-टहल दाहाल ‘नवकिरण’
जिउँदो इतिहास बनेर
अझै बाँचिरहेको छु
म गाउँको चौतारो ।
युगौं युगदेखि
यही चौतारोमा बसेर मान्छेहरू
दुःख सुसेलिरहेछन्
सुख मुस्कुराइरहेछन्
मेरै वात्सल्यमा
भरियाहरू आफ्नो तोक्मा अड्याउँछन्
र, जिन्दगीको थकाइ मार्छन् ।
पीर–व्यथाका
पोका पन्तराहरू मात्र खोल्दैनन् दुःखीहरू
जहाँ काउकुती लाग्ने
मारुनी भाकाहरू हाल्छन्
गीत गाइरहने गीतांगेहरू ।
यही चौतारोमा बसेर
कैयन् वीर वीरांगनाहरूले
मुक्तिको आवाज बुलन्द गरे
महान शहीदहरूले
अव्यवस्थाको कालरात्रि ढाल्ने प्रण गरे
आऊ, बस मेरो काखमा
जहाँ बसेर
आमा पिरोल्नेका विरुद्वमा मुठ्ठी कस
एक पटक सम्झाऊ
दूधको भारा तिर्न बिर्सिएकाहरूलाई ।
नमेट मेरो अस्तित्व
जोगाऊ कुमारी छोरीको जस्तो
मेरो अस्मिता ।
नसोच्नू
प्राणहीन मलाई
म पनि स्वास फेर्छु मान्छेले झैं
मेरो पनि मुटु दुख्छ मान्छेको झैं
खुसी हुने मन छ सुखमा
तिम्रो ममता मेरो अस्तित्व
मेरो प्रेम तिम्रो जीवनसार ।
ममा कहिल्यै चुलिएन अहंको चुली
मारियाना ट्रेन्च जस्तो
गहिरो विभेदको खाडल
वर्ग विभाजनको गुञ्जायस छैन ममा ।
म एक प्राचीन चौतारो
म एक आदि सत्य
जिउँदो–जाग्दो इतिहास ।
मान्छेको आँसु
मान्छेको हाँसो
म बुझ्दछु जीवनको मूल्य ।
घामपानी, हावाहुरी
असिना, वर्षात्
कसले छ र मैलेजति झेलेको ?
ओ मान्छे !
तिमी चन्द्रमामा पुगेको दम्भ पालेर मनमा
आफ्नै सभ्यताको जरोमा आगो नझोस
शहरिया भएको स्वाङ पार्दै
नबिर्स मेरो काख
नबिर्स गाउँको चौतारो ।