२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

डिजिटल चोरको बिगबिगी : बढ्यो बैकिङ कसुर, घट्यो कर्तव्य ज्यान मुद्दा

दिवाकर अधिकारी
२०८२ वैशाख २३ गते ०६:२५
डिजिटल चोरको बिगबिगी : बढ्यो बैकिङ कसुर, घट्यो कर्तव्य ज्यान मुद्दा

काठमाडौं : सूचना प्रविधिको विकाससँगै अपराधको शैली फेरिएको छ । व्यक्तिको खल्तीमा पैसा हुन छाडेको छ । तर, मोबाइलमा बैंकिङ एप्सहरू हुन्छन् । व्यक्तिको खल्तीबाट पैसा चोर्ने पुरानो प्रवृत्ति पछिल्लो समय भेटाइँदैन ।

व्यक्तिको हातमा भएको मोबाइल डिभाइसमै पस्ने प्रयास गर्नेहरू बढी छन् । व्यक्तिका मोबाइल डिभाइस, व्यक्तिका अकाउन्ट ह्याक गरेर बैंकमा रहेको रकम चोर्ने शैलीले प्रहरी हैरान छ । पहिले फिल्डमा हुने चोर खोज्न हिँड्ने प्रहरी अहिले कम्प्युटरमा बसेर व्यक्तिका अकाउन्ट ह्याक हुन नदिने उपाय सुझाइरहेको हुन्छ । केही गरी त्यस्तो सूचना आए प्रविधिकै सहायताले एक्सनमा उत्रन्छ । 

डिजिटल चोरको बिगबिगी बढेसँगै प्रहरीमा जाने मुद्दाको अवस्था पनि बदलिएको छ । समूह बनाएर गुन्डागर्दी गर्ने, चन्दा असुली, अपहरण तथा शरीर बन्धकका घटना न्यून हुँदै गएका छन् । प्रहरीको अभिलेखअनुसार अनलाइन ठगी बढी छ । सामाजिक संजाल प्रयोग गरी आर्थिक अपराध बढेको छ । प्रहरीमा पुगेको मुद्दाको संख्याले बैकिङ कसुर बढेको देखाउँछ भने कर्तव्य ज्यान मुद्दा घटेको छ । 

गत चैत महिनामा देशभर प्रहरीमा ४ हजार ९१५ वटा मुद्दा दर्ता भएका थिए । त्यसमा सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दाको संख्या १ हजार ९५ छ । 

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ६८१ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्याका ६३६, लागुऔषध ४७४, चोरी २९७, जबरजस्ती करणी १८६, ठगी १८३, सवारी ज्यान १४९, ज्यान मार्ने उद्योगअन्तर्गतका १०१ वटा र कर्तव्य ज्यानसम्बन्धी ३९ मुद्दा दर्ता भएका छन् । 

यो संख्या गत फागुन महिनाको तुलनामा केही बढी हो । गत फागुन महिनामा ४ हजार ४६८ वटा मुद्दा दर्ता भएका थिए । चैत महिनामा बढेर ४ हजार ९१५ पुगेको हो । 

चैत महिनामा दर्ता भएका मुद्दाको संख्याको आधारमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा छ । काठमाडौं उपत्यकाका मात्र १ हजार २६९ वटा मुद्दा छन् । काठमाडौं उपत्यकाबाहेक बाग्मती प्रदेशका जिल्लाका ४८५ वटा छन् । समग्र बाग्मती प्रदेशभर १ हजार ७५४ वटा छन् ।

कोशी प्रदेशमा ७७२, मधेश प्रदेशमा ८८९, गण्डकी प्रदेशमा ३६७, लुम्बिनी प्रदेशमा ६२२, कर्णाली प्रदेशमा १६२ र सुदूरपश्चिम प्रदेशमा ३४९ वटा मुद्दा छन् । यी मुद्दाहरूमा धेरै अनलाइन ठगीसँग सम्बन्धित छन् ।

ADV

सम्बन्धित खबर