–रसुवाली कवि
यात्रा मानव जातिको प्रागैतिहासिक विशेषता हो । कतिपय समाज इतिहासकारहरूले घुमन्ते युगको कुरा पनि गरेका छन् । मानिसहरू आहारको खोजीमा डुल्दै हिँड्थे । नयाँ ठाउँमा पुग्थे । आगो भेटिनुअघि नै मानिसहरूले यात्रालाई जानिसकेका थिए । गतिशीलता र घुमन्ते सोचले नै मानव सभ्यता प्रगतिशील भएको हो ।
मलाई लाग्छ गतिशीलता मानिसबाहेकका जीवहरूमा पनि हुन्छ । अरू जीवभन्दा मानव जाति धेरै गतिशील छ । आहाराको खोजी गर्दै, चिसो छल्न हजारौँ किलोमिटर उडिरहेका चराहरूलाई हामी उदाहरणका रूपमा लिन सक्छौँ । उडानको लय चराहरूसँग हुन्छ । यो दुनियाँमा चरा जति स्वतन्त्र अरू कुनै जीव छैनन् जस्तो लाग्छ मलाई त ।
प्रसिद्ध नियात्राकार जीवा लामिछाने आधुनिक युगका घुमन्ते हुन् । जीवा यस्ता घुमन्ते हुन् जो आफू घुमेको ठाउँको इतिहास, संस्कृति, जनजीवन, आर्थिक प्रणाली र इतिहासका विविध पक्षहरूलाई पर्गेल्दै उत्कृष्ट शैलीमा त्यस ठाउँबारे निबन्ध लेख्छन् । यस्तो लाग्छ जीवा नियात्राकारभन्दा धेरै यात्रा निबन्धकार हुन् ।
सबै घुमन्तेहरूले लेख्न सक्दैनन् । लेखे पनि नियात्रा यात्रा विवरण बन्न सक्छ । जीवा लामिछाने आफ्नो मौलिक शैलीसहित नेपाली नियात्रा साहित्यमा उपस्थिति जनाइरहेका सशक्त लेखक हुन् ।
मसँग यतिखेर जीवा लामिछानेको नियात्रा संग्रह सरसर्ती संसार रहेको छ । केही वर्षअगाडि मैले सरसर्ती संसारलाई सरसर्ती पढेको थिएँ । आफूलाई लागेको कुरा कतै लेखेजस्तो पनि लाग्छ । हालै मैले यस संग्रहलाई दोहो¥याएँ । सरसर्ती संसार दोस्रोपल्ट पढ्दा संसारका अनेकौँ देशको विशेषतालाई बुझ्न सकेँ । निबन्ध पढेको जस्तो लागिरह्यो ।
मलाई असाध्यै छोएको नियात्रा थियो– कोरियाको राप र ताप । सन् २०१३ मा जीवा कोरिया पुगेका रहेछन् । सन् १९९६ ताका एसियामा सुरु भएको आर्थिक संकटलाई सामना गर्दै आफूसँग भएको सुनचाँदीसमेत सरकारलाई बुझाएका रहेछन् दक्षिण कोरियाका नागरिकले । त्यो हदको राष्ट्र प्रेम अनि कठोर मेहनतले आजको कोरिया बनेको कुरालाई बडो मार्मिक ढङ्गले लेखेका छन् जीवाले । थुप्रै देशहरूका रोचक तथ्य, इतिहास, परिवेश अनि बदलिँदो चेतनाको सन्दर्भ यस संग्रहका नियात्रामा अटाएका छन् ।
कुल २९ थान नियात्रामा विश्वका अनेकौँ देशका कथा व्यथाहरू समेटिएका छन् । यी नियात्राहरूले बदलिँदो विश्वको तस्बिरलाई देखाउने प्रयास गरेका छन् ।
जहाँ पुगे पनि मानिसले आफ्नो जन्मभूमिलाई कदापि बिर्सन सक्दैन । हाम्रो मुलुक यस्तै भइदिए हुन्थ्यो भन्ने भावना नियात्राकारमा प्रबल रूपमा अभिव्यक्त भएको छ । राजनीतिक स्थिरतासँगै शासन सत्तामा रहनेहरूले देख्ने सपना अनि उनीहरूमा इमानको कतिसम्म खाँचो छ, हामी नियात्रा पढ्दा अनुभूत गर्न सक्छौँ । नियात्राकारले आफ्नो अतिरिक्त धारणा नराखी सम्बन्धित ठाउँको परिवेशमार्फत सन्दर्भलाई बुझाउने प्रयास गरेका छन् । एउटा असल लेखकले गर्ने भनेकै यस्तै काम हो ।
