-सरण राई
लकडाउनको तीसौं दिन ।
आजसम्म बाँचिएको छ ।
बाँच्नु सबैभन्दा ठूलो कुरा रहेछ । आजसम्म त कोरोनाले स्पेन, इटाली र इरानमा जस्तो महामारी भएको छैन । महामारी भयो भने खुट्टा तन्काउनुबाहेक अरू उपाय छैन । अमेरिका, बेलायतजस्तो देशमा त भयावह स्थिति छ भने ... ।
मन अत्तालिनु । मन अडेसा लाउने ठाउँ छैन । दिन त काट्नै पर्छ ।
नातिनीसँग कोठा सफा गरियो शुक्रबार । अनावश्यक कागजपत्र, धुलोमुलो र लत्ताकपडाको उरुङले बोरा भरियो । जे होस्, दिन पनि काटियो । कोठा पनि सफा भयो । मन फुरुंग !
आज आइतबार । साबुन–पानीले मिचीमिची हात धुँदा पो औंठीको सम्झना भयो ।
‘कोरोना भाइरस औंठीभित्र रहन सक्ने हुन्छ’ भन्ने डाक्टरको अन्तरवार्ता सुनेपछि स्व. पत्नीले राशिअनुसारको पत्थर राखेर बनाइदिएकी एउटा सुनको र अर्काे चाँदीको औंठी फुकालेर कागजमा पोको पारेर राखेको थिएँ ।
सफा कोठामा कागजमा पोको पारेको औंठी खोज्छु । भेटिँदैन त !
शनिबारै फोहोरको बोरा नगरपालिकाको फोहोरमैला उठाउने गाडीले उठाई लगिसकेको थियो ।
पक्का फोहोरकै डंगुरमा गयो । नातिनीलाई पनि भन्छु । उनी पनि अरकच्च हुन्छिन् ।
धन्दा नमानौं । कोरोनाले नै औंठी लग्यो अथवा कोमा (बोजु)ले नै लगिन्, सम्झन्छु । जे होस्, ज्यान बाँच्यो भने... ।
आ ..., बाँचियो भने अर्काे बनाऊँला तर पत्नीको चिनोको रूपमा सधैं लगाइरहेको औंठी । बिस्मात् लाग्छ, दुःख लाग्छ ।
फेरि खोज्छु सबैतिर । एकल बुढेसकाल । दिमाग के भएको छ ? सम्झना शक्ति कम भइरहेको छ ।
दराजको कुनामा कागजमा पोको पारेको औंठी भेट्छु । नातिनीलाई पनि कराएर सुनाउँछु । एकै क्षणअघिको दुःख सुखमा परिणत हुन्छ । खुसी हुन्छु, मानौं, मैले स्वर्ग पाएको छु ।
निष्पट्ट अँध्यारो चम्किलो उज्यालोमा परिणत हुन्छ । आनन्द साना मसिना प्राप्तिमा निर्भर रहेछ ।
क्षण –क्षण सुख–दुःख, हाँसो–रुवाइ, पीडा–आनन्दले भरिएका हुँदा रहेछन् । ती क्षण–क्षणहरूको जोड नै जीवन ... ।
यो लकडाउन, कोरोना क्षण पनि बितेर जाने छ । अर्काे सुखको क्षण र उन्मुक्त हाँसो जीवनमा आउने छ ।