लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक रेडियोलाई समाज रूपान्तरणको सशक्त माध्यम भएको बताएका छन् । सामुदायिक रेडियो प्रसारण संघ लुम्बिनी प्रदेशका प्रतिनिधिहरूसँगको छलफलका क्रममा मुख्यमन्त्री आचार्यले आम सञ्चारमाध्यमहरूको सशक्तीकरणमा प्रदेश सरकारको विशेष ध्यान रहेको स्पष्ट पारे ।
छलफलमा सामुदायिक रेडियो प्रसारण संघ लुम्बिनी प्रदेशका पदाधिकारीहरूले सामुदायिक रेडियोहरूको सुदृढीकरणका लागि प्रदेश सरकारबाट आवश्यक सहयोगको माग गरे ।
संघका अध्यक्ष नविन केसीका अनुसार सामुदायिक रेडियोकर्मीहरूको क्षमता अभिवृद्धिका साथै कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम १२ वटै जिल्लामा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ । साथै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चालित 'समृद्धिका पाइला' कार्यक्रमलाई ४८ अंकसम्म निरन्तर प्रसारण गर्न पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने माग राखिएको थियो ।
त्यस्तै, लुम्बिनी प्रदेश सभा सचिवालयले सञ्चालन गर्दै आएको 'प्रदेश सभा सेरोफेरो' कार्यक्रमलाई पनि १२ वटै जिल्लाका एफएम रेडियोमार्फत प्रसारण गर्न मिल्ने गरी बजेटको सुनिश्चितता गरिनुपर्ने माग गरिएको छ ।
संघले प्रदेश सरकार मातहतका कार्यालयहरूले सूचना तथा सञ्चार शीर्षकअन्तर्गतको बजेट स्थानीय रेडियोहरूमार्फत अनिवार्य रूपमा खर्च गर्नुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । साथै, सामुदायिक एफएम रेडियोहरूको उपकरण बीमा कार्यक्रम सञ्चालनका लागि समेत प्रदेश सरकारले पहल गर्नुपर्ने माग संघले राखेको छ ।