-ध्रुवराज थापा ‘पुरुष’
उसलाई निकै छटपटी भएको छ ।
वृद्ध बा आत्तिए, ‘बाबू ! ए बाबू !! के भयो ?’
उसले लामोलामो सास फेरिरहेको थियो । २ हात–पाखुरा कसेर बलले उचाल्ल खोज्दै थियो । उसले दाह्रा किटिरहेको थियो । केही भन्न खोज्दै थियो तर बोली थिएन ।
बाले मुख सुकेको देखेर चम्चाले मुखमा पानी राखिदिनुभयो । दाँत बेस्सरी बाँधिएको भएर मुखबाट पनि बगेर बाहिर आयो ।
ऊ नबोलेको २ दिन भइसकेको थियो । बेलाबेलामा उसले खाली यस्तै हर्कत देखाउँथ्यो ।
बाले उसलाई गाह्रो भएको देखेर अक्सिजन थोरै बढाउनुभयो । मुखमा लगाएको अक्सिजन मास्क सिधा बनाउनुभयो । पीडामा कुनै कमी देखिएन । ऊ केही बोल्न खोजिरहेको थियो ।
डाक्टरले उसको छातीमा लागेको गोलीको भ्वाङ पुरिन मुस्किल छ भनेका थिए । बाले आत्तिएर नर्स बोलाए ।
नर्सले दुखाइ कम हुने सुई लगाइदिइन तर न सविनको दुखाइ कम भयो, न त बाको ।
यस पटक सविनले अक्सिजन मास्क थुतेर फाल्यो अनि बेस्सरी करायो, ‘ऐया ! मरें !’
छोराको बोली फर्केको सुनेर बा खुसी भए । छोरालाई सुम्सुम्याउन पुगे तर छोराको अनुहारमा चिटचट पसिना थियो । शरीर थरथर काँपेको थियो ।
नर्स आत्तिइन् । बाले चारैतिर अन्धकार देखे ।
बाले अकस्मात् छोरालाई रुँदै सोधे, ‘बाबू ! तेरो अन्तिम इच्छा के छ ?’
छोराले ओठ थर्थराउँदै लामो सास तान्दै बल्लतल्ल आवाज निकाले, ‘बाकक मकक यो देशमा उज्यालो भएको हेर्न चाहन्छु ।’
अन्तिम वाक्यसँगै छोराले जीउ तनक्क तन्कायो । बा चिच्याए । नर्स डाक्टर बोलाउन गइन् । बाले भावुक हुँदै छोराको शवलाई छोएर कसम खाए, ‘बाबू ’ अब तेरो अन्तिम इच्छा, अब तेरो यो बूढो बाउको अन्तिम इच्छा हुने छ ।’