२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

मौसमी आन्दोलन र मेलमिलाप नीति

मध्यान्ह
२०८२ वैशाख २१ गते ०६:३८
मौसमी आन्दोलन र मेलमिलाप नीति

– अच्युतप्रसाद पौडेल ‘चिन्तन’
देशैभरि मौसमी आन्दोलनहरू भइरहेका छन् । यसपालिको आन्दोलनले अलिक जटिल मोड लिने जस्तो देखिएको छ । सत्ताधारीहरूलाई अलि धक्का दिएजस्तो लाग्छ । शैक्षिक गुरुहरू सडकमा आउनु भनेको त्यो देशमा कुनै धर्म, संस्कार, संस्कृति, आदर्श, अनुशासन, आविष्कार सकिएको मान्नुपर्ने हुन्छ । देश एटम बमबाटै मात्र ध्वस्त हुने होइन, त्यहाँको शिक्षा कुरूप छ भनेपछि देश कुरूप भन्ने बुझिन्छ ।

गुरुहरू पनि झोला नबोक्ने त खासै कोही भएनन्, झोलामा पुस्तक, कापी, कलम हाले त हुन्थ्यो, झन्डा पनि हालेकाले दलहरूले पनि घुक्र्याउन पाइहाले अहिले, यो सिकाएको पनि दलहरूले नै हो । पानीको फोहोराले तिनलाई चोखो पारे जस्तो अझै लागेको छैन, आँखै टुट्ने गरी चुटेको र गाला भत्किएर रक्ताम्मे भएका शिक्षकहरूको फोटाहरू पनि आइरहेका छन् । शिक्षकले रूख चढे, सूर्य हेरे, हँसिया र हथौडाले पनि हिर्काए, हलो, गाई समात्नेको त संख्या कम हुने नै भयो । त्यसो गरे बापत नयाँ बानेश्वरमा झण्डै १ महिना गीत गाउँदा पुरस्कार पनि पाए, लाठी र पानीको फोहरा । यसौं भनौँ चोखो पानीले अब चोखिने हुन् कि ? 

आँखैमा चोट लागेकोले अब गुरुहरूको आँखा खुल्छ होला, झोले कार्यकर्ता भन्दा जनता कम भएको देशमा । रक्त सिञ्चित गाला लिएर फर्कने गुरुहरू फेरि तिनै दलको झन्डा नलेऊन्, आशा गरौँ । गर्मी मौसममा आँत हरहर भएको बेला सरकारले पानीको फोहोरा दिएर शीतल गरायो, जे भयो राम्रो भयो होला, तर शिक्षकहरू छेडखानी नगरी काठमाडौँ नछोड्ने भन्दै छन् । सडक विद्यार्थी भर्नाको समय हो यो, त्यसैले भर्ना हुने समय भर यता बन्द गर्न पाए आफ्नैले चलाएका निजी संस्थाहरू अझ बलिया हुन्थे, स्वास्थ्य संस्था पनि त्यस्तै छन् । दलहरूको मनोभाव बुझ्न पनि कठिन छैन, चुनाव भइरहन्छ देशमा, सहयोग पनि गरेको, समानुपातिकमा पनि परेको कति राम्रो उखान टुक्का छ यहाँ । 

देश चलाउन उखान टुक्का र ८ पास नै पर्याप्त छ, बाँकी डिग्री त बिक्रीका लागि हो, बिक्री नभएर बेरोजगार त धेरै नै छन् यहाँ । गुरुहरूले संस्कार सिकाएनन्, टाइ सुट लाए, आफ्नो राष्ट्रिय पोसाकमा विद्यार्थी तयार पारेनन्, पार्न दिइएन, मन्त्रालय, विदेश वा संसदमै यस्तो भएन, अन्यत्र कसरी ?

चिकित्सकहरू सेतोकोट लाउँदै आन्दोलनमा आए, लघुवित्तवालाहरू त आधा नाङ्गै आए, कालो पेटिकोटमा, अब त पूरै नाङ्गो हुने पनि भनेका छन्, देश नाँगिसकेको छ । ग्रे लिस्टबाट ब्ल्याक लिष्टको तरखरमा छ भने पछि मान्छे नाङ्गिनुमा कुनै आपत्ति भएन । सहकारीवालाहरू पहिले नै नाँगिसकेका छन् । कर्मचारी पेशागत सबैजसोले आफ्नो हैसियत देखाइसकेका छन् । संसदमै नग्न शरीर देखाइएको छ । सडकमा त ठूलो कुरो पनि भएन । लोकतन्त्र र गणतन्त्र पूरै नाङ्गिइसकेको छ, भ्रष्टाचारले, ऋणले, महँगीले, युवा पलायनले, व्यापार–घाटाले, अति ठूलो करको भारले ।

