२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

ढोका–ढोकामा सेवा पुर्‍याउँदै भूमे गाउँपालिका, ३ वडामा एकीकृत घुम्ती शिविर

बालाराम शेर्पाली
२०८२ जेठ २ गते २१:२६
ढोका–ढोकामा सेवा पुर्‍याउँदै भूमे गाउँपालिका, ३ वडामा एकीकृत घुम्ती शिविर

रुकुमपूर्व : रुकुम पूर्वको भूमे गाउँपालिकाले तीन वडाका नागरिकलाई लक्षित गर्दै संचालन गरेको दुई दिने एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । 

वडा नं. ६ र ७ को सिमाक्षेत्र रिसालचौरमा बैशाख ३१ गते र वडा नं. ९ को चुन्वाङमा जेठ २ गते आयोजित शिविरमार्फत गाउँपालिकाले नागरिकको घरदैलोमै सेवा पुर्‍याएको हो । 

गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरमा स्वास्थ्य परीक्षणदेखि पशुसेवा, नागरिकता तथा पञ्जिकरण, व्यवसाय दर्ता, कृषि परामर्श जस्ता बहुआयामिक सेवा उपलब्ध गराइएको थियो । विकट भौगोलिक अवस्थाका कारण गाउँपालिकाको केन्द्र पुग्न कठिन हुने वडाका नागरिकका लागि सेवा सहज बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिए । 

‘एकीकृत घुम्ती शिविर मार्फत दुर्गम वडामा पुगेर सेवा दिने अभियान हामीले अघिल्लो कार्यकालदेखि नै सुरु गरेका थियौं,’अध्यक्ष श्रेष्ठले भने, ‘सामान्य स्वास्थ्य परीक्षण वा प्रमाणपत्र लिन मात्रै पनि वडाबाट सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न यो शिविर प्रभावकारी भएको छ ।’

उपाध्यक्ष सबिना बुढा मगरका अनुसार नागरिकको अनुहारमा देखिएको खुसी नै जनप्रतिनिधिका लागि सबैभन्दा ठूलो पुरस्कार हो । ‘स्थानीय सरकारले नागरिकको घरसम्म सेवा पुर्‍याउन सकेको अवस्था भनेको राम्रो शासनको उदाहरण हो,’ उपाध्यक्ष मगरले भनिन्, ‘हामीले प्रशासनिकभन्दा पनि मानवीय भावना राखेर सेवा पुर्‍याउने प्रयास गरेका छौं ।’

शिविरका क्रममा  पाठेघर र क्यान्सर परीक्षण ४५ जनाको गर्भ परीक्षण र भिडियो एक्सरे, २४ जनाको प्रयोगशाला परीक्षण, ७५ जनाको आँखा परीक्षण, १सय २ जनाको ओपीडी सेवा १ सय ७२ जनाको र पशु स्वास्थ्य उपचार १ सय २८ वटा गरिएको थियो । साथै ६  वटा पिउने पानीको नमुना संकलन गरी गुणस्तर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले नागरिकता पञ्जिकरण, व्यवसाय दर्ता तथा नविकरण, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, कृषि तथा पशुपालनसम्बन्धी परामर्श जस्ता सेवा पनि उपलब्ध गराइएको थियो । शिविरमार्फत सेवा प्राप्त गरेका स्थानीयवासीले  गाउँमै सेवा पाएपछि आफूहरू अत्यन्त खुसी भएको बताएका छन् ।  

वडा नं. ९ का अध्यक्ष विनोद बुढाले निर्वाचित भएदेखि वडा कार्यालयमार्फत सेवा प्रवाहमा ढिलासुस्ती हुन नदिएको र जनतामा विश्वास कायम राख्न सफल भएको दाबी गरे । 

शिविरमा सहभागी जनशक्ति र व्यवस्थापनको नेतृत्व गरेका प्रमुख प्रशासकीय अधिकृत देबीलाल विकले शिविरमार्फत सबै सेवा एकै ठाउँमा पुर्‍याउनु चुनौतीपूर्ण भए पनि सफलतापूर्वक सम्पन्न गरिएको बताए । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा अन्य वडामा समेत  शिविर सञ्चालन गर्ने तयारी गरिरहेको छ । पालिकाले सेवा केन्द्रित शासन प्रणालीलाई जनमुखी बनाउँदै विकट ठाउँमा समेत सेवा पुर्‍याउने रणनीति बनाएको छ ।

ADV

सम्बन्धित खबर