नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को सुनवल नगरपालिका–७ चारपालामा शुक्रबार अपराह्न आएको हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार शुक्रबार दिउँसो आएको तेज हावाहुरीले भित्री सडकखण्डमा रहेको कंक्रिट, सिमेन्ट र रडबाट बनेको प्रतिक्षालयमाथि बरको रुख ढलेको थियो । प्रतिक्षालयमा बसिरहेका पाँच जनामध्ये दुई जनाको घटनास्थलमै ज्यान गएको हो भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनवल नगरपालिका–७ चारपालाकी करिब ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुन रहेका छन्। घाइते हुनेहरूमा सोही ठाउँकी ४० वर्षीया नरमति परियार, ५१ वर्षीया दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा छन् । उनीहरूलाई प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि देवदह मेडिकल कलेज, भलुही (रुपन्देही) पठाइएको प्रहरीले जनाएको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठको कमाण्डमा प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।