नियात्रामा कतै चोरहरूका प्रसंग आएका छन् । एउटा नियात्राको शीर्षक नै छ– फरक चोर फरक दाउ । स्विट्जरल्यान्डको रेल्वे स्टेसनमा भएको चोरी घटनालाई जोड्दै रोचक नियात्रा तयार भएको छ । भारतको कुख्यात ठग नटवरलालका नाममा सिनेमा बने । यी सिनेमाहरू भारतको सिनेमा उद्योगमा चर्चित पनि बने । नटवरलालले सिनेमामा आफ्नो नाम प्रयोग भएको भन्दै रोयल्टी लिएको कुरा नियात्राकारले उदाहरण पेस गरेका छन् । उदाहरणलाई टेक्सको मर्मअनुसार पेस गर्न सक्नु जीवाको विशेषता हो ।
नियात्राकार कतै समुद्री तटमा परिवारसहित रमाएका छन्, कतै पुराना सहर घुमिरहेका छन् । कतै पहाडमा पुगेका छन् । कतै उष्ण गर्मीमा । नियात्राकारले आफू पुगेको परिवेशलाई रोचक शब्द र शैलीमा व्यक्त गरेका छन् ।
‘हिउँदमा ती पहाडहरू सेताम्मे हिउँले ढाकिन्छन् । अझ त्यहाँ घामको प्रकाश पर्दा त आफूले पहाडलाई होइन, पहाडले आफूलाई हेरेजस्तो लाग्छ । पहाडमाथि उभिएर त्यहाँका सहरहरू हेर्दा फुल्चोकीको टुप्पाबाट काठमाडौँ उपत्यका हेरेजस्तो आभास हुन्छ ।’
(सरसर्ती संसार, स्विट्जरल्यान्ड सपना, पृष्ठ १५३)
स्विट्जरल्यान्ड पुगेपछि त्यहाँको परिवेशलाई नियाल्दै जीवाले लेखेका हरफहरू हुन् यी । काव्यिक र निबन्धात्मक शैलीले पाठकहरूलाई तानिरहेको हुन्छ । काव्य र निबन्धको मेल सशक्त ढङ्गले भएको छ यस संग्रहका नियात्राहरूलाई । प्रत्येक नियात्रामा बेग्लै परिवेश छ ।
पछिल्लो समय नेपाली साहित्यमा पर्यावरण संरक्षणको मुद्दा पनि अटाउन थालेको छ । जीवा लामिछानेले नियात्रामार्फत इतिहास, संस्कृति, कलाकौशल, पुरातत्व अनि पर्यावरणको संरक्षणको सवाल पनि उठाएका छन् । एउटा सचेत लेखकले विज्ञानको विकाससँगै जलवायु परिवर्तनको सवाललाई उठाउनु महत्वपूर्ण कुरा हो ।
बाल्यकालको स्मृतिले मानिसको जीवनलाई पछ्याइरहेको हुन्छ । बाल्यकालसँगै जोडिएको एउटा अध्याय छ– ठोरीको जन्तदेखि ताज महलसम्म । चितवनको भीमोदय निम्न माध्यमिक विद्यालयमा पढ्दा उनी भारत पुगेका रहेछन् । सीमाको देश भारतबारे नेपाली समाजमा जुन भाष्य छ, त्यो भाष्य बोकेरै नै उनी भारत पुगे ।
‘आमाले भन्नुभएको थियो, त्यहाँ पाकेट मार्छन् रे ! जोगिएर हिँडुन् । जोकसैले दिएको नखानू । पाकेटमा पाँच रुपैयाँभन्दा बढी थिएन । तैपनि पाकेटमारको त्रासले पटक पटक आफ्नो खल्ती छामिरहेँ । त्यो बेला मेरा लागि पाँच रुपैयाँ बहुमूल्य थियो । त्यही पाँच रुपैयाँले किनेका केही प्याकेट चकलेटले घरगाउँमा विदेशमा घुमेर आएको परिचय दिएको थियो ।’
(सरसर्ती संसार, ठोरीको जन्तदेखि ताज महलसम्म)
