२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

९६ गड्डीमाथि विवेचनात्मक दृष्टि

२०८२ वैशाख २० गते ०६:२५
९६ गड्डीमाथि विवेचनात्मक दृष्टि

-रेखा आचार्य ज्ञवाली

गड्डी भन्नेबित्तिकै हामीले पैसाको मुठो भन्ने बुझ्छौं । हो, तिनै पैसाका मुठाहरूलाई सांकेतिक रूप दिएर वर्तमान समाजको अवस्था अभिव्यञ्जित गरी आख्यानको क्षेत्रमा एक सबल उपन्यासकारका रूपमा स्थापित स्रष्टा हुन्– प्रकाश तिवारी । 

उनको पछिल्लो कृति ‘९६ गड्डी’ (उपन्यास) पाठकको हातहातमा पुगिसकेको छ । उनका अरू ३ उपन्यासभन्दा नितान्त फरक रहेको प्रस्तुत उपन्यास, जसमा सरकारी कार्यालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति तथा पदको दुरुपयोग तथा अनैतिकता जस्ता विषयलाई लिएर सूक्ष्म चित्रण गरिएको छ ।

देशको माथिल्लो तहदेखि तल्लो तहसम्म भ्रष्टाचार कसरी हुने गर्छ र कसरी मौलाउँदै गएको छ, त्यो देख्न सकिन्छ । यस कृतिको अध्ययन गर्दा लाग्छ, हात्तीको देखाउने दाँत र चपाउने दाँत भएजस्तै सरकारी कर्मचारीका पनि २ रूप हुँदा रहेछन् । 

अनि, कुरा बुझ्छु कि कार्यालयमा यस्ता छयानब्बे (९६) गड्डीको प्रयोग भइरहेका हुन्छन् । यस प्रकारको राजस्व चुहावटले देश विकास कसरी हुन्छ होला भन्ने सोच्छु । 

विद्यार्थीकालमा विज्ञान र राजिव नाम गरेका विद्यार्थीहरू कुर्लिएका हुन्छन्– देशमा अराजकता, भ्रष्टाचार, विकृति, विसंति, कर्मचारीतन्त्र तथा चाप्लुसीवादको अन्त्य हुनुपर्छ भन्दै । यस महासंग्राममा विज्ञानकी साथी कुमुदा पनि होमिन्छिन् र प्रहरीको गोली लागेर सहादत प्राप्त गर्छिन् ।

हो, केही विद्यार्थीहरू आज पनि सुशासनको नारा बोकेर आन्दोलनमा लाग्छन् र भ्रष्टाचार नगर्ने अठोट लिएका हुन्छन् तर पछि गएर तिनैहरूमध्ये फेरि केही त्यस्तै हुन्छन् ।    

जनताको सेवा गर्नका लागि सुरुमा सुशासन र सुव्यवस्थाको पालना गरी स्वस्थ र दक्ष मस्तिष्क लिएर कर्मचारीहरू जब कार्यालयभित्र पस्छन्, तब उनीहरूमा छुट्टै किसिमको उत्साह, जाँगर र खुसी पैदा हुन्छ । कतैबाट अतिरिक्त लाभको आश नगर्ने भन्दै आदर्शमा बाँच्छन् ।

सिद्धान्तलाई मूल मन्त्र मानी त्यसैमा अडिग रहन्छन् केही समय कर्मचारीहरू । अन्ततः बिर्सन्छन् जागिर खानुपूर्वका आर्दश र सिद्धान्तका कुराहरू । अनि, रंगीन बनाउन लाग्छन् जीवनलाई ।

हाम्रो जस्तो देशमा राजनीतिको व्यापक प्रभाव परेको छ प्रशासनिक क्षेत्रमा । अनि, बर्को ओढाइन्छ सत्ताको गीत गाउनेहरूलाई कर्मचारीतन्त्रमा । तब ढाकछोप गरिन्छ बुई चढ्नेहरूको । हो, यसरी चलेको छ हाम्रो देशको प्रशासन क्षेत्र । 

जति ठूलाठूला दर्शन छाँटे पनि यस उपन्यासको पात्र विज्ञान कार्यालयको परिवेशबाट अछुतो रहन सक्दैन । शाखा अधिकृत भएर कार्यालयमा जाँदा आदर्श व्यक्तिको रूपमा प्रस्तुत हुन्छ विज्ञान । त्यहाँका कर्मचारीहरूले उसलाई अनेक जालझेल र खिसिट्युरी गर्छन्, उसको कर्तव्यनिष्ठ व्यक्तित्वमाथि उपहास हुन थाल्छ । तब ऊ अरूले जस्तै गर्न थाल्छ । सरकारी पैसा अवैध तरिकाले लिई भौतिक सम्पत्ति जोड्छ अनि कहलाउँछ समाजमा प्रतिष्ठित व्यक्ति । 

