२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

सगरमाथा संवादः उद्घाटन र खुल्ला सत्र सम्पन्न

मध्यान्ह
२०८२ जेठ २ गते १५:३२
सगरमाथा संवादः उद्घाटन र खुल्ला सत्र सम्पन्न

काठमाडौं : आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि आज सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समिति  संयोजक डा आरजु राणा देउवाले ‘मिडिया ब्रिफिङ’मार्फत दुवै सत्र सफलताका साथ सम्पन्न भएको जानकारी गराइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद ब्यानरको अनावरण गरी संवादको औपचारिक उद्घाटन गरेका थिए । प्रधानमन्त्री ओलीले संवाद सत्रमा संवादको दृष्टिकोण र विश्वले जलवायु परिवर्तनसहित धेरै दबाबपूर्ण चुनौतीहरूको सामना गरिरहेका बेला यसको महत्व प्रस्तुत गरेका थिए । उनले चुनौती सम्बोधन गर्न ‘संवादको शक्ति’ मा पनि जोड दिएका थिए ।

सम्बोधन गर्नुअघि, प्रधानमन्त्री ओलीले आधिकारिक रूपमा सरकारको राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) अनावरण गर्नाका साथै कोप–२९ का अध्यक्ष मुख्तार बेबायेभलाई हस्तान्तरण गरेका थिए ।

यस्तै, कोप २९ का अध्यक्षता तथा जलवायु मुद्दाहरूमा अजरबैजान गणतन्त्रका राष्ट्रपतिका प्रतिनिधि मुख्तार बाबायेभले आफ्नो मुख्य भाषण दिँदै जलवायु परिवर्तनका धेरै आयामहरू र पहाडहरूमा पर्ने प्रभावलाई सम्बोधन गर्न आवश्यक विकल्प र समाधानबारे प्रकाश पारेका थिए ।

यस्तै, भारत सरकारका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवले सत्रलाई सम्बोधन गर्दै पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका धेरै प्रभावबारे प्रकाश पारेको प्रेस ब्रिफिङमा मन्त्री डा राणाले बताइन् ।

जनवादी गणतन्त्र चीनको स्थायी समितिका उपाध्यक्ष जिओ जीले सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका  गम्भीर प्रभावबारे जोड दिएका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि भिडियो सन्देशमार्फत सत्रलाई सम्बोधन गरेका थिए ।

विभिन्न मुलुकबाट आएका विशिष्ट नेताहरू, नीति निर्माता, विशेषज्ञ र अन्य सरोकारवालाले सम्बोधन गरी संवादको उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न भयो । त्यसपछि अन्तर्राष्ट्रिय सम्मेलनको ढाँचा पछ्याउँदै पूर्ण सत्र भएको थियो । सत्रमा सहभागी देश, अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनका प्रतिनिधिहरूले संवादको केन्द्रीय विषयमा आफ्ना विचारहरू व्यक्त गरेक थिए । सो सत्रको अध्यक्षता मन्त्री डा राणाले गरेकी थिइन् ।

कुल १९ प्रतिनिधिमण्डलहरू (१३ राष्ट्रिय र ६ क्षेत्रीय र अन्तरराष्ट्रिय संगठनहरूको तर्फबाट) ले जलवायु परिवर्तन, पहाड र मानव जातिको भविष्यका विविध पक्षहरूलाई प्रकाश पार्दै आफ्ना वक्तव्यहरू दिएका थिए । यसमा राष्ट्रिय प्रतिनिधिमण्डलहरूमा बंगलादेश, भुटान, नेपाल, बेलायत, संयुक्त अरब इमिरेट्स, जापान, भारत, कतार, किर्गिस्तान, ब्राजिल, इजिप्ट, ओमान र पाकिस्तानका प्रतिनिधि हुनुहुन्थ्यो । अन्तरराष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूमा संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंक, सार्क, बिम्स्टेक, इसिमोड रहेका छन् ।

प्रतिनिधिमण्डलहरूले पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका कारण परिरहेका प्रभाव तथा मानवताको भविष्य रक्षा गर्न एकता र ऐक्यबद्धताका लागि आह्वान पनि गरेका थिए ।

ADV

सम्बन्धित खबर