–जनक बराल
समर, पोखराको एउटा रमणीय गाउँमा हुर्केको सादा केटो । गाउँको हरियाली, फाँटको पल्लो छेउमा बग्ने खोल्सो र बिहानै गाइगोरु लिएर जाने बाआमाको व्यस्तता उसको बाल्यकालका दृश्यहरू थिए । पढाइमा होशियार, व्यवहारमा भद्र । गाउँमा एसएलसी उत्तीर्ण गरेपछि पोखराको सहरमा झरेर पढ्न थाल्यो । कोठा सँगै ७ जना साथीसँग साझा भाडामा, बिहान सस्तो चिया र रातको दालभातसँगै सुरु भयो सहरको संघर्ष ।
ब्याचलरसम्मको पढाइ पुरा गरेपछि जागिर खोज्ने नाममा समर काठमाडौं छिर्यो । सपना सरकारी जागिरको थियो, तर जिन्दगीले निजी म्यानपावर कम्पनीमा डेस्क सम्हाल्न लगायो । भिसा प्रक्रिया बुझ्न थालेपछि, ऊ आफैँ पनि विदेश जाने सपनामा डुब्न थाल्यो ।
“अरूलाई पठाएर किन बस्ने ? आफैँ जान पाए जिन्दगी फेरिन्थ्यो होला,” सोच्थ्यो ।
युरोप यात्रा र दुःखको सुरुवात
२०१५ सालमा, धेरै कागजात, ऋणपान र मनको ढुकढुकीपछि समर पोर्चुगल पुग्यो । पहिलो पाइला लिस्बनको धुलाम्मे सडकमा टेक्दा उसले स्वतन्त्रताको स्वाद पायो जस्तो लाग्यो । तर, त्यो स्वाद चाँडै नै नुनिलो पसिनामा परिणत भयो । दिनको १० घण्टा भाँडा माझ्ने, रातको पालोमा मासु काट्ने, कहिले होटल त कहिले रेस्टुरेन्ट – कामको फेरो नसकिँदो ।
शुरुका महिना त कुनै भाषा नबुझेर चुपचाप काम गथ्र्यो, तर विस्तारै पोर्चुगाली भाषा बोल्न सिक्यो । व्यवहारमा मिजासिलो भएकाले मालिकहरू उसलाई मन पराउँथे । एउटै रूममा ४ जना बस्थे, खाना साझेदारीमा, जीवन चलिरहेको थियो – कष्टकर, तर गतिशील ।
सहरको खर्च र थकाइले थिच्न थालेपछि समरले पोर्चुगलकै एक ग्रामीण क्षेत्रमा कृषि काम गर्न थाल्यो । अंगुरको बारी, जैतुनको खेत र आलु खेती – हरेक सिजनको काम सिक्यो । कामको बदलामा घर पनि कम्पनीले दिएकै थियो, सस्तो जीवन सुरु भयो । बिस्तारै केही रकम जम्मा भयो ।
त्यही बेला नेपाल आएर तनहुँकी निर्मला पौडेलसँग बिहे गर्यो । केही समयपछि उसले श्रीमतीलाई पनि पोर्चुगल बोलायो । सुरुमा सहरमा भए पनि, निर्मला गाउँमै बसेर स्थानीय काममा लागेकी थिई । काम, भाषा र वातावरणमा घुलमिल हुन केही समय लाग्यो, तर उनी पनि रमाउन थालिन् ।
केही वर्षपछि, छोरी जन्मिइन् । नाम राखे— सञ्जिवनी । सञ्जिवनीको जन्मसँगै समरको जीवनमा नयाँ उज्यालो छायो । उनीहरू केही समयसँगै बस्न पाए पनि, निर्मला पछि बच्चा लिएर नेपाल फर्किई । बाबु भने आफ्नै संघर्षमा अडिग ।
कहिले घर सम्झिँदै त कहिले जीवन बनाउने सपना बोक्दै समरले अन्ततः पोर्चुगलको नागरिकता पायो । त्यो नागरिकता उसलाई ‘युरोपियन युनियन’ भित्र स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्ने अधिकार बनेर आयो ।
“अब त केही राम्रो गर्नुपर्छ”, सोच्यो ऊ । केही समयपछि ऊ डेनमार्क लाग्यो । त्यहाँ कमाइ राम्रो थियो – घन्टाको १८ युरो । तर, काम कठिन । जाडोमा घर निर्माणको काम, छतको छेउमा उभिएर कन्क्रिट हाल्नु, झ्याल झिक्नु – शरीरले भ्याएन । दुई महिना टिक्यो, तेस्रो महिनामा नै फर्कियो ।
अन्ततः बेल्जियम आइपुग्यो । अहिले ऊ ब्रसेल्स नजिकैको सानो सहरमा बस्छ । होटलको किचनमा काम गर्छ – कहिले बिहान, कहिले रात । भाषा नयाँ, तर सिक्ने बानीले उसलाई सधैं अगाडि बढायो ।
काम गरेको छ, घोटिएको छ, सपना बुनेको छ, सँगै हैरानी पनि बोकिरहेको छ ।
गाउँको सम्झना
एक साँझ ऊ कामबाट थाकेर फर्कियो । भान्सामा बस्दा नेपाली गित बज्यो – “म त घर जान्छु आज...”
