२०८२ जेठ १७ गते शनिवार / May 31 , 2025 , Saturday
२०८२ जेठ १७ गते शनिवार
Ads

रियादस्थित नेपाली राजदूतावासमा गणतन्त्र दिवस २०८२ भव्यताका साथ सम्पन्न

अन्जान गुभाजु
२०८२ जेठ १६ गते ०८:१७
रियादस्थित नेपाली राजदूतावासमा गणतन्त्र दिवस २०८२ भव्यताका साथ सम्पन्न

साउदी अरेबिया : रियादस्थित नेपाली राजदूतावासले गणतन्त्र दिवस २०८२ को अवसरमा एक विशेष समारोह आयोजना गर्दै राष्ट्रिय गौरव र लोकतान्त्रिक मूल्यमान्यतालाई उल्लासपूर्वक मनाएको छ ।

समारोहको सुरुवात नेपाली राष्ट्रिय गानबाट गरियो भने ज्ञात-अज्ञात शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले पानसमा दियो बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ, साउदी अरेबियामा क्रियाशील राजनीतिक दलका भातृ संगठनहरू, जातीय, सामाजिक, भौगोलिक तथा परोपकारी संस्थाका प्रतिनिधिहरू, नेपाली पत्रकार, राजदूतावासका कर्मचारीहरू र साउदीमा कार्यरत विभिन्न पेसाका झन्डै १३५ जना नेपालीहरूको उपस्थिति रहेको थियो ।

राजदूत ढकालको सम्बोधन र गणतन्त्रको महत्त्वमाथि प्रकाश
समारोहलाई सम्बोधन गर्दै राजदूत डा. ढकालले उपस्थित सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गणतन्त्र दिवसको शुभकामना व्यक्त गरे । उनले नेपालको गणतान्त्रिक यात्राबारे प्रकाश पार्दै वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएको ऐतिहासिक क्षणको स्मरण गराए । राजदूतले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको परिपाक भएको स्पष्ट पारे ।

राजदूत ढकालले नागरिक अधिकार, स्वतन्त्रता, समानता र न्याय प्राप्तिका लागि गरिएको संघर्षको सार लोकतान्त्रिक गणतन्त्रमा समेटिएको बताए । उनले अब कुनै विशेष कुल वा वंशको नभई जनताको निर्णयअनुसार नेतृत्व चयन हुने सर्वोत्तम प्रणाली नै लोकतान्त्रिक गणतन्त्र भएको धारणा राखे । साथै, गणतन्त्रलाई संस्थागत गर्न सबै पक्षले जिम्मेवारी बहन गर्नुपर्ने र अधिकारसँगै कर्तव्यलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रम सञ्चालन र अन्य उपस्थिति
कार्यक्रमको सञ्चालन प्रथम सचिव टोप नारायण गिरीले गरेका थिए भने श्रम काउन्सलर कविराज उप्रेतीले स्वागत मन्तव्य राखेका थिए । विभिन्न संघसंस्था तथा राजनीतिक प्रतिनिधिहरूले पनि शुभकामना व्यक्त गर्दै लोकतन्त्रका विविध पक्षबारे आफ्ना धारणा राखेका थिए ।

यसै अवसरमा बिहानै राजदूतावास परिसरमा झन्डोत्तोलन कार्यक्रम आयोजना गरिएको थियो, जहाँ राजदूतले लोकतान्त्रिक गणतन्त्रको महत्त्वबारे पुनः प्रकाश पार्दै शुभकामना व्यक्त गरे । गणतन्त्र दिवसको सम्मानमा राजदूतावास परिसरमा तीन दिनसम्म दीपावली (प्रकाश सजावट) गरिएको जानकारी पनि दिइएको छ।

ADV

सम्बन्धित खबर