२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

लघुकथा : तेस्रो ठूलो विवाद

२०८२ जेठ ३१ गते ०६:१०
लघुकथा : तेस्रो ठूलो विवाद

–मानसिंह धामी

गाउँभरि हल्ला फैलियो । रितुले जेठाजु विरुद्ध फिराद गरी अरे, “बखतेले जबरजस्ती गर्‍यो अरे !”

सामुदायिक मेलमिलाप केन्द्रको सभामा मुद्दाको सुनवाइ चलिसकेको थियो । जेठाजु बखतेलाई पनि बयानको लागि बोलाइयो । रितु र उसको पोइ गुमाने वादी पक्षको भित्तो तिर उभ्याइएका थिए । रितुका पोइले भने दाइको नाम एक पटक पनि लिएन । तर, रितुले भने जेठाजुलाई दशै दिशाबाट दोष लगाइन्, ‘भाइ मारा’ जस्तो शब्द समेत पटक–पटक प्रयोग गरिन् । 
मेलमिलाप केन्द्रका अध्यक्षले रितुको अभियोग वा बयान सुनिसकेपछि बखते जेठाजु चाहीँलाई कुरा राख्ने पालो दिए । 

बखतेले कसैलाई पनि जबरजस्ती नगरेको बयान दिए । उनले पार्टीका इमानदार झोलेको कद कलमी, मानहानी र बदनामी गर्ने नियतले प्रेरित भई घरायसी रिसिबी वा मेरो प्रगतिको आरिसले जलेर मेराविरुद्ध आफ्नै भाइ बुहारी प्रयोग गरिएको र षडयन्त्र गरिएको बताए । 

“सरकारी अनुदान यिनले दिने पनि होइन, यिनका भैँसीका तस्बिर मात्र खिचेको हुँ, विभागमा बुझाएको छु, भैँसी नै लुटेर विभागमा बुझाएका जस्तो अनर्गल प्रचार गरिएको छ, कुनै जबरजस्ती वा करणी सरणी केही छैन, यदि कुनै ठोस प्रमाण छ भने म झोलेको पेसाबाट नै संन्यास लिन्छु । कसैले भनेकै भरमा वा कसैलाई त्यस्तो लागेकै भरमा आरोपित गरिन्छ भने दुनियाँ कसरी चल्छ ?”, बखतेले प्रतिप्रश्न गरे । 

रितुले झोलाबाट एक फोटो झिकिन् । तस्बिरमा ६ वटै भैँसी आफ्नै गोठमा चारो चपाइरहेका थिए । 

एक अलि अनौठो जस्तो कुरा के चाहिँ थियो भने बखतेको जस्तै कट्टु लगाएको पुरुष गोठबाट बाहिरिई रहेको देखिन्थ्यो । 

जुन बखतेले अर्कै प्रयोजनको लागि रितुका भैँसीहरूको फुटो खिची भागेको बुझियो । 

रितुका भैँसीका फोटा देखाएर भैँसी पालक किसानको अनुदान हात पार्नका लागि बखतेले रितुलाई सोध्दै नसोधी खिचेको बुझिन् आयो । रितुलाई रिस उठ्नुको खास कारण त्यही हुनाले यो कचहरी भएको पनि बुझिन्छ । 

बखतेले गरेको भनेको यत्ति मात्र देखिन्छ । मामिलालाई तोड मरोड क–कसले किन गर्‍यो ? दैव जानोस् !

रितुले पनि जेठाजुले जबरजस्ती गर्‍यो मात्र भनेको छ । करणी किटानीको नाम दिएको छैन । 

अध्यक्षले दुवैतर्फको बयान सुनिसकेपछि भने, “जबरजस्ती करणी नै भएको देखिँदैन तापनि रितुका जेठाजुको यो करणी वा कर्म जबरजस्ती करणी झैँ निन्दनीय भने अवश्य देखिन्छ । कुनै पनि पार्टीका झोलेको यस्तो कृत्यलाई जबरजस्ती करणी सरहको अनैतिक अपराध सरह मान्न सकिन्छ । किसानले पाउने पुरस्कार वा सरकारी पेवा रितुका जेठाजु जस्ता झोलेहरूले उछिट्ट्याउनु भनेको पनि हाडनाता भित्र नै जबरजस्ती गरे सरहको अपराध ठहर्छ ।”

बखतेले सबैका अगाडि उपरान्तमा यस्तो नगर्ने प्रतिबद्धता गरे पछि यस पटकको लागि रितुले पनि बखतेलाई माफी दिनु पर्ने सभाको सुझाव सुनियो । जे होस्, गाउँघरको मामिला गाउँघरमै सुल्झ्याइएको यो तेस्रो ठूलो विवाद थियो । 

ADV

सम्बन्धित खबर