-मुकुन्द पौडेल
१
जहिले कहिले यो भावना यसै फुर्दो रहेनछ
फुर्नेबेला यसले अरू साइत कुर्दो रहेनछ
कतिखेर आउँछ–जान्छ, सुटुक्क नै पत्तो हुन्न
चुकेपछि त्यस्तो मौका, फेरि जुर्दो रहेनछ ।
२
मैले रोजें तिमीलाई, तिम्ले रोज्यौ अर्कै
मैले खोजें तिमीलाई, तिम्ले खोज्यौ अर्कै
तिम्रो–मेरो जिन्दगीको, बाटो फरक रै’छ
मैले सोचें यौटा तर, तिम्ले सोच्यौ अर्कै ।
३
यतिखेर जन्मिएको, गाउँतिर डुलियो
सानो छँदा खेलेका यी, ठाउँतिर घुमियो
भावनाले डोहोर्याउँदै, लगेपछि त्यो माटोमा
मनभित्रको गहिरो माया, धुरीसम्म चुलियो ।
४
कालोलाई सेतो पनि, मानिदिएकै थ्यौं
सेतोलाई ‘कालो छ नि’, मानिदिएकै थ्यौं
सबै कुरा मनले यसै, कहाँ मान्दथ्यो र !
‘मान्दैनौं भो’ भनी–भनी, मानिदिएकै थ्यौं ।