काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई पारित गर्न विपक्षी दलहरूले सहजीकरण गर्ने विश्वास लिएको छ ।
शुक्रबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो बताएका हुन् ।
उनले बिहीबारको संसद बैठकमा प्रस्तुतिलाई सहजीकरण गरेको भन्दै प्रतिपक्षी दलहरूलाई धन्यवाद दिए । उनले जेठ १५ मा बजेट ल्याउने संवैधानिक दायित्व रहेकाले उक्त दायित्व पूरा गर्ने विषयमा प्रतिपक्षी दलहरूले जिम्मेवारी बोध गरी सहजीकरण गरेको जिकिर गरे ।
उनले बजेटलाई पारित गर्नुपर्ने विषय पनि संवैधानिक दायित्वभित्रै पर्ने भएकाले विपक्षी दलहरूले बजेटको सेसनलाई अगाडि बढाउने कुरामा सहजीकरण गर्नेमा आफूहरूले विश्वास लिएको बताए ।
उनले सभामुख घिमिरेको नेतृत्वमा बसेको बैठक संसदको क्यालेण्डर बनाउने विषयमा केन्द्रित रहेको बताए । उनले बजेटमाथि छलफल र विनियोजित विधेयकमाथिको छलफललाई लिएर क्यालेण्डर बनाउने विषयमा मोटामोटी सहमति भएको समेत जानकारी दिए ।