देशभित्र र बाहिर सबैतिर ‘राजा आऊ, देश बचाऊ’ भन्दै विभिन्न थरिका नारा, जुलुस निस्केका छन् । ‘गणतन्त्र मुर्दावाद’ भनिएको छ । राँके, मैनबत्ती, सिठी, सबै किसिमका जुलुस छन् र राजावादीहरू अधिकांश एकै मञ्चमा आइसकेका छन् । अब दुई कित्तामा देश विभक्त छ, राजावादी र गणतन्त्रवादी कित्ता, पहिले कांग्रेस र कम्युनिस्ट कित्ता थियो पछि अर्को माओवादी कित्ता थपियो, अधिक संख्यामा र अरू छिटफुट थिए, अब देश दुई कित्तामा धुर्वीकृत भएको छ । राजसंस्था लोकतान्त्रिक हुने अरूले बन्दुक चलाए हामीले फूल चलाउने हो भन्दै अगाडि आएका छन् । 

अतीतमा धेरैको अकाल मृत्युको पाठ सिक्नुपर्छ र अहिंसात्मक आन्दोलनले देशले चाहेको परिवर्तन सम्भव पनि हुन्छ । शक्तिशालीको पन्जाबाट, शान्तिपूर्ण भद्र अवज्ञाबाटै भारत स्वतन्त्र भएको उदाहरण छ । राजसंस्था निरंकुश हुन्न, हुनु हुन्न पनि, राज्य सञ्चालन नेपालीले नै गर्नुपर्ने लोकहित र अभिमत बुझेर र मियो वा अभिभावक त्यो संस्था हुने भनिँदै छ भने अन्यथा मान्नु हुन्न पनि । डर र भर बिनाको वैदेशिक विचारको राजनैतिक प्रणाली सञ्चालन गरेर देशलाई नाङ्गो पार्नुभन्दा आफ्नै पनको आफैंले राजनीति सञ्चालन गरेर मौलिकपनबाटै देश सिँगार्ने प्रयत्न गर्नु नराम्रो होइन । 

देशमा जल्दा बल्दा समस्या धेरै छन् । विदेशीको चलखेल हुन दिनु हुन्न । तिनले परेड खेल्न सक्ने वातावरण बन्नु राम्रो होइन । सम्भवतः भारत, चीन, अमेरिकाले पनि अब यहाँका विषय छर्लङ्ग बुझिसकेको होला । यहाँबाट नो–नो भनिए तिनले दबाब अब दिन सक्दैनन्, अतीतमा के भयो भन्ने तिनले नै अहिले सबै कुरो खोतलिसकेका छन् ।

पोखरा विमानस्थलको रडाको फेरि बल्झेको छ । काम पूरा नभई धरहरा जस्तै गरी छिटो उद्घाटन भयो । उद्घाटनको केही समय नबित्तै जहाज दुर्घटनाबाट धेरै ठूलो जनधनको क्षति भयो । त्यो विमानस्थल बनेको ऋण तिर्ने आयआर्जन गर्न भारतले उसको बाटोबाट व्यावसायिक उडान रूट पर्मिट नदिन सक्छ, तर त्यत्रो कूटनैतिक पहल गर्ने ल्याकत पनि यहाँ छैन । भैरहवा विमानस्थलको कुरो पनि त्यस्तै छ । यहाँ पशुपतिमामा क्विन्टल सुन चढाएर त्यसमै आफ्नो नाम लेखाएकाले बुझ्न सकेका छैनन्, बरु पण्डा बनेर कालेश्वरतिर हान्निए, यहाँको धर्म जगेर्ना हाम्रा सञ्चालकले गरेनन्, यो तीतो सत्य नेपालीलाई मात्रै होइन, देश देशावर सबैलाई थाहा छ । 

अतः हाल चलेको आन्दोलन मौसमी हो भनेर नजरअन्दाज गर्नुभन्दा सबै अटाउने र सबैलाई साझा चौतारीको अनुभूति दिलाउने राजनैतिक प्रणाली चयन गरी बिना रक्तपात देशमा नेतृत्व परिवर्तन हुन जरुरी छ । यो राष्ट्रिय मेलमिलाप र राउन्ड टेबुल टकबाटै सम्भव पनि छ । 

ADV

सम्बन्धित खबर