२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

मध्यान्ह
२०८२ जेठ २४ गते ०९:२९
एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

तनहुँः तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको छ । गाउँपालिकाभित्रका एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित गाउँपालिकाले बाख्रा वितरण गरेको हो ।

गाउँपालिकाभित्रका सात वटा वडाका चारचार एकल महिला छनोट गरी प्रत्येकलाई एकरएक वटाका दरले बाख्रा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार पालिकाभित्र एकल महिलाको सङ्ख्या चार सय ५२ जना रहेकामा निम्न आय भएका २८ जना महिला छनोट गरी बाख्रा वितरण गरिएको जानकारी दिए ।

उनले भने, ‘एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित बाख्रापालनतर्फ प्रोत्साहन गरेका हौँ । यसले उहाँहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ ।’ बाख्रा खरिदका लागि पालिकाले प्रति महिला रू १२ हजार सहयोग गरेको अधिकारीले बताए ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकल महिलालाई बाख्रा वितरणका लागि पालिकाले रू तीन लाख बजेट विनियोजन गरेको जानकारी दिए । उनले एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यसहित बाख्रा वितरण गरिएको बताए ।

एकल महिला सिर्जना विकले पालिकाले अनुदानमा बाख्रा वितरण गरेकाले बाख्रापालनतर्फ आत्मनिर्भर बन्ने प्रयास गर्ने बताए । उनले भने, ‘यसले बाख्रापालनतर्फ अगाडि बढ्न प्रोत्साहित गरेको छ ।’ रासस

ADV

सम्बन्धित खबर