-गंगा खड्का
‘मान्छेलाई जति धन भए पनि नपुग्ने रहेछ । हुँदाहुँदै आशारामका बुढाबुढीले बाहिर बत्ती नै बाल्न छाडे । मान्छे भएर धेरै कदर्य हुनु पनि ठीक होइन ।’
उदयका कुरामा सही थप्दै अञ्जलीले भनिन्, ‘त्यही त ! छोरा–छोरीले विदेशबाट पठाएका डलरचाहिँ के गर्ने होला ?’
नजिकै बसेर मोबाइल चलाउँदै गरेको अनुपले भन्यो, ‘बाबा–ममी ! कुरै नबुझी अरूलाई अवमूल्यन गर्नु पनि ठीक हुँदैन । मलाई त उहाँहरूले पैसा जोगाउन बत्ती नबाल्नुभएको कुरामा पटक्कै विश्वास लाग्दैन । कागको मासु खाएर कोचाहिँ अजम्बरी बनेको छ र ?’
‘तँलाई तिनीहरूको बानी थाहा छैन र त्यसो भन्छस् । कम्ताका लोभी छन् तिनीहरू !’, अञ्जलीले आफ्नो तर्कलाई बलियो बनाउन खोजिन् ।
‘हामी एकअर्कामा किन विवाद गरेर बस्नु ? बरू एक पटक सोधी हेरौं न !’, अनुपले भन्यो ।
अनुपका कुरामा सबैको सहमति भएपछि उसले आशारामलाई कौसीबाटै बोलाउँदै सोध्यो, ‘आशाराम काका ! आजकल किन तपाईंहरू बाहिरको एउटा पनि बत्ती बाल्नुहुन्न ?’
आशारामले अँध्यारोमै बसेर जबाफ दिए, ‘हेर न बाबू ! आजकल बत्ती बाल्नै नपाई कहाँबाट कहाँसम्म किरा र पुतली आएर बसिटिक्नु हुँदैन । कहिलेकाहीँ त भान्साको झ्याल–ढोकाबाट भित्र छिरेर भात, तरकारीमा पर्छन् र त्यत्तिकै खेर फाल्नुपर्ने हुन्छ ।’