प्यूठान : तरकारी खेतीमा आबद्ध रहेकी प्यूठान ऐरावतीकी पुष्पा आचार्य यतिबेला बाख्रा पालनमा जोडिएकी छन् ।
वडा नम्बर २ सल्लेधाराकी पुष्पाले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन हेफरको सहयोगमा सुरू गरेकी हुन् । तरकारी खेती गर्ने क्रममा ऐरावती गाउँपालिका र ‘हेफर प्रोजेक्ट नेपाल’को सहयोगमा उपहारस्वरूप बाख्रा पाएपछि पुष्पा लगायतका किसानहरु व्यवसायिक बाख्रापालक वन प्रतिबद्ध छन् । बिना लगानी उपहारका रूपमा पाएको बाख्राबाट व्यवसाय बढाउँदै जाने र आर्थिक आयआर्जन गरी व्यवसायमा जोड्ने उनको सोच छ । ‘आफूले लगानी नगरिकन उपहारस्वरूप माउँ बाख्रा पाएकी छु, यसलाई घरमा राम्रोसँग पालनपोषण गरेर व्यावसायिक रुपमा अगाडि बढाउनेछु, तरकारी खेतीमा पनि बाख्रापालन गरेपछि मलको समस्या भएन’, आचार्यले भनिन् ।
उनले भनिन्, ‘अहिले लालिगुँरास स्वावलम्बन समूहकी अध्यक्ष सर्मिला गुरुङ दिदीबाट उपहार पाएकी छु, पछि म व्यवसायिक किसान बनेर बाख्रा उपहार फिर्ता गर्ने सोचमा छु ।’
उनको घरमा अहिले केही बाख्राहरु छन् । आचार्यले सलेन्धारामा गठित लालिगुँरास स्वाबलम्वी समूहबाट लुङचुङमा रहेको परिवर्तनशिल बहिनी समूहलाई ३१ वटा बाख्रा उपहार प्रदान गर्ने कार्यक्रममा बाख्रा उपहार प्राप्त गरेपछि खुसीले दंग छिन् ।
बाख्राबाट धेरै पाठापाठी उत्पादन गरेर आम्दानीको दिगो स्रोतका रूपमा व्यावसायिक तबरबाट काम गर्ने किसानहरु बताउँछन् । गाउँपालिकामा सञ्चालन भएको कृषि तथा पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता परियोजनाबाट दुई वर्षअघि आफुहरुले बाख्रा उपहार पाएकोले ती बाख्राबाट उत्पादन लिएपछि बहिनी समूहलाई उपहार दिएको दिदी समूह अध्यक्ष रचना गुरुङले जानकारी दिइन् । बाख्रा उपहार पाएकी मिना विश्वकर्माले आफुले पाएको बाख्राबाट उत्पादन लिएर उद्यमी बनी पुनः आफुहरुले पनि अन्य दिदिबहिनीलाई बाख्रा उपहार दिने बताइन् ।
समूहले उपहार प्रदान गर्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष नोबिल बिक्रम शाह लगायतका जनप्रतिनिधिहरु, वडाध्यक्षहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले परियोजनाबाट पाएको सानो स्रोतबाट आफुहरु उद्यमी बनी अरुलाई पनि उद्यमी बन्न प्रेरित गर्न समूहले गरेको उपहार निकै अर्थपूर्ण भएको बताए । कार्यक्रममा समूहले हालसम्म गर्दै आएका काम तथा प्रगती बारेमा जानकारी गराउँदै यस वर्षमा मात्रै खसी बोका बिक्री गरेर ६ लाख रकम आम्दानी गरेको समूहका अध्यक्ष गुरुङले दाबी गरिन् ।
उपहार कार्यक्रममा उपस्थित क्यानडीयन नागरिक डिनले किसानको प्रगतीले आफु निकै खुसी भएको बताउँदै एक अर्काप्रतिको उपहार आदान–प्रदानले थप प्रगतिको बाटो पहिल्याउनेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा वडाध्यक्षहरु, हेफर प्रोजेक्ट नेपालका प्रतिनिधि,मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका प्रतिनिधि, स्थानीय सरोकारवाला लगायतको उपस्थिति रहेको हेफर कार्यक्रम परियोजनाका परियोजना संयोजक नेत्रप्रसाद मरासिनीले बताए ।