चितवनका जीवा अहिले ताज महलभन्दा हजारौँ माइल परको यात्रा गर्छन् । हवाईजहाजमा घन्टौँ यात्रा गर्छन् । जहाजमा पनि कुनै विश्व प्रसिद्ध सिनेमा हेर्छन् । कतिपय किताबसमेत उनले विमानमा बसेर पढेका छन् । समयसँगै उनी धेरै देश घुम्ने थोरै नेपालीमा पर्ने भइसके । तर आमाले बनाएको अचारको स्वाद, चितवनमा भोगेको गर्मी, काठमाडौँमा भेटेको साथी अनि नेपाली साहित्यलाई उनी न्यानो र अद्भुत प्रेम गरिरहेका छन् । आमाले चितवनमै हुँदा सिकाएको जीवनदर्शन अहिले पनि जीवा बोकेर हिँडिरहेका छन् । साथीहरूसँग सिकेको ख्यालठट्टा गर्ने तरिका फेरिएको छैन ।
मेरो जीवनमा घटेको सानो प्रसंग यहाँ उल्लेख गर्नु मनासिब होला । कक्षा ७ मा पढ्दै गर्दा साथी हरिशरण लामिछाने र काठमाडौँ आएका थियौँ । एउटा राजनीतिक दलको कार्यक्रम थियो । काठमाडौँमा हामी छलियौँ । मैले ख्याल गरेको थिएँ जंगल भएको ठाउँबाट रसुवा–नुवाकोट जाने गाडी लाग्छ । त्यो जंगल रानीवन हो । हामी बल्लतल्ल रानीवन सोध्दै माछापोखरी आयौँ र गाडी पायौँ । अहिले पनि मलाई काठमाडौँ भनेपछि रानीवनको याद आउँछ ।
जीवा गैर आवासीय नेपाली हुन् । नेपालमा पनि उनको व्यवसाय रहेको छ । उनी जहाँ पुगे पनि नेपालीपन छोड्न सक्दैनन् । उनको रगतमा नै नेपालीपन रहेको छ, नेपाली भावना रहेको छ । सपना देख्ने तरिकामा पनि नेपालीत्व झल्किन्छ उनको ।
बर्मा गए नि कर्मसँगै शीर्षक निबन्धमा तीन पुस्ताअगाडि बर्मा पुगेका नेपालीले जीवालाई भेट्दा दर्साएको आत्मीयताको प्रसंग छ । नेपाली साहित्यमा अहिले डायस्पोराले महत्वपूर्ण स्थान बनाएको छ । त्यो क्षणलाई डायस्पोरा साहित्यका रूपमा लेख्न सकिन्छ । ती नेपाली महिलाले नेपालबाट आएका प्रत्येकलाई आफ्नो देख्नु साँच्चिकै उच्च मानवीय गुण हो । केही मौलिक गुण हरेक मानिसमा हुन्छ । थाकथलो कहाँ बिर्सन सक्छ र मान्छे ? डायस्पोराको चेतनालाई साहित्यमा लेख्न सक्नुलाई म महत्वपूर्ण मान्छु ।
बर्मामा बोलिने भाषाले जीवालाई बहुत छोएको देखिन्छ । आर्य संस्कृतिमा आधारित जीवनशैली उनलाई खास लाग्छ । उनले केही वाक्य टिपोट गरेका छन्– जस्तो म भरे फर्कँदा यहाँको घरमा एक छिन घुस्छु ल । मध्य नेपालमा बोलिने नेपालीभन्दा फरक भएकाले जीवालाई यो लवज खास लाग्छ ।
सिक्किम, दार्जिलिङ हुँदै बर्मासम्म पुगेको खस–पूर्वेली भाषिक लवज चितवनमा बोलिने लवजभन्दा फरक भए पनि आखिर नेपाली भावना उही छ– निश्चल, चोखो र जीवन्त ।
नेपालीहरू भौतिक सम्पत्तिको हिसाबले कमजोर भए पनि मनको हिसाबले फराकिला छन् । नेपालीहरूले इमानलाई आफ्नो सम्पत्तिका रूपमा लिन सक्छौँ । हामीले फेर्नुपर्ने एउटा गुण छ, फराकिला सपनाहरू देख्न नसक्ने गुण ।
मैले यो नियात्रा संग्रह पढ्दै गर्दा महसुस गरेँ– यो एउटा नेपालीले विश्व भ्रमण सिलसिलामा महसुस गरेको भावनाको शाब्दिक अभिव्यक्ति हो, जुन अभिव्यक्ति नेपाली गाउँमा पाक्ने दालभात, तरकारी, अचारजस्तो स्वादिलो छ । सरसर्ती संसार नियात्रा संग्रह सबै साहित्य अनुरागीहरूले पढुन् । अझ सपना देख्नबाट टाढा पुगिरहेका राजनीतिक नेतृत्वले पनि पढुन् ।