-जुनू घिमिरे
पोखेर श्रम खाएको खाना अमृत समान
विषझैं हुन्छ लुटेको धन नपरोस् त्यो खान
लोभी छ मन, पापी छ धन दुस्मन त्यही हो
विद्वान पनि बिग्रन्छन् कति कुबाटो यही हो ।
पसिना पोखे पाइन्छ खान चाहिने मानो हो
ओतका लागि झुपडी काफी चाहिने छानो हो
अरूको श्रम लुटेर खाने कुमती नजागोस्
मरेर जाँदा द्रोहीको संज्ञा ममाथि नलागोस् ।
सबैले छिः छिः, दूर्दूर गर्ने जीवन के गर्नु ?
भ्रष्टको नीति अपनाउन अगाडि के सर्नु ?
इमान बेची पाएको मान खै कहाँ बोक्ने हो ?
खोसेको लुगा लगाई लाज कसरी छोप्ने हो ?
बेचेर श्रम किनेको खुसी ठाँटिलो आफैंमा
मरेर जाँदा लैजान मिल्ने इमान साथैमा
इज्जत फ्याँकी चौरासी व्यञ्जन खाएको के अर्थ ?
भएर मान्छे दुष्कर्मी हुनु जीवन हो व्यर्थ ।
सानै होस् काम, सानै होस् दाम श्रमले भित्रिओस्
हरेक घुट्को पानीमा पनि पसिना मिसिओस्
श्रमको मूल्य सबैले पाओस्, को सानो, को ठूलो ?
सल्कियोस् सबै घरमा खुसी बालेर त्यो चुह्लो ।