वर्तमान समयमा एक्लो बृहस्पति भएर बस्नुपर्छ सिद्धान्तको लौरो टेकेको मान्छे । ‘साथीहरूले जागिर भनेकै खान, पिउन र मोजमस्तीका लागि त हो भन्ने पाठ पढाए (पृ. ५७) ।’ अपितु,  वर्तमान समयमा देशमा भ्रष्टाचारको जरा पीपलको रूखको जरा जस्तै टाढाटाढासम्म फैलिइसकेको छ ।

लेखकले नेपालमा भ्रष्टाचारलाई नदीको पानीसँग तुलना गरेका छन् । के हाम्रो देशमा भ्रष्टाचार निर्मूल होला ? कहिले होला ? सोच्दै छु म । जनताबाट कर उठाएर नै हो कर्मचारीले वेतन पाउने । सेवाग्राहीसँग फेरि अवैध शुल्क मागेर अनावश्यक दुःख दिने मानसिकता बोकेका कर्मचारीहरू देखेर लाज लाग्छ र यहीँबाट भन्न मन लाग्छ– जनता र राष्ट्रप्रति महाशयहरूको जिम्मेवारी यही हो ? किन तलदेखि माथिसम्म मर्यादाको क्रमानुसार सेवाग्राहीबाट भनौं या जनताबाट, घुस मागेर असुलीको भाग लगाउनुपरेको ? यो कस्तो मानसिकता हो आफ्नै सेवाग्राहीबाट नाजायज रकम असुल्ने ?

अंग्रेजीमा एउटा भनाइ छ– सेभ फर रेइनी डे । जसरी हामी भकारीमा धान संचय गर्छाैं केही कालखण्डका लागि, त्यसैगरी कर्मचारीहरूले पनि जम्मा गर्छन्, अवैध रूपमा शुल्क लिएर जनतासँग ।

आफ्नो पदीय जिम्मेवारी बिर्सेर, जनताको सेवा गर्न खटिएको सेवकको दायित्व भुलेर उल्टै जनतालाई शोषण गर्ने मनोवृत्तिलाई लेखकले यहाँ उजागर गर्न सकेका छन् । बिहान–बेलुकाको २ छाक जोहो गर्न संघर्षरत भुइँ मान्छेसँग रकम असुली धनी बन्ने वृत्ति लिएका कर्मचारीलाई ती सीमान्तकृत समुदायका मानिसले के सोच्लान् ?  

स्रष्टा तिवारीको ‘९६ गड्डी’ पढ्दै गर्दा कर्मचारीतन्त्रको वर्तमान अवस्थाका बारेमा अहिल्यै जनजागरण अभियान गर्न उठौं जस्तो हुन्छ । त्यससँगै केही प्रश्नहरू पनि जन्मिन्छन् । 

सेवाग्राहीहरू ती भ्रष्ट कर्मचारीविरुद्ध किन उठ्दैनन् ? किन विरोध गर्दैनन् ? त्यसो त उनीहरूको विवशता र निरीहता कम छैन । क्रोधको ज्वाला समन गरेर उल्टै कर्मचारीको पाउ मोल्न तयार हुनुपर्छ नत्र अनेक झमेला गरेर उनीहरूको डुंगा नै डुबाइदिन्छन्, ती सेवक भनाउँदाहरूले । जानाजान कसरी आफ्नै अहित हुने आँट गर्न सक्छन् र बिचरा नागरिकहरूले ! समाजमा तिनीहरू नै प्रतिष्ठित छन्, जो भ्रष्टाचारी छन्, घुसपैठका दलाल छन्, हत्या–हिंसा गर्ने नरपिशाच छन् । 

यहीँनेर एउटा नेपाली उखान सम्झना हुन्छ– खाने भातै हो, सुत्ने खाटै हो र जाने घाटै हो । त्यस कारण किन भावी पुस्तालाई सम्पत्ति संचय गरेर राख्नुपर्‍यो र ? यहाँ जीवित छँदै भोक टार्न नपाएका जनताहरू मृत्यु स्वीकार्न तयार छन् । तिमीहरू भने धन लुटेर नजन्मिएका नाति, पनातिलाई राख्दै छौ होइन त ? कहिलेकाहीँ हाम्रा कुरा पनि सुन्ने गर । कान खोलेर सुन, उपनिषद्मा एउटा भनाइ छ– तेन त्येक्तेन भुञ्जीथाः वा अधिक संचय नगर, त्यति मात्र ग्रहण गर, जति आवश्यक छ । 

कर्मचारीतन्त्रमा जो हाकिमको चाकरी चाप्लुसीमा विश्वास गर्छ, उसैलाई सिफारिस गर्छ बढुवा र पुरस्कृत हुनका लागि । यो कस्तो उदेकलाग्दो व्यवस्था हो ? अनेक षड्यन्त्र रच्दै विज्ञानसँग लक्ष्मण नजिक हुन्छ र सोझोपनको फाइदा उठाँउछ । विश्वास गरेको मान्छेबाटै यस्तो अविश्वसनीय काम हुँदा ऊ बिलखबन्दमा पर्छ । निजामती सेवा पुरस्कार पाउने प्रलोभन देखाएकै छ लक्ष्मणले । घीनलाग्दो षड्यन्त्रका बारेमा बिचरा विज्ञानलाई के थाहा ! बित्थामा बलात्कारीको झुठो अभियोग लाग्छ विज्ञानमाथि ।

अरू ग्याङ्सँग साँठगाँठ नहुँदा एउटा सोझो, इमान्दार उच्च पदमा पुगेको व्यक्तिलाई राज्य स्तरबाट कसरी फसाइन्छ भन्ने गतिलो उदाहरण हो यो । 

विज्ञान त एउटा प्रतिनिधि पात्र न हो । हजाराँं विज्ञान छन् यहाँ, किन आफ्नो स्वाभिमानमा अडिन दिइँदैन उनीहरूलाई ? सोझा व्यक्तिहरूलाई ? अनि, तानिन्छ खुट्टा उनीहरूका– माथि पुग्नै लाग्दा । हाम्रोमा साधुलाई शूली र चोरलाई इनाम दिने प्रवृत्ति किन विकसित भइरहेको छ ? तलकाले गल्ती गर्दा फुकेका हुन्छौं हामी सत्ता र शक्तिको आडमा ।

गहिरिएर हेर्ने हो भने, सत्ताको वास्तविक चाबी डन, तस्कर र माफियाहरूकै हातमा छ । सतीले सरापेको देश भएर होला, एउटा राम्रो कर्मचारीलाई काम गर्ने वातावरण पनि छैन यहाँ ।

पार्टीको मान्छेले, मन्त्रीले नियमविपरीत कार्य गर्न आदेश दिँदाहामी निमुखा नागरिक तयार हुनुपर्छ कुकर्म गर्न पनि । यस्तो विवशतामा छन् जनताका छोरा–छोरी । बाध्य छन् उनीहरूको आदेश मान्न । होइन भने दुर्गम र अपायक क्षेत्रतिर सरुवा गरिदिन्छन् । उदाहरणका लागि डी.एस.पी. आलोकलाई लिन सकिन्छ, जो यसै उपन्यासको पात्र चमनलाललाई कारागारबाट छाड्न नमान्दा कालीकोट जानुपरेको छ ।

कार्यालयका कर्मचारी, हाकिम, साथी तथा श्रीमती सबैको दबाबबाट विज्ञानलाई बाध्य पारिन्छ कमिसन लिन, जुन उसको सिद्धान्तविपरीत अवस्था सिर्जना हुन्छ । त्यस क्षण विज्ञानले नयाँ नेपाल निर्माणका निम्ति कुमुदाले गरेको बलिदान सम्झिन्छ (पृ. १२४) । आखिर अभिमन्यु चक्रव्यूहमा फसे जसरी फस्छ विज्ञान ।

मान्छेले सबैलाई ढाँट्न सक्छ तर आफूलाई कदापि ढाँट्न सक्दैन । ठेकेदार तारानाथले नोटका बिटा झिकेको देख्नासाथ विज्ञानको दिमागमा हलचल मच्चिन सुरु हुन्छ (पृ. १४४) । तारानाथले कहिले के, कहिले अतिथिगृह निर्माण भन्दै १५ लाख कमिसन दिन्छ विज्ञानलाई । तोयनाथ, रामलाल, गोपाल, कृष्णदत्त आदिले आफ्नो उद्देश्य सफल भएकामा खुसी व्यक्त गर्छन् र विज्ञानलाई नैतिकताको पथबाट गिराउँछन् ।

