काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद पराजुलीले सरकार सञ्चालनको १० महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाए ।
सहकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्ता समेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको उनको आरोप छ । सांसद पराजुलीले रास्वपाले सहकारी पीडितका मुद्दा उठाउँदै आएको र अघिल्लो वर्ष नै सरकारले पीडितको रकम फिर्ता गर्न सुझाव दिएको पनि स्मरण गराए ।
सहकारी ठगीमा संलग्न पीडकलाई कानुनी कठघरामा उभ्याउँदै पीडितहरुको वचत रकम फिर्ता गर्न सांसद पराजुलीले चेतावनीसहित सरकारको ध्यानाकर्षण गराए ।