२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

लघुकथा : स्नेह

२०८२ वैशाख २० गते ०६:२०
लघुकथा : स्नेह

-भूमिका गैरे तिमिल्सिना 

‘साह्रै कन्जुस ! कसैलाई केही दिनै नखोज्ने हाम्रा मामा त !’, विपलले दुखेसो पोख्यो ।

‘हैन, के भन्छ  यो ? आफ्नै मामालाई नि यस्तो भन्छन् कसैले ? बिचरा ! जहान ठूलो छ । कमाइ केही छैन ? तिमीहरूले पनि यसो बुझ न !’, आक्रोशित मुद्रामा आमाले भनिन् ।

‘अँ अँ ! तपाईंले नै भन्नुभएको होइन र– भान्जा–भान्जी हुनु भनेको त लच्छिन हो । यिनीहरूले नै हो मावलीलाई बैकुण्ठ तार्ने । भान्जा–भान्जीको दिसा पनि पालीमा सिउरेर राख्छन् रे ! साइत पर्छ भनेर । जौ–तिल छर्नेलाई पनि टीका लाएर जम्मा ५ रुपैयाँ दिन्छन् कसैले ?’, आक्रोशित स्वरमा फेरि थप्यो ।

‘कमाएपछि देला नि त ! आखिर भान्जाको नाममा तैं मात्र छस् क्यारे ! कति गनगन गर्छस् गर्न नि ?’, आमाले ढाडस दिइन् ।

त्यतिकैमा मामाको फोन आउँछ ।

‘ल भान्जा ! तिमी दिदीलाई लिएर आऊ है ! श्राद्ध छ, चाँडै हिँडिहाल त ! यहाँ अह्राउने, सिकाउने पनि कोही छैनन् । त्यसमा पनि बुबाले साह्रै हुरुक्क गर्नुहुन्थ्यो दिदीलाई’ भन्दै फोन राखे मामाले ।

बडो इज्जत, मान–सम्मान मिल्छ । ‘भान्जा आएपछि घरै उज्यालो हुन्छ’, निकै मीठामीठा गफ हुन थाल्छन् दिदी–भाइका ।

सन्चो, बिसन्चो, खेतीपाती, बस्तुभाउ, लैना, बकेर्ना के कति छन् ? यस्तैयस्तै ? गफ हुन्छन् ।

दिदी–भाइको स्नेह देख्दा विपल आश्चर्य चकित हुन्छ । श्राद्ध सकिएपछि पण्डितलाई बिदा गर्छन् ।

बडो गम्भीर भएर विपलले सोच्न थाल्छ, ‘कति कुरा मिलेको हो आमा र मामाको ? दुःखसुखका गन्थन मन्थन अघि नै देखि चलिरा’छ । हाम्री आमा मामाको विरुद्ध थोरै कुरा नि सुन्न सक्नुहुन्न । सिधै खाऊँला जस्तो गर्नुहुन्छ ।’

यस्तै अनेक तर्कना खेलाउँदै थियो विपल ।

‘भान्जा ’ ए भान्जा ! ल टीका लगाउनुपर्‍यो’ भन्दै मामा पहेँलो अक्षता लिएर आए र भने, ‘मेरो भान्जाको यश, कीर्ति संसारमा फैलिएको देख्न र सुन्न पाऊँ, कुल पितृ सदा दाहिना रहून् ।’

ADV

सम्बन्धित खबर