२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

बाढीले क्षति पुर्‍याएको रोशी अस्पताल पुनर्निर्माण

shivam cement
मध्यान्ह
२०८२ जेठ १५ गते १२:१२
बाढीले क्षति पुर्‍याएको रोशी अस्पताल पुनर्निर्माण

काभ्रेपलाञ्चोक : यहाँको रोशी गाउँपालिकामा गतसाल असोजको बाढीले बगाएकोे दस श्ययाको रोशी आधारभूत अस्पताललाई हाल पाँच श्ययाको अस्पताल पुनर्निर्माण गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को आर्थिक सहयोगमा निर्माण भएको उक्त संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत रोशी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । 

नवनिर्मित संरचनासहित औषधिलगायतका सामाग्री पनि डब्लुएचओले सहयोग गरेको हो । संघीय सरकारको रु ६ करोड पाँच लाख २४ हजार बजेटद्वारा रोशी–१ मा निर्माण अन्तिम चरणमा पुगेको दश श्ययाको आधारभूत अस्पताल भवन बाढीले बगाएको थियो । त्यसयता ‘टेन्ट’बाट सेवा प्रदान गर्दै आइएको थियो । 

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हाल अस्थायी रुपमा अस्पताल निर्माणका साथै स्वास्थ्य सामग्रीसमेत प्रदान गरेकामा आभार प्रकट गरेका छन् । उनका अनुसार उक्त अस्पतालले गाउँपालिकाको वडा नं. १, २, ३ र ४ का साथै छिमेकी नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने छन् । अध्यक्ष लामाले १० श्ययाको अर्को सुविधायुक्त अस्पताल निर्माणका लागि सम्बन्धित निकायमा प्रक्रिया थालिने बताए । डब्लुएचओका नेपाल प्रतिनिधि डा राजेश सम्भाजी रावपाण्डबले नेपालको स्वास्थ्य क्षेत्रमा संस्थाले सहयोग गरिरहेको र आगामी दिनमा पनि नेपाल सरकारसँग साझेदारी गर्दै अगाडी बढ्ने बताए । 

बढीपहिरोले गाउँपालिकामा निर्माण सम्पन्न भएका अस्पतालसहित तीन ठूला ‘गौरव’का आयोजना पूर्णरुपमा क्षति पुगेको थियो । बाढीपहिरोले रोशी–११ स्थित कालढुंगामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने रु १४ करोडको लागतमा निर्माण भएको ‘डम्फु जीवन्त संग्रहालय’सहितको ९ डायमिटरको डम्फु, संग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैंचा रोशी खोलाले बगाएको थियो  संग्रहालय हाताभित्र करिब रु दुई करोडमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको थियो ।

बाढीपहिरोमा परी उक्त गाउँपालिकामा छ महिला, तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भएको थियो भने चार सय ८२ घर पूर्णरुपमा तथा आठ सय ८३ घर आंशिक रुपमा क्षति पुगेको थियो । गाउँपालिका कार्यालयको तथ्यांकअनुसार बाढीपहिरोले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियो भने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise