-राजन कार्की (पाजु)
‘लौ बुहारी ! सबै चिज झिकेर राखिदिएकी छु, खाना बनाऊ है !’, सधैंझैं आज पनि दिनाले खानाका लागि सामलतुमल, तिहुन, नुन–भुटुन खटाएर दिँदै बुहारीलाई भनिन् ।
‘हस् !’ भन्दै शर्मिला खाना बनाउन भान्छातिर लागिन् ।
बुहारी भित्र्याएको यतिका वर्ष बित्दा पनि दिनाले भण्डारको ताला–चाबी आफ्नै कव्जामा राखेकी थिइन् । सधंै खाने सामान बुहारीलाई खटाएर दिन्थिन् । शर्मिला चुपचाप बनाइ तुल्याइ गर्थिन् ।
वीरेन्द्रलाई पत्नीको यो बुहारीप्रतिको व्यवहार पटक्कै मनपरेको थिएन तर पनि खिन्न हुंदै चुप रहन्थे । यसरी नै दिन बितिरहेका थिए ।
एक दिन, बेलुका सामल झिक्न दिना भण्डारतिर गइन् तर सबै चिजबिज सकिएका थिए । फर्केर दिनाले भनिन्, ‘बुहारी ! सबै सामलतुमल सकिएछन् ! यसो, तातो पानीसानी बनाऊ, आज त्यै खाएर सुत्नपर्ला । भोलि खोजमेल गरेर ल्याऊँला !’
‘हस् !’ भन्दै शर्मिला भान्छाकोठातिर लागिन् ।
केही समयपछि ‘खाना खान जाऔं’ भन्दै शर्मिलाले सासू–ससुरालाई पानी राखिदिइन् ।
छक्क पर्दै दुवै जना भान्छाकोठा पसे ।
भित्रको दृश्य देख्दा दुवै जना अवाक् भए । विभिन्न परिकार पकाएर थालमा पस्किएका थिए । ‘बस्नुस् खाना खान’, शर्मिलाले साडीको फेरले शिर ढाक्दै अनुरोध गरिन् ।
‘हैन बुहारी ! सामलतुमल त थिएन त ! छिमेकीकोतिरबाट पैंचो लियौ कि के हो ?’, दिनाले छक्क पर्दै भनिन् र खाना खान बसिन् ।
‘हैन आमा ! सधैं तपाईंले खटाएर दिएको चिजबिजबाट १÷१ मुठी झिकेर अलग्गै राख्ने गरेकी थिएँ’, सासू–ससुरालाई खाना अगाडि राखिदिँदै शर्मिलाले भनिन् ।
चकित हुँदै वीरेन्द्रले पत्नीको मुखमा पुलुक्क हेरे ।‘बु
हारी ! लौ यो घरको ताला–चाबी अब तिमी नै राख’, चुठेर तौलियाले मुख पुछ्दै दिनाले भण्डारको साँचो बुहारीलाई जिम्मा दिइन् । वीरेन्द्र प्रसन्न मुद्रामा बरन्डातिर टहलिन लागे ।