एक्कासि उसका आँखा रसाए । किचनको कुर्सीमा बसेर साथी रमेशलाई कल गर्यो ।
“रमेश दाइ, म पनि गाउँ फर्किऊँ कि ?”
रमेशको आवाज आयो, “के भयो ? यत्रो वर्षपछि फेरि गाउँ सम्झिएको ?”
“सबै थल्थली लाग्छ दाइ । छोरो ठुलो हुँदैछ, सिता घरमा एक्लिएकी छे । यहाँ त पैसा हुन्छ, तर आत्मा छैन ।”
“फर्क र भनेको होइन समर, तर ठोस योजना बनाएर फर्क । यत्रो दुःख बेकार नजाओस् ।”
समर चुप लाग्यो । उसको मनमा बेल्जियमको तलब, पोर्चुगलको पासपोर्ट, र नेपालको घर एकसाथ तरंगिन थाले ।
बेल्जियमको त्यो जुनको साँझ, आकाश गड्याङ्गुडुङ् गरिरहेथ्यो । पानी झरिरहेको थियो, तर समरको मनभित्रको सुनसान झन् बढी गहिरिएको थियो । उसले काम सकेर थाकेको शरीर तान्दै सानो कोठामा पुग्यो । कपडा फेरेपछि मोबाइल चलायो— नेपालबाट छोरी सञ्जिवनीको भिडियो म्यासेज आएको रहेछ ।
“बाबा, हाम्ले गाई ल्याएका छौं ! आज म दुध दुहेरै स्कुल ग’को !”
त्यो सुन्यो, मुस्कान झुल्कियो, तर आँखाबाट आँसु खस्यो । छोरी हुर्किँदैछ— आफू नभएको परिवेशमा । सञ्जिवनी का पहिलो पाइला, पहिलो बोली, सबै सम्झना उनले फोनको स्क्रिनमा मात्र देखेका थिए ।
“म कुन किसिमको बुबा हुँ ?” उसले मनमनै सोध्यो ।
उसको कोठाको झ्यालबाट टाढा एलईडी बत्तिहरू टल्किरहेका थिए । तर, त्यो प्रकाश समरको मन उज्यालो पार्न सकिरहेको थिएन । बेल्जियमले उसलाई काम दिएको थियो, पैसा दिएको थियो, पासपोर्टले अधिकार दिएको थियो— तर शान्ति कहाँ थियो त ?
हातमा कफीको मग समातेर ऊ कुर्सीमा बस्यो । एउटा पुरानो फोल्डर खोलेर सिता र आफूले पोर्चुगलको गाउँमा लिएको पहिलो घरको फोटो हेर्यो— माटोको सुगन्ध जस्तो अनुभूति भयो । अनि अर्को फोटो— नेपालको घर, आमाको निधारमा रातो टीका, भित्तामा रेखा भित्र्याएको चित्र, अनि बाल्यकालको ढिकी–जाँतो ।
“यत्रो वर्ष मैले के कमाएँ ? यूरोको थुप्रो कि सम्झनाको भारी ?”
फोन झिक्यो । फेरि रमेशलाई कल गर्यो ।
“दाइ, मलाई एकछिन लाग्छ— जस्तो लाग्छ, युरोपमा बसेर म आफैंलाई हराउँदैछु ।”
“तँ फर्क समर । यहाँ माटो जस्तै केही छैन । अझै ढिलो भइसकेको छैन ।”
तर समर चुपचाप थियो । मन दोधारमा, आँखा टोलाउँदो, हृदय भारी ।
भोलि बिहान ऊ फेरि उठ्नेछ— काममा जानेछ, मुस्कान देखाउनेछ । तर, उसको मन... त्यो त सधैं भुइँमान्छे भएर, कुनै खोँचमा फसेको चराजस्तै पखेटा फडफडाइरहनेछ— म फर्किऊँ कि नफर्किऊँ ?
यही प्रश्न, यही व्यथा, उसको जीवनको स्थायी सङ्गीत बनेको छ ।