डोल्पा : हिमाली जिल्ला डोल्पामा सवारी साधनको अनुगमन तथा ट्राफिक नियम उल्लंघन गर्ने विरुद्धको कारबाहीबाट ९ महिनाको अवधिमा ११ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय डोल्पाका निमित्त प्रमुख विष्णु थापाका अनुसार, चालू आर्थिक वर्षको साउन महिनादेखि चैत्र महिनासम्म जिल्लाभर १ हजार २ सय ९६ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।
ती कारबाहीहरूबाट जम्मा ११ लाख २६ हजार ५ सय रुपैयाँ बराबरको राजस्व संकलन गरिएको छ । थापाका अनुसार साउन महिनामा १ सय ६७ सवारीसाधन कारबाही भइ १ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो ।
त्यसपछिका महिनाहरूमा भदौमा १ सय ५५ सवारीसाधन कारबाही भइ १ लाख ५२ हजार, असोजमा १ सय ६५ सवारीसाधन कारबाहीबाट १ लाख ५८ हजार ५ सय, कात्तिकमा १ सय ५२ सवारीसाधनको कारबाहीबाट १ लाख ३२ हजार, मंसिरमा १ सय १२ सवारीसाधन बाट ९७ हजार ५ सय, पुसमा १ सय ५२ सवारीसाधनको कारबाहीबाट १ लाख २९ हजार ५ सय, माघमा १ सय २२ सवारीसाधनको कारबाहीबाट ९४ हजार ५ सय, फागुनमा १ सय १५ वटा सवारीसाधनको कारबाही बाट ८७ हजार ५ सय र चैत्रमा १ सय ५६ वटा सवारीसाधनको कारबाही बाट १ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो ।
सवारीसाधन प्रकार अनुसार हेर्दा सबैभन्दा धेरै कार/जिप तथा मोटरसाइकलहरू कारबाहीमा परेका छन् । ट्राफिक कार्यालयका अनुसार कारबाहीका मुख्य कारणहरूमा बिना कागजात सवारी चलाउने, नियम उल्लंघन गर्ने, क्षमता भन्दा बढी सामान बोक्ने, सवारी साधनको अवस्था जाँच नगरी प्रयोगमा ल्याउने लगायतका रहेका छन् ।
निमित्त प्रमुख थापाले नियमित अनुगमनलाई अझ प्रभावकारी बनाउँदै ट्राफिक सचेतना अभिवृद्धिका कार्यक्रमहरू पनि सञ्चालन गरिने जानकारी दिएका छन् ।
जिल्ला ट्राफिक कार्यालय डोल्पाका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ९ सय ६८ सवारीसाधन कारबाही गरी ८ लाख ४९ हजार ५ सय , आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ४ सय ६९ सवारीसाधन कारबाही गरी १३ लाख ४२ हजार ५ सय, आर्थिक वर्ष २०७९/०८० मा १ हजार ४ सय ३ सवारीसाधन कारबाही गरी ११ लाख ३९ हजार र आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५ सय ८७ सवारीसाधन कारबाही गरी १२ लाख ४१ हजार ५ सय रुपैयाँ बराबरको राजस्व संकलन गरिएको थियो ।
यो वर्षको वार्षिक राजस्व संकलन विवरण असार अन्तिममा सार्वजनिक हुनेछ । जिल्ला ट्राफिक कार्यालयले महिनै पिच्छे सवारीसाधनको कारबाही संख्या र राजस्व संकलन विवरण कार्यालयमा सार्वजनिक गर्ने गरिरहेको छ ।
२०७५ सालमा राष्ट्रिय सडक सञ्जाल सग जोडिएसँगै डोल्पा जिल्लाका विभिन्न भागहरु समेत सडक सञ्जालले जोडिएका छन् । सडक सञ्जालसँग जोडिए लगत्तै जिल्लाभित्र दैनिक सवारीसाधनको चाप बढिरहेको छ । जिल्ला र जिल्लाभित्रका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश सवारीसाधन विनाअनुमति सञ्चालन भएको पाइएको छ ।