काठमाडौं : द्वन्द्वपीडितहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई आफूहरूको पीडाको सम्बोधनका लागि अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेललाई शुक्रबार भेटेर ज्ञापनपत्र बुझाउँदै द्वन्द्वपीडितहरूको संघसंस्थाहरूका पदाधिकारी तथा सदस्यहरूले अभिभावकीय भूमिका निर्वाह गर्न उनलाई आग्रह गरेका हुन् ।
‘जनता, मानवअधिकार, लोकतन्त्र, कानूनी शासन र नागरिक स्वतन्त्रताको रक्षाका लागि संघर्ष गर्नुभएका एक परिपक्व राजनेताको हैसियतले हामी दृढ विश्वास गर्दछौँ कि तपाईं द्वन्द्वपीडितको पीडा सम्बोधनमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ, ‘स्वार्थका लागि पटक–पटक पीडा भागबन्डा गरिएको यो प्रक्रियालाई तपाईंको हस्तक्षेपले सुधार ल्याउनेछ भन्ने आशा लिएका छौँ । पटक–पटक स्वार्थका लागि पीडा भागबन्डा गरिएका कारण धोका दिइएका हामी पीडित समुदायलाई थप निराशाको स्थितिमा पुग्नबाट रोक्नुहुनेछ भन्ने अपेक्षा र विश्वास लिएका छौँ ।’
उनीहरूले पीडाको पुस्तान्तरण भइरहेको दुखेसो पनि पोखेका छन् । राजनीतिक कार्यकर्ताहरूको व्यवस्थापन भए पनि पीडितहरूको उचित व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै भनिएको छ, ‘देशमा तीन तहको सरकार बन्यो । पटक–पटक राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, र प्रदेश प्रमुख फेरिए । हजारौँ राजनीतिक कार्यकर्ताको व्यवस्थापन भयो । तर, सत्य, न्याय र परिपूरण अझै पनि अधुरै छ । पीडितको अवस्था फेरिएको छैन । बरु थप पीडा झेल्नु परिरहेको छ। पीडाको पुस्तान्तरण हुँदैछ ।’
राजनीतिक दलहरूको गैरजिम्मेवारी, संवेदनशीलताको अभाव र निष्क्रियताका कारण धेरै द्वन्द्वपीडितले उपचार नपाएर ज्यान गुमाउनु परिरहेको ज्ञापनपत्रमा उल्लेख छ । ‘अङ्गभङ्ग भएकाहरू सहयोग नपाएर पीडित भइरहेका छन् । बेपत्ता पारिएका आफन्तको सत्यतथ्य नपाएर काजकिरिया गर्न नसक्ने अवस्था आयो। हजारौँ पीडित मानसिक र मनोवैज्ञानिक पीडामा छन्,’ ज्ञापनत्रपमा उल्लेख छ ।