२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

जीवन बीमा व्यवसाय : ९ महिनामा सबा खर्ब बीमा शुल्क, सबैभन्दा अगाडि नेपाल लाइफ

मध्यान्ह
२०८२ वैशाख २२ गते २०:४९
जीवन बीमा व्यवसाय : ९ महिनामा सबा खर्ब बीमा शुल्क, सबैभन्दा अगाडि नेपाल लाइफ

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले एक खर्ब २६ अर्ब बढी बीमाशुल्क आम्दानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले एक करोड ३५ लाख ३९ हजार पाँच सय १० वटा बीमा पोलिसी बिक्री गरी एक खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनाममा बीमा कम्पनीहरूको बीमाशुल्क आम्दानी १४.६२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले एक खर्ब १० अर्ब आठ करोड रुपैयाँ कुल बीमा शुल्क आम्दानी गरेका थिए । 

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आम्दानी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले सो अवधिमा ३३ अर्ब एक करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सो कम्पनीले आर्जन गरेको बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको भन्दा १२.०९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा सो कम्पनीले २९ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।

समीक्षा अवधिमा धेरै बीमा शुल्क आम्दानी गर्ने दोस्रो बीमा कम्पनीमा नेशनल लाइफ इन्स्यारेन्स रहेको छ । सो कम्पनीले चालु आर्थिक ९ महिनामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा २.१३ प्रतिशतले बीमा शुल्क आम्दानी बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा १२ अर्ब ८९ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आम्दानी गरेकोमा चालु आर्थिक वर्षको ९ महिनामा १५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको छ । 

त्यस्तै, धेरै बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनी एलआईसी रहेको छ । सो कम्पनीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको छ । कम्पनीले चालु आवमा आर्जन गरेको व्यवसाय गत आवको तुलनामा ९.३९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १२ अर्ब ८३ करोड १० लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको थियो । 

अन्य जीवन बीमा कम्पनीहरूमा हिमालयन लाइफले १२ अर्ब ५९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले आठ अर्ब १६ करोड, सूर्यज्योति लाइफले सात अर्ब ६५ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, समीक्षा अवधिमा सिटिजन्स लाइफले पाँच अर्ब आठ करोड रुपैयाँ, सानिमा रिलायन्स चार अर्ब ८४ करोड रुपैयाँ, मेट लाइफले चार अर्ब ४४ करोड, आईएमई लाइफ तीन अर्ब ७७ करोड, रिलाएबल नेपालले तीन अर्ब ६९ करोड, प्रभु महालक्ष्मीले तीन अर्ब ६७ करोड रुपैयाँ र सन नेपालले तीन अर्ब आठ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेका छन् ।

ADV

सम्बन्धित खबर