२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

जुम्लाको हिमा कर्णाली प्रदेशको पहिलो बालविवाहमुक्त गाउँपालिका

दिलमाया शाही
२०८२ जेठ १२ गते १२:२८
जुम्लाको हिमा कर्णाली प्रदेशको पहिलो बालविवाहमुक्त गाउँपालिका

जुम्ला : जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिएको छ । 'बिहेवारी २० वर्ष पारि' भन्ने नारासहित आइतबार एक औपचारिक कार्यक्रममार्फत हिमा गाउँपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिएको हो ।

संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले सो कार्यक्रममा हिमा गाउँपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् ।

हिमा गाउँपालिकाले भौतिक पूर्वाधारभन्दा मानव विकासलाई प्राथमिकता दिने उद्देश्यले केही वर्षदेखि बालविवाहविरुद्ध अभियान सञ्चालन गर्दै आएको थियो । सातवटै वडाहरूलाई बालविवाहमुक्त घोषणा गरिसकेपछि पूरा गाउँपालिका स्तरमै यो उपलब्धि हासिल गरिएको हो ।

यस अभियानमा क्याड नेपाल, पेस नेपाल, प्लान नेपाल, सर्वोदय नेपाल लगायतका संस्थाहरूको सहकार्य तथा स्थानीय समुदायको सहभागिता रहेको थियो ।

गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख राज्यलक्ष्मी रावलद्वारा प्रस्तुत प्रतिवेदन अनुसार, हिमा गाउँपालिका नेपाल सरकारको बालविवाह न्यूनीकरण राष्ट्रिय रणनीति, २०७२ तथा बालविवाहमुक्त सर्वेक्षण तथा रणनीति, २०७९ अनुसार बालविवाहमुक्त घोषणा गरिएको हो । विगतमा यो क्षेत्र बालविवाहको दृष्टिले चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कुल १३२ जोडीले विवाह गरेका थिए, जसमा सबै जनाले उमेर पुगेपछि मात्र विवाह गरेका छन् ।

कर्णालीको पहिलो बालविवाहमुक्त गाउँपालिका

पेस नेपालको सहयोग र गाउँपालिकाको सशक्त समन्वयमा हिमा गाउँपालिका कर्णाली प्रदेशकै पहिलो बालविवाहमुक्त गाउँपालिका बन्न सफल भएको छ ।

मन्त्री शाहले हिमा गाउँपालिकाको यो कदम ऐतिहासिक र प्रेरणादायी भएको बताउँदै हिमाले देखाएको मार्गले कर्णालीको सामाजिक रूपान्तरणमा नयाँ पहिचान दिलाउने बताए ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बालविवाह जस्तो सामाजिक विकृतिको अन्त्यलाई मानवीय जीवनसँग जोडिएको गम्भीर विषयका रूपमा लिएर उच्च प्राथमिकता दिएको बताए । उनले भने, 'बालविवाह अन्त्य हुनु भनेको समाज सुदृढ हुनु हो । यस अभियानले किशोरीहरूको शिक्षा, स्वास्थ्य र रोजगारमा सुधार ल्याउने लक्ष्य लिएको छ ।'

सचेतनामूलक अभियानहरू र मापदण्डको पालन

अभियानअन्तर्गत सडक नाटक, देउडा कार्यक्रम लगायतका चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए । गाउँपालिकाले बाल संरक्षण नीति लागू, बालविवाहमुक्त अभियान निर्देशिका, बाल अधिकार संरक्षण समिति गठन (पालिका, वडा र विद्यालय तहमा) जस्ता सम्पूर्ण मापदण्डहरू पूरा गरेको छ ।

कार्यक्रममा सहभागीहरूले कर्णाली अब पछाडि परेको तता दण्डित प्रदेश नभइ संभावनायुक्त, अग्रसर र परिवर्तनशील प्रदेशका रूपमा अघि बढिरहेको उल्लेख गरे । हिमा गाउँपालिकाले यस अभियानमा संलग्न सबै निकाय र स्थानीयलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

ADV

सम्बन्धित खबर