–कुञ्ज देवी उपाध्याय
असममा बसोबास गर्ने टाइ आहोम र आदिवासीहरूको खाद्य तालिकामा समावेश गरिने एउटा कमिलाको प्रजाति हो ब्याँगे । आफ्नो शरीरबाट सृष्टि गरेको एक प्रकारको चोपले हरिया र सुकेका पात पोको पारेर यसले घर बनाएर वंश बिस्तार गर्छ । साना मसिना किरालाई आहार गरी आफ्नो सानो पेट भर्नुको साथै, मान्छेको ठुलो उपकार गर्छ यो कमिलो ।
मनमाया एक्लै घाम तापेर बसिरहेकी छिन् । वैशाख महिना भए पनि निकै दिनदेखि झरी परिरहेकोले र साथमा हावा चलिरहेको हुनाले वातावरण चिसो छ । मनमाया रोग लागेर निकै कमजोर पनि छन् । आज घाम लागेको देखेर आँगनमा कुर्सी लिएर बसिरहेकी छिन् उनी । लामो लस्कर उनको छेवैबाट गइरहन्छ । सायद अर्कातिर बसाइँ सरेका होलान् ! मनमाया मनमा ठान्छिन्, कति परिकल्पित जीवन शैली ब्याँगेको ! कोही कसैलाई ठेलाठेल नगरीकन गइरहेका छन् । राजाका पछि सिपाही जस्तै ।
मान्छे भए तँछाडमछाड गर्दै कति घाइते हुने थिए होला ! उनी उठेर त्यो लस्कर कता गएको रहेछ भनेर बगैँचातिर लाग्छिन् । आज किन हो कुन्नि यिनीहरू बारे जान्ने उत्सुकता पैदा हुन्छ उनको मनमा । एउटा सानो टोटेलाको बिरुवामा र निबुवाको पातमा पोको बनाइरहेका थिए त्यतिखेर ।
उनलाई ढुक्क लाग्यो निरापद् स्थान रोजेर बसेको देख्दा । हिजै त हो यिनीहरूको लागि मान्छेसँग प्रतिवाद गर्नु परेको ।
वैशाख बीउ असमको एउटा मुख्य चाड हो । यो समय ऋतु परिवर्तनको समय हो । रूख नयाँ पातले सजिएर रमाइलो वातावरण हुन्छ प्रकृतिमा । असम राज्यमा बीउ उत्सव मनाउन क्रममा भिन्न प्रकारका चिजहरू खाने गरिन्छ । पहिलो बीउ अर्थात् वैशाख १ गते १ सय जातका साग सब्जी मिसाई तरकारी खाने चलन छ । त्यसरी खाएमा शरीरमा रोग लाग्दैन भन्ने परम्परालाई मानेर आएको हुनुपर्छ !
यही समयमा कतिपय जनजातिले ब्याँगेका फूल र बच्चा भुटेर खाने गर्छन् । उनीहरूबिच एउटा विश्वास फैलिएको छ कि त्यो समयमा ब्याँगे खाए गम्भीर खालका रोगबाट पनि मुक्त होइन्छ । त्यसैले त आँपको बोटमा बसेको कमिलाको गुँड माग्ने मान्छेको धुइरो लागेको थियो ।
कतिलाई बुझाइन, यो अन्धविश्वास मात्र हो भनेर । कतिलाई केवल दिन्न भनेरै पठाइन् । यसरी धेरै जीव पृथ्वीबाट हराउँदै गएको देखेकी छिन्, मनमायाले । अघिका खरका छानामाथि खोस्रिन दुलो पारि बस्ने भँगेरो ठुला–ठुला घर बनिने साथ वासस्थान मेटिएर हराउँदै गएको यिनै आँखाले देखिरहेका छन् ।
बोडी, चटेला (भातेकरेला) जस्ता बर्खे सब्जीमा ब्याँगे घुमी हिँड्न पाए भने मसिना किरा कमिला खाइदिन्छन् । रासायनिक औषधी प्रयोग नगरीकन स्वास्थ्यवद्र्धक खान मिल्छ । प्रकृतिका हरेक चिज हामीले जानी नजानी हाम्रो निकै ठुलो उपकार गरिरहेका छन् । दुर्भाग्यपूर्ण कुरा के भने हामी अज्ञानतावशः आफ्नै हातले विपत्तिलाई निम्ता दिन्छौँ ।