तब विज्ञान आफ्नै सिद्धान्तबाट विचलित हुन्छ । बिस्तारै उसलाई कमिसन लिने बानी पर्दै जान्छ । उसलाई बाध्यात्मक परिस्थितिले घेर्छ लाभ लिनका लागि । हाम्रो समाजमा भ्रष्टाचारी बनाउन आफ्नै श्रीमती र साथीभाइ पनि पछि पर्दैनन् भन्ने गतिलो उदाहरण हो– ‘९६ गड्डी ।’

समाज वर्गीकृत भएको छ । इमान्दारी, जेष्ठता, बौद्धिकता र पदीय आधारमा भन्दा पनि धनको आधारमा प्रतिष्ठा निर्धारण हुने गर्छ यहाँ । त्यसैका आधारमा मान सम्मान गर्छौं छोरी, ज्वाइँ, भान्जा, भान्जी र अन्य नातागोतालाई । यही नै एउटा परम्परा जस्तो बनेको छ ।

धनीलाई मान सम्मान गरेर काम्लो बिछ्याउँछांै । काम्लो त्यसलाई बिछ्याऔं, जसले काम्लोको स्पर्श अनुभूति नै गरेको छैन । त्यो नै तिम्रो हाम्रो महानता हुने छ ।

यसको उदाहरण सचिव सुशान्त र विज्ञान हुन्, जसलाई ९२ वर्षका बालेसमेत विभेद गरेका छन् टीका लगाउँदा । यस उपन्यासले आजको उपभोक्तावादी समाज र यसको आडम्बरपूर्ण एवं अहंकारपूर्ण रूपको यथार्थलाई उजागर गरेको छ । भनिन्छ, अहङ्कारले मान्छेलाई माथि उठ्न दिँदैन । 

विज्ञानलाई पैसाको लालसाले यति तान्छ कि हरेक दिन सेवाग्राहीसँग ऊ अवैध रकम लिन थाल्छ । ‘विनाशकाले विपरीत बुद्धि’ भनेझैं विज्ञान कार्यालयको कार्यकक्षबाटै ९६ गड्डीसहित अख्तियारको टोलीबाट रंगेहात पक्राउ पर्छ । सार्वजनिक पद धारण गरेको व्यक्ति भ्रष्टाचारको विषयमा अख्तियारबाट प्रभावकारी अनुसन्धान गरी कार्बाहीमा पर्छ । 

९६ गड्डीका सबै पात्रहरू सशक्त लाग्छन् । विज्ञानकी श्रीमती सामना चतुर साथै अनेक परिस्थितिसँग जुध्न सक्ने खालकी छन् । कहिले उनी बाघसँग जुध्छिन् त कहिले आफ्ना श्रीमान्को लागि अरूसँग अनेकाँं खेल खेल्छिन् ।

सुशीलाको हत्यारा चुमनलाललाई पक्रनका लागि नाइट क्लबमा काम गर्नेदेखि विज्ञानलाई फसाउने रामनारायणलाई खादा–माला लगाइसकेपछि गालामा चड्काउनेसम्मको काम हुन्छ । 

यस उपन्यासमा केही कुरा अस्वाभाविक रूपमा आएजस्तो लाग्छ, जुन नमिल्दो देखिन्छ । जस्तै : सामना र सुशीला एउटै ट्याक्सीमा चढ्दा सुशीलाको परिचयपत्र खस्नु, पुनरावृत्ति भएर आउनु, बुर्का संस्कृति इत्यादि । ठाउँठाउँमा उखान–टुक्काले उपन्यासलाई रोचक बनाएको छ । थरिथरिका घटनाहरूले मनलाई उद्वेलित बनाउनुका साथै बिम्ब, प्रतीक र उपमाले सजिएको उपन्यास सहज, सरल र आफैंमा प्रभावकारी छ । 

कुमुदाको मृत्यु, कार्ल माक्र्सको सिसासहितको फोटो फुट्नु र स्वयं विज्ञान र सामना पनि छुट्टिनुले कथावस्तु वियोगान्तमा  टुंगिएको छ ।

देशको राजनीतिक गतिविधिले प्रशासनिक क्षेत्रमा कसरी प्रभाव पारेको छ भन्ने कुरा यस उपन्यासबाट बुझ्न सकिन्छ ।

ADV

सम्बन्धित खबर