अर्घाखाँची : जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न प्रहरी एक्लैले मात्र सम्भव नहुने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा वरिष्ठ पत्रकारहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उनले प्रहरी र स्थानीय समुदाय, संघ–संस्था, आमा समूह, विभिन्न क्लब, विद्यालय तथा स्थानीय तहसँगको समन्वय र सहकार्यबाट जिल्ला प्रहरी सफल बनेको उल्लेख गरे ।
डिएसपी मल्लका अनुसार, अर्घाखाँची प्रहरीले सञ्चालन गरेका विभिन्न सचेतनामूलक कार्यक्रम तथा जनचेतना अभिवृद्धि गर्ने गतिविधिमा सर्वसाधारण, सरोकारवाला र समुदायको सक्रिय सहभागिता रहेको छ । उनले भने, ‘समाजमा हुने जुनसुकै घटनाको जानकारी तुरुन्त प्रहरीले पाउन सकेमा अपराध अनुसन्धानमा सहजता हुन्छ । यसका लागि समुदाय र प्रहरीबीच सहकार्य अत्यावश्यक छ ।’
उनले हालै बिमा दाबीका लागि नक्कली चालक देखाइ ठगी प्रयास गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरिएको जानकारी पनि दिए । उनका अनुसार, पाणिनी गाउँपालिका–१ बड्डाँडाका टुकबहादुर शारु आफ्नै नाममा रहेको मधेश प्रदेश ०३–००२ स ००२ नम्बरको टेम्पो दुर्घटना भएपछि बिमा दाबी गर्न जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा झुटो कागजात पेश गरेका थिए ।
अनुसन्धानका क्रममा टेम्पो चलाउने चालकसँग अनुमतिपत्र (लाइसेन्स) नरहेको पाइएको र सोही आधारमा शारुलाई पक्राउ गरिएको मल्लले बताए । उनले घटनासँग सम्बन्धित अर्का व्यक्ति, पाणिनी–२ पोखराथोकका चामबहादुर रास्कोटीलाई चालक देखाइ कागजात पेश गरिएको पाइएको भन्दै हाल उनलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।
डिएसपी मल्लले जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीमा दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयासहरू गरिरहेको जानकारीसमेत दिए । ती प्रयासहरू अन्तर्गत सडक छेउमा होडिङ बोर्ड राख्ने, ऐनाहरू जडान गर्ने, चालक–सहचालकहरूको निःशुल्क स्वास्थ्य तथा दृष्टि परीक्षण गर्ने, विद्यालय तथा क्याम्पसहरूमा दुर्घटना न्यूनीकरणसम्बन्धी कक्षा सञ्चालन गर्ने कार्यक्रम अघि सारिएको उनको भनाइ थियो ।