उनी अलिक अघि बढेर जान्छिन् । २/४ दिन भयो उनका गोडा दुख्ने बिमार भएको । धेरैले भन्छन् गोडा दुखेको वर्ष दिन भयो, फलानो डाक्टर देखाएँ, राम्रो भएको छैन भन्दै । उनलाई मनमा डर पसेको छ, कतै ऊ पनि त्यस्तै हुनुपर्छ कि भनेर ! उपचारको लागि कता जाने हो भन्ने सोचेर त्यतै उभिएर सोचिरहन्छिन् ।
उनको उपस्थितिले डराएछ होला गोडामा निकै ब्याँगे चढेछन् आक्रमण गर्न । बिचरा आफ्नै विश्वासमा बाँचेको जीव । हार मान्दैन । बरु मर्छ तर ठुलो देखेर आक्रमण गर्न पछि हट्दैन । के हो भनेर हात अघि बढ्छ र फ्याँक्न लाग्दा जताततै चिल्छ ब्याँगेले । ऊ घर भित्रतिर लाग्छिन् । अनजान जङ्गली जीव, जति माया गरे पनि बुझ्दैन ! मज्जाले टोकेछ भन्दै नरिवल तेल गोडामा दलेर विश्राम गर्छिन् ।
भोलिपल्ट अचम्मको अनुभव हुन्छ शरीरमा । कतै पनि दुखेको छैन आज ! ज्यान पनि हल्का लाग्छ । अनुभवी मनमाया आफैँमा रमाउँछिन् । गजबको कुरालाई छोरीसँग सेयर गर्छिन्, ‘ब्याँगे त प्राकृतिक डाक्टर पो रहेछ !’
हिजो अस्ति एउटा काग आएर यिनीहरूको गुँडछेउ बसेको देखेकी थिइन् उनले । परेवाका बच्चा लिन आएको होला भनेर खेदिन् ।
पछि गुगलबाट थाहा भयो काग बिमार भएपछि त्यसरी आएर ब्याँगे छेउ बसेर पखेटा फिँजाइ दिन्छ अरे । के टोकेर छोड्दा फरमिक एसिड स्प्रे हुने र साना–साना ब्याक्टेरिया खाइदिनाले काग स्वस्थ हुने कुराको जानकारी पाइन्छ । यसरी अरू पनि धेरै पंक्षी त्यसरी टोकाउने गर्छन् रे ! कति रोचक कुरा !
मनमायालाई छिमेकी नभए पनि अञ्जलीको पतिको याद आयो । बिचरा हिँड्नै सक्दैनन् । भनिदिऊँ भने उनैलाई पागल भई भन्लान् ! भलाइको जमाना कहाँ छ र हिजोआज! अर्काको हाँ मा हाँ मिलाउनुपर्छ । नत्र एक्लो होइन्छ ।
अघिका मान्छेले त्यसै भनेका होइनन्, एक्लो बृहस्पति झुटो भनेर ! तर यो कुरो प्रचार त गर्नै पर्छ । नत्र कतिपय मान्छेले जिब्रोको स्वादको लागि यिनीहरूको वंश खतम पार्दछन् ।
कथा लेख्ने विचार गर्छिन् उनी, तर कसरी लेख्ने ? कहाँबाट सुरु गर्ने, कसैले पढ्छ कि पढ्दैन होला भन्ने चिन्ताले उनको कलम रोकिन्छ । फेरि अर्को मनले ठान्छिन् लेख्नुपर्छ । ठुला ठालुले नपढे पनि सानातिना ऊ जस्ताले निश्चित रूपमा पढ्छन् । कसैको उपकार हुन्छ भने होस्, नभए खाँचैसित ।
प्रकृतिको सन्तुलनलाई संरक्षण गर्न सबैले कोसिस गर्नुपर्छ, तर केवल किरा र जीवको विकास भएर सन्तुलन रक्षा हुने हो र ? पहिला त मानव सभ्यताको सुरक्षा हुनु अत्यन्त जरुरी छ ।