२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

सशस्त्रका डीएसपी भण्डारीमाथि महिलालाई कुटपिट गरेको आरोप, स्थानीयको विरोध प्रदर्शन

सत्येन्द्र प्रताप सिंह
२०८२ वैशाख २० गते २१:३०
सशस्त्रका डीएसपी भण्डारीमाथि महिलालाई कुटपिट गरेको आरोप, स्थानीयको विरोध प्रदर्शन

रौतहट : रौतहटको गौर भन्सारमा खटिएका सशस्त्र प्रहरी बलका डीएसपी गहेन्द्र भण्डारीमाथि एक महिलाले कुटपिट गरेको गम्भीर आरोप लगाएकी छन् । 

दुर्गा भगवती गाउँपालिका ४ पचरुखी निवासी २८ वर्षीया सुनिता देवीले पानी खान भन्सार नजिकै गएको बेला डीएसपी भण्डारीले आफूलाई  लौरोले निर्घात कुटपिट गरेको बताइन् । खुट्टामा गम्भीर चोट लागेको र डाम समेत परेको पीडित महिलाले बताएकी छिन् ।

कुटपिटको घटना बाहिरिएसँगै स्थानीय बासिन्दाहरू आक्रोशित बनेका थिए । आक्रोशित भीडले सशस्त्र प्रहरी क्याम्प अगाडि ढुंगामुढा गर्दै विरोध प्रदर्शन गरेका थिए । स्थिति एक घण्टासम्म तनावग्रस्त बनेको थियो । 

न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी दिन जाँदा सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएको महिलाले गुनासो गरेकी छन् । ‘मलाई सशस्त्रले कुटपिट गरेको कुरा बताउँदा पनि कोही बोल्दैनन्, नकुनै कारबाही हुन्छ,’ महिलाले भनिन् । 

स्थानीयले दोषी प्रहरीमाथि तत्काल निलम्बन र निष्पक्ष छानबिनको माग गर्दै छन् । 

यसबारे डीएसपी भण्डारीसँग बुझ्दा महिलामाथि  कुटपिट भएको भन्ने कुरा असत्य भएको बताए । उनले आफु चार दिन अगाडि मात्र उक्त कार्यालयमा आएको र पोके तस्करहरुविरुद्धको कारबाहीमा कडाइ गरिएपछि आफुविरुद्ध तीनै तस्करहरुले अफवाह फैलाएको बताए । पोके तस्करविरुद्ध कडाइ भएपछि भन्सारको गेटमासमेत ढुंगामुढा र धकेलाधकेलसमेत भएको बताउँदै डीएसपी भण्डारीले आफुविरुद्ध अफवाह फैलाएर तस्करविरुद्धको कडाइ नरोकिने बताए ।
 

ADV

सम्बन्धित खबर