरू मुक्त भएका छन् किनकि, आध्यात्मिक वादमा मन शुद्धिको लागि नेपालमा नै बद्रीनारायण धाममा (बद्रीनाथ)को रूपमा विष्णु भगवानको दर्शन गर्न पाइने भएको छ । उक्त कार्यको लागि स्वर्गीय पण्डित नारायण पोखरेलका सुपुत्र पण्डित दीनबन्धु पोखरेलले आफ्ना बुबाको सम्झनामा त्यहाँका स्थानीय बासिन्दाको सहयोगमा उक्त पवित्र कार्यलाई अगाडि बढाएका थिए । जसले गर्दा सारा नेपाली जगतलाई धार्मिक आस्थाको रूपमा बद्रीनाथ धामको रूपमा भगवान् विष्णुको दर्शन गर्न पाइने भएकोले धार्मिक आस्थामा खुसीको कुरा थपिएको छ । बद्रीनारायणको पूजा गर्नाले मन, वचन र कर्म शुद्ध हुने धार्मिक आस्था रहेको छ । भारतको बद्रीनाथ धामको झझल्को दिनेगरी निर्माण गरिएको उक्त धाम श्रद्धालुहरूको लागि जीवनभरको लागि धर्म यात्राको एक हिस्सा मानिनेछ ।
काठमाडौंको उत्तर पश्चिमी भेगमा अवस्थित नागार्जुन नगरपालिका आफैंमा धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको रूपमा परिचित ठाउँ हो । सोही नगरपालिकाको वडा नं.७ मा अति रमणीय स्थलको रूपमा रहेका केही स्थानहरू स्वीट्जरल्याण्ड पार्क, कालु पाण्डेको सालिक, इन्द्र दहका साथै कालु पाण्डेका सालिक नजिकबाट काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ र गोर्खा गरी ७ जिल्लाहरू देखिन्छन् । उक्त स्थानमा मनकामना मन्दिर पनि रहेको छ । स्वीट्जरल्याण्ड पार्क वनभोज कार्यक्रमको लागि प्रसिद्ध स्थल हो । यसरी उक्त ठाउँमा पछिल्लो समय बद्रीनारायण धामको रूपमा मन्दिर स्थापना गरेपछि महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा परिचित भएको छ । र, स्थानीय जनताहरूमा आर्थिक लाभ पनि प्राप्त गर्ने कुराहरूमा दुबिधा छैन ।
यसरी काठमाडौंको अति रमणीय ठाउँ जुन ऐतिहासिक गढीको रूपमा पनि चिनिन्छ, जहाँबाट पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दा सैनिक मोर्चा पनि स्थापना गरेका थिए र आज पनि उक्त ठाउँमा ऐतिहासिक युद्धकोअवशेष पाउन सकिन्छ । पृथ्वीनारायण शाहले लडाइको दौरानमा कीर्तिपुर आक्रमण गर्दा रामकोटमा धेरै लामो समयदेखि बसोबास गर्दै आएका गिरी परिवारमध्येमा एक रामु गिरीको सरसल्लाहबमोजिम युद्ध मोर्चा बनाइएको र उनैको सहायताले युद्ध जित्न सफल भएको कुरा स्थानीय जानकारहरूको भनाई छ । तसर्थ उक्त ऐतिहासिक महत्वपूर्ण स्थलमा अवस्थित उक्त बद्रीनारायण मन्दिरको संरक्षण र संवद्र्धन गर्नु सरकार तथा हामी सबै नागरिकको कर्तव्य पनि हो ।